• १२ असार २०८२, बिहिबार

रौतहटका पाँच पालिकाले ल्याउन सकेनन् बजेट

blog

प्रवीण कुमार शर्मा 
चन्द्रपुर (रौतहट), असार १२ गते गते ।
स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय तहले असार १० भित्र बजेट ल्याइसक्नुपर्ने हुन्छ । तर रौतहटका १८ पालिकामध्ये पाँच पालिकाले उक्त समयसीमाभित्र बजेट ल्याउन सकेनन् ।

रौतहटका देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, वृन्दावन नगरपालिका, दुर्गा भगवती गाउँपालिका र यमुनामाई गाउँपालिकाले सरकारले तोकेको समय सीमाभित्र बजेट ल्याउन नसकेका हुन् ।

देवाही गोनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल साह कानु अस्वस्थ भएर अस्पतालमा उपचाररत रहनुभएका कारण नगर सभा हुन् नसकेको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनन्जयप्रसाद दासले जानकारी दिनुभयो ।

यसैगरी, फतुवा विजयपुर नगरपालिकाका कार्यबाहक नगरप्रमुख अम्बेया खातुनले बजेट ल्याउने विषयमा जनप्रतिनिधिबिच विवाद नरहेको बताउनुभयो । चालु आर्थिक वर्षकै बजेट खर्चमा जनप्रतिनिधि व्यस्त भएका कारण बजेट ल्याउन नसकेको बताउनुहुँदै कार्यवाहक नगरप्रमुख खातुनले असारभित्र बजेट आउने सम्भावना रहेको जानकारी दिनुभयो ।

वृन्दावन नगरपालिकाले असार १० गते नै सभा गर्ने सूचना जारी गरेको भएता पनि उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जको आदेशका कारण हुन् नसकेको नगरप्रमुख विनोदप्रसाद कुर्मीले बताउनुभयो ।

नगर उपप्रमुख सङ्गीताकुमारी रामले दायर गर्नुभएको निवेदनमा सुनुवाइ गर्दै अदालतले असार १३ गते नगर उपप्रमुख राम र नगरपालिकालाई छलफलमा बोलाएको छ ।

यसैगरी, दर्गा भगवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन श्रीवास्तवले जनप्रतिनिधिबिच आपसी समन्वय नहुँदा तोकिएको समयमा सभा गर्न नसकेको बताउनुभयो ।

यमुनामाइ गाउँपालिकाका अध्यक्ष महम्मद सउदले गाउँसभाको लागि कार्यपालिकामा छलफल भइरहेको र चाँडै कार्यपालिकाले सभाको मिति तोक्ने जानकारी दिनुभयो  ।

रौतहटको राजपुर नगरपालिका, कटहरिया नगरपालिका, राजदेवी नगरपालिका, माधवनारायण नगरपालिका, गरुडा नगरपालिका, बौधीमाई नगरपालिका, गढिमाई नगरपालिका, ईशनाथ नगरपालिका, चन्द्रपुर नगरपालिका, गौर नगरपालिका, मौलापुर नगरपालिका, परोहा नगरपालिका र गुजारा नगरपालिकाले असार १० गतेभित्र बजेट ल्याएकf हुन् । स्थानीय तहले असार मसान्तभित्र बजेट पास गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

राजपुर नगरपालिकाको बजेट ५७  करोड ५३  लाख ७८  हजार, कटहरिया नगरपालिकाको बजेट ५४ करोड २५  लाख ५२  हजार ४ सय ७५,माधवनारायण नगरपालिकाको बजेट ५३ करोड ३५ लाख ८९ हजार, गरुडा नगरपालिकाको बजेट ६९ करोड २६ लाख १७ हजार, बौधीमाई नगरपालिकाको बजेट ४३ करोड ९० लाख ७६ हजार नौ सय नौ,  राजदेवी नगरपालिकाको बजेट ५६ करोड ८५ लाख २१ हजार दुई सय १२, गढिमाई नगरपालिकाको बजेट  ५४ करोड ९१ लाख ७२ हजार १ सय आठ, ईशनाथ नगरपालिकाको बजेट ४९ करोड ६५ लाख ५२ हजार चार सय ९७, चन्द्रपुर नगरपालिकाको बजेट एक अर्ब २१ करोड ५९ लाख ५१  हजार छ सय ४०, गौर नगरपालिकाको बजेट ६१ करोड १५ लाख ९७ हजार दुई सय ६१, मौलापुर नगरपालिकाको बजेट ३९ करोड ५० लाख, परोहा नगरपालिकाको बजेट ५३ करोड ६७ लाख ८२ हजार ६४ र गुजारा नगरपालिकाको बजेट ७९ करोड  ५३ लाख  ५१ हजार नौ सय पचास रुपियाँ छ ।