• १२ असार २०८२, बिहिबार

कपिलवस्तुका पाँच पालिकामा भूमिहीन सुकुम्वासीको जग्गा नापजाँच सुरु

blog

विजयनगरमा जग्गा नापजाँचको काम सुरु गरिँदै । तस्बिरः जानु पाण्डे

जानु पाण्डे
कपिलवस्तु, असार १२ गते । कपिलवस्तुमा भूमिहीन सुकुम्वासीले दशकौँदेखि उपयोग गर्दै आएको जग्गा नापजाँच कार्य सुरु गरिएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगले जिल्लाका पाँच स्थानीय तहमा सात वटा छुट्टाछुट्टै टोली खटाएर नापीको प्रक्रिया अघि बढाएको हो ।

अहिलेसम्म कपिलवस्तु नगरपालिका–६ मा नापी कार्य अन्तिम चरणमा पुगेको छ भने बाणगङ्गा नगरपालिका–१० र ११, बुद्धभूमि नगरपालिका–६ र ७, शिवराज नगरपालिका–११ र विजयनगर गाउँपालिका–१ मा नापी टोली परिचालित रहेको आयोगका जिल्ला अध्यक्ष झवीलाल पोख्रेलले जानकारी दिनुभयो ।

“पालिका र स्थानीय प्रशासनसँगको समन्वयमा काम तीव्र रूपमा अगाडि बढेको छ,” पोख्रेलले भन्नुभयो, “सम्भव भएसम्म छिटो काम सम्पन्न गर्ने तयारीमा छौँ ।”

आयोगले गत साता विजयनगर गाउँपालिका–१ को थरौलीमा नापीको काम सञ्चालन गरेको थियो । नापी टोली पुगेपछि स्थानीयले लालपुर्जा पाउने आशा पुनः जागेको बताएका थिए । गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाका अनुसार थरौलिमा पाँच दशकभन्दा बढी समयदेखि सुकुम्वासी बसोबास गर्दै आएका छन् ।

“यस वडामा मात्रै करिब १८ सय घरधुरी भूमिसम्बन्धी समस्याबाट पीडित छन्,” उहाँले भन्नुभयो । आयोगका विज्ञ सदस्य मोहन केसी, जिल्ला सदस्य मञ्जु थारु र टोपबहादुर विकले समयमै नापजाँच कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।