सन्तोष दहित
दाङ, असार १२ गते । दाङका २३ भूमिहीन सुकुम्वासी परिवारले लालपुर्जा पाएका छन् । भूमि समस्या समाधान आयोग दाङले पहिलो पटकमा बुधबार २३ भूमिहीन सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण गरेको हो ।
आयोगले लमही नगरपालिका वडा ३ को कान्छिटोलमा रहेका २३ जना भूमिहिन सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण गरेको आयोगका सदस्य सचिव एवम् नापी शाखा दाङका प्रमुख पुरण चौधरीले जाजकारी दिनुभयो ।
भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाल, जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा, आयोगका जिल्ला अध्यक्ष हुकुम बहादुर बस्नेत लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरी र उपप्रमुख लक्ष्मी योगीले भूमिहीन सुकुम्वासीलाई संयुक्त रूपमा लालपुर्जा हस्तान्तरण गर्नुभएको थियो । भूमि समस्या समाधान आयोग जिल्ला समितिले २०८२ जेठ ११ गतेको बैठकले भूमिहीन सुकुम्वासीलाई लालपुर्जा उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा बुधबार आयोजित एक कार्यक्रममा २३ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको आयोगका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले जानकारी दिनुभयो ।
लालपुर्जा पाउनेमा गोचान्दर चौधरी, ठग्नी चौधरी, कालु चौधरी, विदेशी चौधरी, रोरु चौधरी, रामप्रसाद चौधरी, मिनाकुमारी चौधरी, गुरुप्रसाद चौधरी, शिवशंकर चौधरी, रामकुमारी चौधरी, सरीता चौधरी, हरिप्रसाद चौधरी, झलकराम चौधरी, सुनिता चौधरी, कमल चौधरी, अशोककुमार चौधरी, रामकली चौधरी, ठगिराम चौधरी, शहाविर चौधरी, कल्लुराम चौधरी, शेरु चौधरी, कङलु चौधरी र सुनिता चौधरीको परिवारले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्नु भएको आयोगका सचिव चौधरीले जानकारी दिनुभयो ।
यसैबिच कार्यक्रमलाई सम्बोधन गर्दै भूमि समस्या समाधान आयागको केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले तोकिएको समयसीमाभित्र भूमिहीन सुकुम्वासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने प्रतिबद्धता जनाउनु भएको थियो । लमही नगरपालिकाका प्रमुख जोखराज चौधरीको अध्यक्षता तथा भूमि समस्या समाधान आयोग का केन्द्रीय अध्यक्ष हरी प्रसाद रिजालको प्रमुख आथित्यता दाङ जिल्ला समन्वय समिति दाङका अध्यक्ष नित्यानन्द शर्मा र भूमि समस्या समाधान आयोग दाङ जिल्ला अध्यक्ष हुकुम बहादुर बस्नेतको बिशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।