• १२ असार २०८२, बिहिबार

अन्तर्राष्ट्रिय गतिविधि

बाह्रदिने युद्धपछिको मध्यपूर्व

blog

मध्यपूर्वका दुई प्रतिद्वन्द्वी इजरायल र इरानबिचको १२ दिने युद्ध रोकिएको छ । युद्ध सुरु भएको दसौँ दिनमा इजरायललाई साथ दिँदै अमेरिकाले इरानमाथि आक्रमण गरेसँगै मध्यपूर्वको अवस्था भयावह बन्दै थियो तर दुई दिनपछि अमेरिकाकै पहलमा युद्धविराम भयो । मङ्गलबार बिहानदेखि युद्धविराम लागु भयो । इजरायल र इरान दुवै युद्ध रोक्न सहमत भए तर मङ्गलबारै दुवै पक्षबाट युद्धविराम उल्लङ्घन गर्ने केही घटना भए । त्यसप्रति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा आपत्ति जनाउनुभयो र युद्धविराम मान्न बाध्य पार्नुभयो । 

इजरायल–इरान युद्धमा अमेरिका सामेल भएपछि मध्यपूर्वको भविष्यमाथि गम्भीर प्रश्न खडा भएको थियो । इरानका आणविक केन्द्रहरू नष्ट गर्न इजरायलको अनुरोधलाई स्वीकारेर अमेरिका युद्धमा सामेल भयो । यस युद्धमा एकातिर अमेरिका र इजरायल तथा अर्कोतिर इरान रहे । इरानलाई जसरी पनि हराउने पक्षमा लागेका अमेरिका र इजरायलको आक्रमण संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनविपरीत छ भनी आलोचना पनि भयो । यो आलोचनालाई नसुनेको गरी इरानमाथि अहिलेसम्मको शक्तिशाली गैरआणविक बङ्कर बम प्रहार भयो । अमेरिकाको यस आक्रमणबाट इरानका तीन वटा आणविक केन्द्रमा ठुलो क्षति भयो । 

इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि हो भन्दै आए पनि इजरायल र अमेरिकाले कहिल्यै विश्वास गरेनन् । यो कार्यक्रम परमाणु बम बनाउन केन्द्रित छ भन्दै दाबी गर्दै आएका दुवै देशले अन्ततः मिलेर इरानमाथि धावा बोले । इरानले परमाणु बम बनाएमा इजरायलमात्र होइन अमेरिकासमेत असुरक्षित हुने ठानेर दुवै मिलेर आणविक केन्द्रहरू नष्ट गर्न भीषण आक्रमण गरेको तथ्य लुक्ने कुरै भएन । २१ सय किलोमिटर वरपरका दुई प्रतिद्वन्द्वी इजरायल र इरान युद्धमा होमिएसँगै मध्यपूर्व अशान्त बन्यो । यही जुन १३ मा इजरायलले एक्कासि इरानविरुद्ध भीषण आक्रमण गरी उच्च सैन्य नेतृत्व र आणविक वैज्ञानिकको हत्या गर्नुका साथै आणविक केन्द्रमा क्षति पुर्‍याएसँगै इरान प्रत्याक्रमणमा उत्रियो । दुवै देशले एकअर्काविरुद्ध आक्रमणलाई तीव्र बनाए । अत्याधुनिक हातहतियार र प्रविधिका हिसाबले इरानभन्दा इजरायल अगाडि भएकाले बढी क्षति इरानतर्फ भयो । तैपनि इरानी नेतृत्व युद्धबाट पछि हट्ने वा आत्मसमर्पण गर्ने पक्षमा थिएन । अमेरिकाका राष्ट्रपति ट्रम्पले इरानलाई बिनासर्त आत्मसमर्पण गरी आणविक कार्यक्रम बन्द गर्न चेतावनी दिनुभयो । इरानका सर्वोच्च नेता अयोतोल्लाह अली खामेनीले इजरायल र अमेरिकासामु कहिल्यै पनि आत्मसमर्पण नगर्ने अडान लिनु भयो । उहाँले यो युद्धमा सामेल नहुन अमेरिकालाई चेतावनीसमेत दिनुभयो । 

यस युद्धबाट इरान पछाडि नहट्ने भएपछि राष्ट्रपति ट्रम्पले उच्च सुरक्षा अधिकारीसँग छलफल गरी इजरायलका तर्फबाट युद्धमा होमिने निर्णय गर्नुभयो । सुरुमा उहाँले इरानलाई दुई साताको समयसीमा तोक्नु भयो तर समयसीमा तोकेको दुई दिनमै अमेरिकाले इरानमाथि शक्तिशाली आक्रमण गर्‍यो । चीन र रुसले यस युद्धमा सामेल नहुन अमेरिकालाई आग्रह गरे पनि राष्ट्रपति ट्रम्पले बेवास्ता गर्नुभयो । उहाँले मात्र इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कुरा सुन्नुभयो । 

इरान र शक्ति राष्ट्रहरूबिच भएको आणविक सम्झौतालाई पुनः सक्रिय बनाई वार्ताद्वारा समास्याको समाधान खोजिनुपर्ने विश्व समुदायको आवाज थियो । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले पनि इजरायल र इरानलाई युद्ध रोक्न र वार्ता सुरु गर्न जोड दिनुभएको थियो । युरोपेली सङ्घ र छ शक्ति राष्ट्र पनि वार्ता पुनः सुरु गर्न इच्छुक थिए तर एकाएक अमेरिकाले इजरायलको कुरा सुनेर इरानविरुद्ध युद्धमा होमियो । इरानका तीन वटा आणविक केन्द्रमा अमेरिकाले बमवर्षक विमानबाट जुन २२ को बिहान बङ्करभेदी शक्तिशाली बमहरू प्रहार गरी युद्धमा होमियो । अमेरिका र इजरायल अब वार्ताबाट होइन युद्धबाटै इरानी मामिला छिनोफानो गर्ने पक्षमा उभिए जस्तो अनुमान गरिँदै थियो । यसले गर्दा यो युद्ध लम्बिने र मध्यपूर्व ठुलो सङ्कटमा पर्ने खतरा औँल्याउँदै समाचार बाहिर आएका थिए । 

इजरायलका प्रधानमन्त्री नेतान्याहुका अनुसार इरानको विवादास्पद आणविक कार्यक्रम नै इजरायली सुरक्षाका लागि मुख्य चुनौती हो । यो कार्यक्रम नष्ट नगरेसम्म इजरायल सुरक्षित हुँदैन । इरानको आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि भनिए पनि अन्ततः परमाणु हतियार बनाउने उद्देश्य रहेको दाबी गर्दै इजरायल त्यहाँका आणविक केन्द्र नष्ट गर्नका लागि आक्रमण गरिएको कुरामा अडिग छ । क्यानडामा सम्पन्न जी सातको शिखर सम्मेलनले पनि इरानका कारण मध्यपूर्व असुरक्षित भएको दाबी गर्दै इजरायलले सुरु गरेको सैन्य कारबाहीप्रति समर्थन जनाएको थियो । 

अमेरिकाका राष्ट्रपति ट्रम्प सुरक्षा परिषद् बैठक गरी इरानसँग युद्ध गर्ने निर्णयमा पुग्नुभयो । उहाँले यो कुरा संसद्मा पनि लानुभएन र अरूलाई थाहा पनि दिनुभएन । एकाएक जुन २२ मा इरानका तीन वटा आणविक केन्द्रमा भीषण आक्रमण गरेपछि मात्र अमेरिका पनि युद्धमा होमिएको कुरा थाहा भयो । इरानमाथि आक्रमण गरेपछि राष्ट्रका नाममा छोटो सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले यो आक्रमणबाट इरानको आणविक केन्द्रहरू ध्वस्त भएको दाबी गर्नुभयो । उहाँले इरानलाई आत्मसमर्पण गर्न वा थप ठुलो विपत्ति सामना गर्न चेतावनी दिनुभयो । इरानले भने आत्मसमर्पण नगर्ने अडान लियो । 

गत अक्टोबरको आक्रमणमा इजरायलले इरानका धेरै हवाई सुरक्षा प्रणाली एकाइ ध्वस्त पारेको थियो । अहिले पनि आक्रमण हवाई सुरक्षा प्रणालीमै प्रहार ग¥यो । अमेरिकामा बनेका अत्याधुनिक लडाकु–जेटहरू प्रयोग गरेर इजरायलले इरानको आकाशमाथि कब्जा जमायो । इजरायलले पहिलो दिनमै इरानी सेनाको चेन–अफ–कमान्ड तोड्न इरानी सेना प्रमुख, उपप्रमुख, इस्लामिक रिभोलुसनरी गार्ड कोरका (आइआरजिसी) प्रमुखलगायत वरिष्ठ जनरलको हत्या गरेको थियो । तिनको ठाउँमा नयाँ नियुक्त भएका जनरलको पनि हत्या ग¥यो । त्यस्तै इरानको आणविक कार्यक्रममा संलग्न वैज्ञानिक र विज्ञको पनि हत्या भयो । उता इरानले प्रहार गरेका धेरै जसो क्षेप्यास्त्रलाई इजरायली हवाई सुरक्षा प्रणालीले निस्तेज पार्‍यो । केही क्षेप्यास्त्र खसाल्न नसके पनि इजरायलमा लगभग सबै जनताका लागि लुक्न मिल्ने निजी र सार्वजनिक बङ्करमा नागरिकहरू बसेकाले त्यहाँ धेरै ठुलो मानवीय क्षति भएन । भौतिक संरचनामा क्षेप्यास्त्र प्रहार गरी इरानले क्षति पुर्‍यायो । 

गत दुई महिनादेखि अमेरिका र इरानबिच विभिन्न चरणका वार्ता भइरहेको अवस्थामा इजरायलले एक्कासि आक्रमण गरेसँगै वार्ता पनि भाँडियो । इरानी नेतृत्वले आत्मसमर्पण नगर्ने जिकिर गरे पनि बाह्य सहयोगबिना एक्लै युद्ध लम्ब्याइरहन सक्ने अवस्था भने कमजोर थियो । उसलाई सहयोग गर्ने हमास, हुथी र हेजबुल्लाह जस्ता विद्रोही समूहलाई इजरायलले तहसनहस पारिदिएको छ । यस्तो अवस्थामा लामो समय युद्ध लम्ब्याउनु इरानको हितमा थिएन । 

गत डिसेम्बरमा सिरियामा बसर अल–असदको सत्ता ढलेपछि मध्यपूर्वमा आफ्नो प्रभाव भएको अर्को देशमा पनि सत्ता परिवर्तन नहोस् भनेर रूसले इजरायल–इरान युद्ध रोक्न लगातार ट्रम्प सरकारसँग पहल गरेको थियो । युक्रेनसित तीन वर्षदेखि युद्ध गरिरहेको रुस पनि इरानलाई आवश्यक सहयोग गर्न सक्ने अवस्थामा छैन । यस्तो अवस्थामा इरानलाई ठुलो बाह्य सहयोग मिलिहाल्ने परिस्थिति नभएकाले युद्धबाट पछाडि हट्नु नै उसको हितमा थियो । इजरायलले इरानका कुनै पनि नेतालाई आक्रमणको निसाना बनाउन सक्ने क्षमता राख्छ । यस्तो अवस्थामा इरानका कुनै पनि नेता सुरक्षित हुन सक्दैनन् । अमेरिकाका राष्ट्रपति ट्रम्पले रोकेर मात्र हो नत्र इजरायलले इरानी सर्वोच्च नेता खोमेनीलाई पनि निसाना बनाइसक्थ्यो । 

मूलतः इरानलाई उसको आणविक कार्यक्रम गलपासो बन्यो । इरानले लामो समयदेखि आफ्नो यो आणविक कार्यक्रम हतियार बनाउन नभएर शान्तिपूर्ण उद्देश्यका लागि हो भन्दै आएको छ तर इजरायल, अमेरिकालगायत पश्चिमा राष्ट्रले इरानले आणविक हतियार नै बनाउन खोजेको भन्दै रोक्ने कोसिस गर्दै आएका हुन् । वार्ता गरेर इरानलाई आणविक कार्यक्रम बन्द गराउन सम्भव नदेखेर अमेरिका र इजरायलले ठुलो खतरा मोल्दै इरानमाथि आक्रमण गरेको दाबी गरेका छन् । इरानले छिट्टै परमाणु बम बनाउने चरणमा पुगेको गोप्य सूचना पाएर त्यसलाई जसरी पनि रोक्नुपर्ने पक्षमा इजरायली र अमेरिकी नेतृत्व एकमत भएको हो । दुवै मुलुक मिलेर इरानलाई हराउने मात्र होइन, उसको आणविक कार्यक्रम सदाका लागि समाप्त पार्ने र सत्ता परिवर्तन गराई उदारवादीको हातमा सत्ता सुम्पनेसम्मको तयारी गरेका कुरा बाहिर आए । 

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले सन् २०१५ मा इरानसँग गरिएको आणविक कार्यक्रम रोक्नेबारेको बहुराष्ट्रिय सम्झौता ट्रम्पले सन् २०१७ मा पहिलो पटक कार्यभार समालेपछि तोड्नुभएको थियो । त्यसपछि बर्सौंसम्म अप्रत्यक्ष वार्ता भए पनि कुनै सफलता हासिल भएन । इजरायल र अमेरिकाले इरानलाई कहिल्यै पनि आणविक हतियार बनाउन नदिने चेतावनी दिइरहेका बेला ट्रम्पले दोस्रो कार्यकालमा भने अप्रत्याशित रूपमा इरानसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गर्नुभएको थियो तर अहिले उहाँ पनि वार्ताबाट पछि हट्नुभयो । 

इरानले आणविक हतियार बनाए आफूलाई ध्वस्त पार्छ भन्ने डरले उसलाई रोक्न इजरायलले आक्रमण गरेको हो । अझ अहिले कमजोर भएको बेलामा कडा सर्त माने पनि बिस्तारै शक्ति सञ्चय गरेर इरानले फेरि आणविक हतियार कार्यक्रम अगाडि बढाउँछ भन्ने डर इजरायललाई छ । त्यसैले भरसक युद्धबाटै इरानका आणविक केन्द्र ध्वस्त पार्न र सदाका लागि आणविक हतियार कार्यक्रम रोक्नुपर्ने मान्यतामा रहनुभएका इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले त्यसका लागि अमेरिकालाई मनाउनुभयो । उहाँले इजरायल एक्लैले इरानका सबै आणविक केन्द्र नष्ट गर्न नसक्ने भएकाले युद्धमा अमेरिकालाई सहभागी गराउन चाहनुभयो । इरानका आणविक केन्द्रहरू नष्ट गर्न सक्ने बङ्कर बम अमेरिकासँग मात्र छ । सो बमको प्रयोगले मात्र इरानका आणविक केन्द्रलाई नष्ट गर्न सकिने विज्ञहरूले बताएका थिए । 

इजरायलले पछिल्ला केही दिनमा इरानको नतान्जलगायत अन्य केही ठाउँका आणविक केन्द्रमा क्षेप्यास्त्र प्रहार गरी अलि अलि नोक्सान पुर्‍यायो । तर फर्दोमा पहाडमुनि ८० मिटर तल बलियो बङ्करमा बनाएको आणविक केन्द्रमा नोक्सान पुर्‍याउन सकेको थिएन । आणविक हतियार प्रयोग नगरी सो आणविक केन्द्र ध्वस्त पार्ने क्षमता विश्वमा अमेरिकासँग मात्रै भएको मानिन्छ । त्यसका लागि अमेरिकासँग रहेको झन्डै १४ टनको जिबियु–५७ भनिने सबभन्दा ठुलो बम प्रयोग गर्नुपर्ने हुन्छ । त्यो बम पनि एउटाले हुँदैन । लगातार एकै ठाउँमा धेरै वटाले प्रहार गरेर मात्रै आणविक केन्द्र ध्वस्त पार्न सकिने बताइन्छ । सो बम बोक्न सक्ने बमवर्षक विमान पनि इजरायलसँग छैन । अमेरिकासँग भएको अत्याधुनिक बी–२ बमवर्षक विमानले मात्रै सो बोकेर प्रहार गर्न सक्छ । त्यसैले इजरायलले अमेरिकालाई फर्दोको आणविक केन्द्र ध्वस्त पार्न मद्दत माग्यो । यही नै इरानलाई कमजोर बनाउने मौका हो भन्दै ट्रम्पले इरानमाथि आक्रमण गर्नुभयो । अमेरिका र इजरायल मिलेर आफूमाथि आक्रमण गरेपछि अत्तालिएको इरानले जुक्ति बुद्धि लगाएर कतारस्थित अमेरिकी सैन्य अखडामा सोमबार राति क्षेप्यास्त्र प्रहार गरी अमेरिकालाई झस्काउने काम गर्‍यो । राष्ट्रपति ट्रम्पले आफ्ना सेना असुरक्षित बन्ने ठानेर नै एकाएक युद्धविरामको प्रस्ताव गर्नुभयो । युद्धविरामसँगै ठुलो युद्धको खतरा टरेको छ । अब कूटनीतिक वार्ता गरी मध्यपूर्वको समस्याको दिगो समाधान खोज्नु सबैका लागि हितकर हुने छ ।