• १२ असार २०८२, बिहिबार

सङ्गीत तथा नाटक मौलिक पहिचानको धरोहर : राष्ट्रपति पौडेल

blog

नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार– २०८१ वितरणपछि पुरस्कृतसँग राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिर : सुजन गुरुङ

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको विविधतायुक्त समाजमा रहेका विभिन्न जातजातिका मौलिक भाषा, संस्कृति, नाटक, गीत र सङ्गीतमा रहेको विविधताले नेपाली समाजलाई एकढिक्का बनाउँदै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउन योगदान दिएको बताउनुभएको छ । 

नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८१ वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली समाज विविधतायुक्त रहेको भन्दै नेपाल जस्तो विविध जातजाति, भाषाभाषी र सांस्कृतिक विशेषता रहेको मुलुकका लागि सङ्गीत र नाटक केवल मनोरञ्जनका साधन मात्र नभई मौलिक पहिचानको धरोहर पनि भएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले मौलिक भाषा, संस्कृति, नाटक, गीत र सङ्गीतका माध्यमबाट नेपाली लोकजीवन, मौलिकपनको विकास, विस्तार, संरक्षण र प्रवर्धन गर्नु सबैको कर्तव्य भएको उल्लेख गर्नुभयो । उहाँले कला, संस्कृति, सङ्गीत र नाट्यको संरक्षण, संवर्धन गरी विश्वव्यापीकरणतर्फ ध्यान दिन आवश्यक रहेको बताउँदै नेपाली मौलिक भाका, राग र अभिनय शैलीले संसारकै ध्यान तान्न सक्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “यसतर्फ सरकार मात्र होइन विश्वभर छरिएका नेपालीको म ध्यानाकृष्ट गर्न चाहन्छु । म चाहन्छु, भविष्यमा नेपाली सङ्गीत र नाटक विश्वभरि बजून्, प्रदर्शन होऊन् र नेपाल साङ्गीतिक तथा नाट्य रूपमा विश्व चिन्तनको एउटा केन्द्र बनोस् ।”

राष्ट्रपति पौडेलले मुलुकमा राजनीतिक परिवर्तनसँगै कलाप्रति राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन भएर नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा–प्रतिष्ठान जस्ता विभिन्न विधागत प्रज्ञा–प्रतिष्ठान स्थापना हुन सम्भव भएको बताउनुभयो । उहाँले समय र समाज गतिशील भए जस्तै समय र समाजको ढुकढुकी  प्रतिबिम्बित हुने गीत/सङ्गीत, कला र संस्कृतिले हाम्रो पहिचानलाई जीवन्त राख्ने बताउनुभयो । उहाँले भन्नुभयो, “साँच्चिकै भन्नुपर्दा कला र संस्कृति जोगाउनु भनेको राष्ट्रको आत्मा जोगाउनु हो । हाम्रो मौलिक कला र सिर्जना नेपाल र नेपालीलाई विश्वभर चिनाउने एउटा सशक्त माध्यम भएकाले यसको विकास एवं प्रतिभाको सम्मानमा राज्यले कन्जुस्याइँ गर्न हुँदैन भन्ने मलाई लाग्दछ ।” 

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सबै पुरस्कृतको अथक मेहनतले नेपालको सङ्गीत, संस्कृति, साहित्य, कला, नाट्य र नृत्यको क्षेत्र विकास सम्भव भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बिस, पच्चिस वर्षको बिचमा सङ्गीतले धेरै राम्रो बजार पिटेको छ । हाम्रो सङ्गीत, कला, साहित्यलाई संसारभर छरिएर बसेका नेपालीले रसास्वादन गर्नुहुने छ ।” सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल सङ्गीत तथा नाट्य दीर्घ साधना सम्मानबाट वरिष्ठ गायक दीप श्रेष्ठलाई पुरस्कार प्रदान गर्नुभयो । यसै गरी रङ्गमञ्चतर्फ वरिष्ठ रङ्गकर्मी हरिबहादुर थापा, सङ्गीततर्फ वरिष्ठ गायिका कुन्ती मोक्तान, नाट्यतर्फ वरिष्ठ नाटककार वेदकुमारी न्यौपाने, नृत्यतर्फ वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठ, नृत्य खोज तथा अनुसन्धानतर्फ वरिष्ठ अनुसन्धानकर्ता कृष्णप्रसाद पौडेल, लोकसङ्गीततर्फ वरिष्ठ लोकगायक नारायण रायमाझी, परम्परागत तथा शास्त्रीय सङ्गीततर्फ कुशेश्वर राई र वाद्यवादनतर्फ वरिष्ठ वाद्यवादक राजु अग्रवाल पुरस्कृत हुनुभयो । गायक श्रेष्ठलाई दुई लाख रुपियाँ राशिसहित ताम्रपत्र अन्य सर्जकलाई एक लाख राशिसहित ताम्रपत्र प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेल, उपकुलपति शम्भु राई र सचिव प्रगति महराले आआफ्नो मन्तव्य राख्नुभएको थियो ।