• १६ भदौ २०८१, आइतबार

साफ यु–२० फुटबल : भुटानमाथि भारतको कठिन जित

blog

बल खोस्ने प्रयास गर्दै भारत र भुटानका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, भदौ ३ गते । साबिक विजेता भारतले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिपमा भुटानमाथि कठिन जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार भएको खेलमा भारतले भुटानलाई १–० गोलले हरायो । भारतको जितमा मोनिरुल मोल्लले ३७औँ मिनेटमा गर्नुभएको गोल निर्णायक बन्यो । उहाँले कर्नरबाट प्राप्त बलमा हेड गोल गर्नुभएको थियो ।

प्रतिस्पर्धात्मक खेलमा भारत दोस्रो हाफमा नौ खेलाडीमा समेटिएर पनि जित सम्भव बनायो । दोस्रो हाफमा भुटान पनि १० खेलाडीमा समेटिएको थियो । फ्रिकिक बल मार्क गर्ने क्रममा दुई टोलीबिच हात हालाहाल हुँदा रेफ्रीले दुवै टोलीका खेलाडीलाई रातो कार्ड देखाएका थिए । तर दोस्रो हाफमा दुवै टोलीले गोल फर्काएन सकेनन् ।

जितसँगै समूह ‘बी’ मा रहेको भारतले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । भारतले समूहको अर्को खेल माल्दिभ्ससँग खेल्नेछ । भारत अघिल्ला तीन संस्करणको विजेता हो ।

च्याम्पियनसिप अन्तर्गत समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल बिहीबार बङ्गलादेशसँग खेल्नेछ । नेपालले आफ्नो पहिलो खेलमा  श्रीलङ्कालाई १–० गोलले हराएको थियो । च्याम्पियनसिपमा पाकिस्तानबाहेक ६ टोलीको सहभागिता रहेको छ ।

समूह ‘ए’ मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का रहेको छ । समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।