काठमाडौँ, भदौ ३ गते । आज जनै पूर्णिमा धेरैले यसलाई ‘क्वाँटी’ पर्वका रूपमा चिन्छन्। परापूर्व कालदेखि नै आजको दिन विभिन्न प्रकारका पौष्टिक गेडागुडी भिजाएर उम्रिएपछि त्यसलाई राम्ररी पखालेर पकाएर खाने चलन छ। समुदाय अनुसार यसको नाम फरक होला तर पौष्टिक आहारका लागि यसलाई आधुनिक विज्ञानका चिकित्सकले सबैभन्दा राम्रो मानेका छन्।
आधुनिकतासँगै आजको समाज रेष्टुरेन्ट संस्कारमा रुमलिएको छ। तर विज्ञ भने नेपाली परम्परागत उत्पादन र खानामा नै पौष्टिक तत्त्व बढी पाइने दाबी गर्छन्। ‘‘नेपाली चाडपर्व तथा सांस्कृतिक चलनमा खाइने खानाहरू आफैमा वैज्ञानिक छन्’’, पोषणविद् डा. अरुणा उप्रेती भन्नुहुन्छ, ‘‘आजको दिन खाइने क्वाँटी सबैको स्वास्थ्यको लागि राम्रो पोषक तत्त्व हो।’’
हरेक दिन नेपालीको भान्छामा हुने परिकारले शरीरलाई चाहिने भिटामिन, प्रोटिन, आइरनदेखि लौह तत्त्व पुग्ने उहाँको विश्वास छ। ‘‘म त स्वास्थ्य शरीरका लागि नेपाली परम्परागत खानालाई पछ्याउन सुझाव दिन्छु। भात, रोटी, अचार, दाल, गेडागुडीको रस, मोही, दूध, सागपात मिलाएर खाए शरीरलाई उचित पोषण मिल्छ।’’
संस्कृतिविद् डा. जगमान गुरुङ आजको बजारको खानपान भन्दा परम्परागत रूपमै विभिन्न चाडपर्वमा खानेकुरामा पोषण तत्त्व बढी पाइने दाबी गर्नुहुन्छ। ‘‘वैशाखदेखि चैतसम्म हरेक महिना परम्परागत रूपमा विभिन्न चाडपर्वमा खाने परिकारमा पाइने पोषण नै हाम्रो स्वस्थ शरीरका लागि पर्याप्त हुन्छ। तर अहिले सहरीकरणले रैथाने खानेकुरालाई विस्थापित गर्दा मानिसमा विभिन्न स्वास्थ्य जटिलता देखिएका छन्।’’
कुन महिनाको खानामा कस्तो पौष्टिकता पाइन्छ ?
वैशाख/जेठ जौ, सर्बत र सिस्नो, असार दही र चिउरा, साउन कर्कलो र खिर, भदौ क्वाँटी र दर, असोज ढिकीमा कुटेको चिउरा, मासु र भात, कात्तिक सेलरोटी, मङ्सिर योमरी, पुस मासको फुलौरा, माघ तरुल र चाकु, फागुन/चैत निमको पात खाने नेपाली परम्परागत चलन हुन्। यस्ता खानेकुरामा शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्त्व पाइने पोषणविद्को दाबी छ।
वैशाख/जेठ : जौ र सिस्नु
हाम्रो संस्कार अनुसार वैशाख महिनाको १ गते एउटा उत्सवको दिन हो। यसबाहेक वैशाखमा विभिन्न पर्व पर्छन्। तर नेपालीले विशेष रूपमा मनाउने पर्व भनेको अक्षय तृतीया हो। यो दिन जौको सातु र सर्बत खाने चलन छ। यो सर्वतमा चिनी मिसाएको हुँदैन। उखुको खुदो हालेर सर्बत बनाइन्छ। गर्मी महिना भएकाले सर्वतले हाम्रो शरीरमा शीतलता प्रदान गर्दछ। यत्तिमात्र होइन वैशाखमा सिस्नु खाने हो। सिस्नुले सबै प्रकारको खानेकुरा पचाउँछ। सिस्नुले खानेकुरामा मिसिएर पेटसम्म पुगेको कपाललाईसमेत पचाउने विश्वास संस्कृतिविद् डा. जगमान गुरुङको छ। उहाँ भन्नुहुन्छ, ‘‘हाम्रो शरीरले खाएका सबै कुरा पचाउँछ तर रौँ (कपाल) पच्दैन। रौँ आन्द्रामा अड्किएको भए सिस्नुले पचाइदिन्छ। सिस्नुले प्रेसर भए लेभलमा ल्याउँछ। आँखा कमजोर भए ठिक ठाउँमा ल्याउँछ। हाम्रा जिजु बाजेले सिस्नुमा टिमुर राखेर खानु स्वास्थ्यका लागि राम्रो हुन्छ भनेर हामीलाई सिकाएका हुन्।’’ वैशाख महिनामा आमाको मुख हेर्ने दिन मातातीर्थ औँसीसमेत पर्छ। वैशाख वा जेठ महिनामा उभौली, बुद्ध जयन्ती वा चण्डी पूर्णिमा जस्ता पर्व पर्छन्। बौद्ध धर्मावलम्बीले बुद्धको जन्मजयन्ती मनाउने गर्दछन्। यो पर्व खानपानसँग भन्दा ध्यानसँग जोडिएको डा. गुरुङको भनाइ छ।
डा. अरुण उप्रेतीका अनुसार जौमा पर्याप्त मात्रामा ऊर्जा हुन्छ। यसमा शरीरलाई आवश्यक पर्ने सूक्ष्म तत्त्व पाइन्छन्। पछिल्ला धेरै अनुसन्धानले जौ पौष्टिकताका लागि अत्यन्त लाभदायक हुने उल्लेख गरेका छन्। यसमा धेरै मात्रामा रेसादार तत्त्व हुन्छ। महिनावारी सुकिसकेका महिलाका लागि जौको सातुले धेरै फाइदा गर्छ। ६ महिना पुगेका शिशुका लागि बनाउने लिटोको पिठोमा जौ राख्नु धेरै राम्रो हुन्छ। बालबालिकादेखि वृद्धवृद्धासम्म सबैको स्वास्थ्यलाई एकदम राम्रो गर्ने परिकारमा जौ पर्छ। गर्मी महिनामा पौष्टिक आहार र शरीरको स्फूर्तिकै लागि जौ, सर्वत र सातु खानु भनिएको मान्न सकिन्छ। सर्वतमा राखेको मिस्रीले ऊर्जा दिन्छ। गर्मी महिनामा सर्वत र सातुले शरीरमा ‘लू’ लाग्ने र डिहाइड्रेसन हुने जोखिमबाट बचाउने भएकाले यो खाने चलन बसेको हो। परम्परागत रूपमा तरकारीका रूपमा खाइने सिस्नुमा भिटामिन ‘ए’, आइरन, रेसादार तत्त्व पाइन्छ।
असार : दही र चिउरा
असार नेपाली परम्परा अनुसार मानु रोपेर मुरी फलाउने महिना हो। यो महिना दही र चिउराका लागि विशेष मानिन्छ। चिउरा हत्तपत्त नपच्ने दरिलो खाना हो भने गर्मी महिनामा दहीले शरीरलाई शीतलता प्रदान गर्छ। संस्कृतिविद् गुरुङ असारमा दही, चिउरा र पिरो आलुको अचार खाने चलन रहेको बताउनुहुन्छ। ‘काम गर्न शरीरलाई दरिलो बनाउन चिउरा, त्यसलाई पचाउन र शीतलता प्रदान गर्न दही र शरीरका मांसपेशीलाई पुर्नरताजकी गराउन पिरो आलुको अचार खाने हो’, संस्कृतिविद् गुरुङ भन्नुहुन्छ। धान दिवस अर्थात् दही र चिउरा खाने दिनको रूपमा असार १५ प्रसिद्ध छ।
पोषणविद् उप्रेतीका अनुसार चिउरा भातै हो। यसमा कार्बोहाइड्रेडसँगै थोरै मात्रामा प्रोटिन हुन्छ। सूक्ष्म पोषक तत्त्व र रेसादार तत्त्व पाइन्छ। भातमा पाइने सबै कुरा चिउरामा पाइने भएकाले यो दरिलो खाजाको रूपमा प्रयोग हुन्छ। शरीरलाई ऊर्जा दिने चिउरामा आइरन र भिटामिन ‘बी’ हुन्छ। दहीमा दूधमा भन्दा बढी क्याल्सियम पाइन्छ। अन्य सूक्ष्म पोषक तत्त्व धेरै पाइने भएकाले हरेक खानामा दहीको प्रयोग हुन्छ। अहिले बजारमा पाइने चिनी हालेको दहीमा भने घरमा बनाएको दहीमा भन्दा केही कम मात्र पोषक तत्त्व पाइन्छन्। घरमा बनाएको दही भए प्रोटिन र थोरै चिल्लो पदार्थ पाइन्छ। असारमा दही र चिउरासँगै खाइने आलुको अचारमा कार्बोहाइड्रेट प्रशस्त मात्रामा पाइन्छ। यसले हाम्रो शरीरलाई पर्याप्त ऊर्जा दिन्छ। यसमा थोरै मात्रामा प्रोटिन, क्याल्सियम, लौह तत्त्व र आइरन पाइन्छ।
साउन : कर्कलो र खिर
साउनमा कर्कलो खाने चलन पुरानो हो। कर्कलोले घाउ खटिरा सफा गर्ने विश्वास छ। कर्कलो एउटा चिलाउने पदार्थ हो। यसले पेटमा पलाएको घाउखटिरालाई सफा गरेर लैजाने कामसमेत गर्छ। नेपाली संस्कृति अनुसार साउन १ गते लुतो फाल्ने दिनका रुपमासमेत प्रसिद्ध छ।
साउन १५ गते खिर खाने चलन छ। साउनमा प्रशस्त दूध हुनाले खिर खाएको मानिन्छ। खेती किसानी गर्दा थकित शरीरलाई आराम दिन दूध, चामल र चिनी राखेर बनाएको परिकारले विशेष महत्त्व राख्ने परम्परागत बुझाइ छ। यसबाहेक खिरको ऐतिहासिक र राजनीतिक सम्बन्धसमेत रहेको देखिन्छ। लम्जुङका राजकुमार द्रव्य शाहले महासिद्ध योगी गोरखनाथलाई साउन १५ गतेका दिन खिर खुवाएको हुनाले उनले गोरखाको राज्य पाएको र उनका सन्तानले नेपालको राज्य पाएका भन्ने मान्यतासमेत रहेको संस्कृतिविद् गुरुङको भनाइ छ।
कर्कलोलाई उच्च स्तरको खाना मानिन्छ। यसमा सबैभन्दा बढी पाइने आइरन हो। यसमा पाइने रेशादार तत्त्वले हाम्रो शरीरलाई धेरै फाइदा गर्छ। कर्कलो र पिडालुसँग भात खाँदा शरीरलाई एकदम फाइदा हुन्छ। खिर भनेको चामल र दूधसँगै अन्य मसलाको मिश्रण हो। यसमा कार्बोहाइडे«टसँगै शरीरमा ऊर्जा दिने क्यालसियम हुन्छ।
भदौ : सर्वगुण सम्पन्न क्वाँटी
भदौ महिनासँगै नेपालीका खानपानमा केन्द्रित विशेष चाडपर्व सुरु हुन्छन्। जनैपूर्णिमा र गाईजात्रामा क्वाँटी विशेष परिकार बन्छ। पश्चिमतिर गौरा पर्वमा विरुडा खाइन्छ।
भिजाएर टुसा उमारेको गेडागुडीमा मसला हालेर राम्ररी पकाएर झोलिलो बनाएर खाने पोषिलो खाना क्वाँटी हो। तागाधारीले जनै फेरेर क्वाँटी खान्छन् भने नेवारी समुदायमा गाइजात्रामा क्वाँटी विशेष परिकार बन्छ। सुदूरपश्चिममा गौरा पर्व भदौमा मनाइन्छ। यो पर्वमा पाँच प्रकारका गेडागुडी भिजाएर टुसा उमारेर‘विरुडा’ बनाएर खाइन्छ। सुदूरपश्चिमको खस भाषामा त्यसलाई विरुडा र यता नेपाल भाषामा क्वाँटी भनियो। हिलोमा काम गर्नुपर्छ, पानीमा भिज्नुपर्छ। त्यसको सर्दी फाल्नको लागि प्रोटिन हुने भएकाले गेडागुडीलाई उपयुक्त मानिन्छ।
तीजमा भने दर पकाएर खाइन्छ। पछिल्लो समय दरमा मासुदेखि रक्सीसम्म समेटिए पनि परम्परागत रुपमा दूध, घिउ र चामल पकाएर त्यसमा चिनी राखेर बनाएको विशेष परिकार ‘दर’ हो। त्यो खाएपछि लामो समय भोकै बस्दा पनि आडिलो हुने विश्वास तीजमा व्रत बस्ने महिलाले गर्छन्।
महत्त्वपूर्ण सांस्कृतिक पहिचान बोकेको क्वाँटी जनैपूर्णिमा पर्वको विशेष आहार हो। क्वाँटीलाई नेवारी समुदायमा ‘क्वाँती’ भन्ने गर्छन्। जनैपूर्णिमा वा क्वाँटी खाने दिन वा तिथिलाई भारतमा रक्षाबन्धन भनेर मनाउने चलन छ। तर, क्वाँटी नेपालमा नै बढी खाइन्छ। क्वाँटीमा केराउ, भटमास, मास, मुँग, चना, बकुल्ला, सानो केराउ लगायत नौ प्रकारका गेडागुडी हुन्छन्। परम्परागत ज्ञानले स्वास्थ्यमा लाभ पुर्याउने थाहा भएरै क्वाँटी खाने प्रचलन रहिआएको हो। पोषणविद् उप्रेतीका अनुसार क्वाँटी जीवन्त खाना हो। दाल, गेडागुडीले शरीरमा ग्यास उत्पन्न हुनसक्ने खतरा भए पनि, क्वाँटी बनाएर खाएपछि शरीरमा ग्यास बन्ने समस्या कम हुन्छ।
गर्भवतीमा र सुत्केरी भएपछि पनि क्वाँटीको सेवनले आमा र बच्चा दुवैलाई फाइदा गर्छ। यसको रस खाँदा पर्याप्त मात्रामा शरीरमा चाहिने क्याल्सियम, प्रोटिन प्राप्त हुन्छ। त्यसले सुत्केरीलाई ज्वानो तथा क्वाँटीको रस खुवाउने हाम्रो जुन परम्परा छ, त्यो वैज्ञानिक छ। जो व्यक्ति शाकाहारी जीवनशैली अपनाउँछन्, माछा-मासु खाँदैनन्, उनीहरूका लागि क्वाँटी अति उपयोगी हुन्छ। प्रत्येक साताको दुई–तीनपटक खानु स्वास्थ्यका लागि राम्रो हुन्छ। यो पौष्टिकताले भरिपूर्ण भोजन हो। यसमा भिटामिन, प्रोटिन र फाइबर प्रशस्त मात्रामा पाइन्छ। क्वाँटीलाई सुप बनाएर वा तरकारीका रूपमा पनि यसको प्रयोग गर्न सकिन्छ। क्वाँटीलाई पिसेर पिठोमा मिलाएर बालबालिकाका लागि खाजा बनाएर खुवाएमा यसले एकदमै राम्रो गर्छ।
असोज : ढिकीमा कुटेको चिउरा र मासु
दसैं हिन्दुको विशेष पर्व हो। दसैंमा ढिकीमा कुटेको चिउरा, केरा र मासुका लागि प्रसिद्ध छ। दसैंमा केरा, चिउरा, मासु र भात खाएर घरमै बस्ने र सुत्ने गर्यो भने पच्दैन भनेर लिङ्गे पिङ खेल्ने चलन बनाएको संस्कृतिविद् गुरुङको भनाइ छ। टन्न मासु र भात खाएर पिङ खेल्दा मांसपेशी फुक्ने र मुटुको चाल बढ्ने गर्छ। ‘‘नेपाली संस्कृति मासु खाने हो। त्यो नखानेले केरा र चिउरा त पछि मात्र खान थालेका हुन्’’, गुरुङ भन्नुहुन्छ। सहरीकरण नहुँदा दैनिक मासु खान पाउने कुरा थिएन।
विशेष अवसरमा गाउँले जुटेर खसी र राँगा काटेर खाने गर्दथे। दसैँमा खाने खसी र राँगा भनेर किसानले लामो समयदेखि पालनपोषण गर्ने चलन नै थियो। अहिले त्यो व्यापारिक र व्यवसायिक बनिसकेको छ। चिउरासमेत अहिलेजस्तो बजारमा प्रशस्त नहुने भएकाले दसैँमा ढिकीमा कुटेर वर्षमा एक पटक दसैँमा खाने चलन थियो। घरमा केरा नहुनेहरु अन्नसँग साटेर केरा खोज्न टाढाटाढासम्म पुग्थे। पछिल्लो समय दसैं रक्सीमय हुने गरेको छ। यसले संस्कृति भन्दा विकृति फैलाएको संस्कृतिविद् गुरुङको भनाइ छ।
ढिकीमा कुटेको चिउरामा रेशादार तत्त्व बढी हुन्छ। यो राम्ररी भुटेको हुनाले रातो चिउरामा रेशादार तत्व बढी हुन्छ। विस्तारै पच्ने भएकाले लामो समयपछि मात्र भोक लाग्छ। यो विस्तारै पच्ने भएकाले एकैपटक शरीरमा चिनीको मात्रा बढाउँदैन। जसका काण थोरै मात्रामा भएपनि यसले चिनी नियन्त्रण गर्न सहयोग पुग्ने पोषणविद् उप्रेतीको भनाइ छ। दसैँमा वा अन्य समयमा खाने मासु र भातमा प्रोटिन, आइरन र कार्बोहाइड्रेड पाइन्छ।
कात्तिक : सेल रोटी
कात्तिक महिना पर्वैपर्वले पूर्ण महिना हो। मान्छेदेखि पशुपन्छीसम्मको पूजा हुने महिनाको रुपमासमेत यसको चर्चा हुन्छ। हरेक दिनजस्तै चार्डपर्व हुन्छन्। तिहारको सेलरोटीले कात्तिक महिनामा विशेष चर्चा पाउने गर्दछ। यो एक नेपाली परम्परागत परिकारको पहिचानसमेत हो। चामलको पिठो बनाएर तोरीको तेल वा घिउमा पकाएको सेल रोटीको स्वाद आज बजारमा पाइने भन्दा भिन्न र पौष्टिक हुन्छ। सेल रोटीकै कारण तिहारमा भात गौण भएको मानिन्छ। तोरीको तेल र घिउको दाउनले सेलरोटी पकाउँदा वातावरणसमेत स्वच्छ र सुगन्धित बन्ने विश्वास बुढापाकाले लामो समयदेखि गर्दै आएका छन्।
तिहारको भाइटीका भन्दा अघिल्लो दिन नेवार समुदायले मनाउने म्हपूजासमेत विशेष हुन्छ। यो पर्वमा खासगरी नेवार समुदायले भोज खान्छन्। म्हपूजामा समयबजी खाने भन्छन्। त्यसमा कालो, सेतो भटमास, अदुवा र लसुन जस्ता रैथाने उत्पादनका परिकार खान्छन्।
सेलरोटी घरमा बनाएको चामलको पिठोबाट बन्ने भएकाले खानका लागि राम्रो हुन्छ। चिल्लो पदार्थमा पाइने भिटामिन, ए, डि ई र के भिटामिन पाइन्छ। घरमा बनाएको भए खाजाका लागि राम्रो हुन्छ।
भटमासमा सबैभन्दा बढी प्रोटिन पाइन्छ। यो क्याल्सियमको पनि स्रोत हो। रेशाखार तत्त्व हुने भएकाले शरीरलाई धेरै फाइदा गर्छ। लसुन थोरै मात्रामा खाइन्छ। यसले शरीरलाई रोगसँग लड्ने क्षमता दिन्छ। एकदमै थोरै मात्रामा प्रोटिन र क्यालोरी हुन्छ। यसमा विभिन्न किटाणुसँग लड्ने क्षमता हुने भएकाले शरीरलाई फाइदा गर्छ।
अदुवा र कागती भएको ठाउँमा रोग आउँदैन भनेर आयुर्वेदिक चिकित्सामा भनिएको छ। विशेष गरेर खोकी लागेको समयमा फाइदा गर्छ। यसले रोगसँग लड्ने क्षमता बढाउँछ। थोरै मात्रामा खाइने यसमा अलिकति पोटासियम, सोडियम भिटामिन ‘सी’, लौह तत्त्व, भिटामिन ‘बी’ जस्ता तत्त्व हुन्छन्।
मङ्सिर : योमरी
मङ्सिर नयाँ पाकेको फल खाने महिना हो। न्वागी खाने पर्व किसानका लागि महत्त्वपूर्ण हुन्छ। नयाँ अन्न खान सुरुवात गर्ने दिनलाई न्वागी खानु भनिन्छ। न्वागी खानुअघि दहीमा काँचो चामल भिजाउने अनि टीका लगाउने चलन छ। त्यो काँचो चामलमा घिउ र मह राखेर खाने गरिन्छ। महमा सबैभन्दा क्यालोरी बढी हुन्छ। थोरै मात्रामा सूक्ष्म पोषक तत्त्व पाइन्छ।
योमरी भने नेवारको विशेष परिकार हो। यो भनेको सबैले मन पराउने रोटी हो। यो खुवा, खुदो, चाकु राखेर चामलको पिठोबाट बनाइन्छ। जाडो मौसममा यो प्रोटिन युक्त खानेकुरा खाने चलन परापूर्वकालदेखिकै हो। मङ्सिर महिनामा न्वागी खाने दिनलाई धान्य पूर्णिमासमेत भनिन्छ। उधौली पर्वसमेत मङ्सिर महिनामै मनाइन्छ। योमरी बन्ने चामलको पिठो, चाकु, खुवा वा खुदोमा आइरन र क्यालसियम हुन्छ। प्रोटिनसँगै थोरै मात्रामा फ्याट हुन्छ। चामलको पिठोबाट बन्ने भएकाले योमरीमा भातमा पाइने पोषक तत्त्व सबै पाइन्छ। खुदोमा चिनीको मात्रा थोरैथोरै हुने भएकाले शरीरलाई ऊर्जा दिन्छ।
पुस : फुलौरा
पुस महिनामा धेरै चिसो हुन्छ। विशेष गरेर मासको फुलौरा र लट्टे खाने महिनाको रुपमा यसलाई चिनिन्छ। कालो मासमा अदुवा र लसुन राखेर फुलौराको लागि पिठो बनाउने हो। त्यही पिठोलाई तोरीको तेलमा पकाएर खाने गरिन्छ। यो महिना तमु ल्होसारसमेत पर्छ। ल्होसारमा भने रोटी, रक्सी र मासु खाएर रमाइलो गर्ने संस्कृतिविद् गुरुङको भनाइ छ।
पोषणविद् उप्रेतीका अनुसार मासको फुलौरा प्रोटिनको स्रोत हो। यसमा कार्बोहाइडेड हुन्छ। थोरै मात्रामा पोटासियम र म्याग्नेसियमसँगै शरीरलाई आवश्यक पर्ने सूक्ष्म पोषक तत्त्व हुन्छ। मासमा पाइने भनेको प्रोटिन र आइरन नै हो।
माघ : तरुल र चाकु
माघ अन्न भन्दा कन्दमुल खाने महिनाका रुपमा परिचित छ। माघे संक्रान्ति तरुल र चाकुका लागि प्रसिद्ध छ। थारु समुदायले माघ १ गते माघी मनाउँछन्। माघीमा खाइने घुँगीलगायत परिकारलाईसमेत विशेष मानिन्छ। योसँगसँगै पिडालु र सखरण्डसमेत खाइन्छ। यी सबै नेपालका रैथाने खाद्यान्न र कन्दमुल हुन्। पहिला पहिला घरघरमै रोपिएको तरुल माघे संक्रान्तिमा खनेर खाने चलन थियो। सहरीकरण बढ्दै जाँदा यसको व्यवसायिक उत्पादनसमेत भइरहेको छ। माघ १ गते तरुल, चाकु, तिलको लड्डुसँगै घिउ खाइन्छ। जाडो महिनामा शरीरमा लागेको चिसो भगाउन परम्परागत रुपमै माघमा तरुल, चाकु र तिलको लड्डु खाने चलन बसेको हो। तिलको लड्डुले गोटा परेको निको हुने विश्वास गरिन्छ।
तरुलमा सबैभन्दा बढी कार्बोहाइड्रेड हुन्छ। थोरै मात्रामा फाइबर, फ्याट हुन्छ। भिटामिन ए, ई र सी हुन्छ। विभिन्न मिनरलसँगै सूक्ष्म तत्त्व हुन्छ। यूरोप र अफ्रिकातर्फ भातको सट्टामा तरुल खान्छन्। तरुल, पिडालु र सखरखण्डमा रेशादार तत्त्व बढी पाइन्छ। यी खानेकुराले हाम्रो शरीरलाई ऊर्जा दिन्छ।
तिलको लड्डु खानुका अन्य धेरै फाइदा छन्। तिलको महत्त्व क्यालसियमका लागि हो। तेल पनि हुने भएकाले यसमा आइरन, म्याग्नेसियम हुन्छ। रेशादार तत्त्व पाइने भएकाले यो खाएमा शरीरमा ऊर्जा मिल्छ।
फागुन/चैत : निमको पात
फागुन महिनामा महाशिवरात्रि, फागु पूर्णिमा र ग्याल्पो ल्होछार जस्ता पर्व पर्छन् भने चैतमा चैते दसैँ पर्छ। महाशिवरात्रिमा भाङ खाएर रमाइलो गर्ने चलन केही व्यक्तिमा हुन्छ। यसलाई कतिपयले औषधीय गुणको वनस्पतिसमेत मान्ने गर्दछन्। यसले मानसिक एकाग्रता गराउने संस्कृतिविद् गुरुङको भनाइ छ। फागु पूर्णिमा रङको पर्व हो। यसलाई शान्तिको प्रतिक मानिन्छ।
चैते दसैँको आफ्नै महत्त्व छ। ठुलो दसैँमा जस्तै चैते दसैँमासमेत लामो समय नभएर एकदिन मिठो पसिनो खाने र परिवार जम्मा हुने चलन छ। यसबाहेक चैत महिनामा निमको पातको झोल खाइन्छ। यसले गर्मी मौसममा ज्वरो आउन नदिने विश्वास छ।
पोषणविद् उप्रेतीका अनुसार निमले शरीरलाई रोगसँग लड्ने शक्ति दिन्छ। यसको पात कुटेर रस निस्किएपछि त्यसले नुहाएमा शरीरका घाउ निको हुन्छ। यसको रस खाएमा जुका परेको भए निको हुन्छ। यो दाँत र गिजालाई मजबुत बनाउन उपयोगी हुन्छ। यसमा पोषण भन्दा औषधीय गुण बढी हुन्छ। पहिलापहिला दाँत माझ्न गाउँतिर निमको प्रयोग गर्ने चलन नै थियो। यसको तेलले लामखुट्टे भगाउने भएकाले लामखुट्टेका कारण लाग्ने रोगबाट बचाउन यो उपयोगी मानिन्छ।
(परम्परागत खानपिन, पोषण र औषधीय गुणको विषयमा पोषणविद् डा. अरुणा उप्रेती र संस्कृतिकविद् डा. जगमान गुरुङसँगको कुराकानीका आधारमा तयार सामग्रीः)