हरिप्रसाद कोइराला
उर्लाबारी, कात्तिक २१ गते । कोशी प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा मोरङको उर्लाबारी नगरपालिका वडा ९ का किसानले अत्याधुनिक धान काट्ने मेसिन खरिद गरेका छन् । ६२ लाख ७६ हजार रुपियाँमा हार्भेष्टर कम्पायन, ट्याक्टर, बेलर र ट्रलि खरिद गरिएको र उक्त खरिदमा ५० प्रतिशत कोशी प्रदेश सरकारको अनुदान रहेको वडा ९ का वडाध्यक्ष नरबहादुर मोक्तानले बताउनुभयो ।
वडा अध्यक्ष नरबहादुर मोक्तानले भन्नुभयो, "हाम्रो उद्देश्य किसानलाई प्रविधिसँग जोडेर उत्पादनमा वृद्धि गर्ने हो । मल, जल र बिउ समयमा व्यवस्थापन गर्दा प्रति मन एक सय दश मनसम्म धान उत्पादन गर्न सकिने भएपनि समयमा कृषि मजदुर नपाउँदा किसानलाई धान भित्र्याउन सकस भइरहेको थियो । परम्परागत काम गर्ने कृषि मजदुरहरू पनि काम पाउन छोडेपछि रोजगारीको खोजिमा भारततिर लागेका छन् ।" उहाँले पूर्ण प्रविधियुक्त खेती गर्न सकियो भने कृषि मजदुरसँग पालो पर्खिनु नपर्ने बताउनुभयो ।
उर्लाबारी–९ का किसान डिकेन्द्र बस्नेतले भन्नुभयो, "धान काट्न मजदुरको समस्या भइरहेकोबेला हार्भेष्टर गाउँ मै आयो । थोरै खर्चमा छिटो र छरितो ढङ्गले धान भित्र्याउन पायौं ।" उहाँले हार्भेष्टर धान काट्दा पराल सङ्कलन गर्न समस्या भएकोले पराल पनि बाँधेर मुठा बनाउँदै आलिमा राखिदिने मेशिन भए अझ राम्रो हुने बताउनुभयो । हुन्थ्यो र धेरै खर्चिनु पथ्र्यो । अब मेसिनको सुविधा पाउँदा हामी किसानलाई ठूलो राहत मिल्नेछ ।
उर्लाबारी नगरपालिकाको वडा ८ र ९ धानको सघन खेती हुने वडा हुन् । साविकको राजघाट गाविसमा पर्ने यि वडामा पालिकाले मकै खेतीको पकेट कार्यक्रम चलिरहेको छ । नगरपालिकाका कृषि शाखा प्रमुख अम्विकाप्रसाद लुइटेलका अनुसार वडा ९ ले यो प्रविधि भित्र्याउन १० लाख रुपियाँ विनियोजन गरेको थियो । यस्तै किसानले ट्याक्टर खरिदमा ७ लाख ४६ हजार रुपियाँ लगानी गरेका छन् । किसान, वडा कार्यालय र प्रदेश सरकारको साझेदारीमा यो प्रविधि भित्रिएको कृषि शाखा प्रमुख लुइटेलको भनाइ छ ।
किसानको सह लागनीमा ल्याइएकोले वडा ९ का किसानले धान काट्दा प्रतिघण्टा ६ हजार तिर्नु पर्नेछ । सामान्यतया हालको इन्धन मुल्यमा अरु ब्यावसायिक हार्भेष्टर सञ्चालकले प्रतिघण्टा सात हजार ५ सय लिँदै आएका छन् ।