अमरराज नहर्की
तनहुँ, भदौ ३ गते । भानुभक्त प्राणी उद्यानबाट प्रभावित स्थानीयवासीले चार वर्ष बित्नै लाग्दा पनि मुआब्जाबापतको रकम पाउन सकेका छैनन् । व्यास नगरपालिका–११ र १२ तथा भानु नगरपालिका–५ र ६ क्षेत्रका १४२ जनाले मुआब्जा रकम पाउन नसकेका हुन् । उद्यानबाट प्रभावित स्थानीयवासीलाई मुआब्जा वितरणका लागि चार वर्षअघि मुआब्जा निर्धारण समितिले मुआब्जा निर्धारण गरिसकेको थियो । प्राणी उद्यानका लागि आवश्यक पर्ने जग्गा रोक्का हुँदा प्रभावितले बेचबिखन गर्न पाइरहेका छैनन् ।
प्रभावित बासिन्दा लामो समयदेखि मुआब्जा रकम नपाएपछि आन्दोलित छन् । उनीहरूले मुआब्जा रकम तुरुन्त वितरण गर्न माग राख्दै तनहुँको सदरमुकाम दमौलीस्थित जिल्ला प्रशासन कार्यालय तनहुँमा एक साताअघि दुई दिन धर्ना दिएका थिए ।
तनहुँको व्यास नगरपालिका–११ र १२ तथा भानु नगरपालिका–५ र ६ क्षेत्रलाई समेटिएर राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको नाममा निर्माण भइरहेको भानुभक्त प्राणी उद्यानसमक्ष मुआब्जा रकमका लागि पटक पटक माग राखे पनि पूरा नभएपछि आन्दोलन गर्नु परेको जग्गाधनी समन्वय समितिका संयोजक हर्कबहादुर कार्कीले बताउनुभयो । कार्कीका अनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बनेको घरजग्गा
मूल्याङ्कन समितिले चार वर्षअघि नै मूल्य निर्धारण गरिसकेको भए पनि अझैसम्म मुआब्जा पाउन नसकिएकाले आन्दोलन गरिएको हो ।
स्थानीय र सार्वजनिक जग्गासमेत गरी ४२५ हेक्टर क्षेत्रफलमा २०७३ माघ २० गतेको नेपाल सरकार (मन्त्रीपरिषद्) को निर्णय अनुसार २०७४ वैशाख १८ गते राजपत्रमा सूचना प्रकाशित गरी भानुभक्त प्राणी उद्यान घोषणा भएको हो ।
वन मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, प्रधानमन्त्री, राष्ट्रपतिसमक्ष समेत पुगेर मुआब्जाका लागि माग गरे पनि सुनुवाइ नभएको संरक्षण समितिका संयोजक प्रकाश मल्ल ‘टाइसन’ ले बताउनुभयो । माग पूरा नभएकाले आइतबार भानुभक्त प्राणी उद्यानको कार्यालयमा तालाबन्दी गरी कार्यालय घेराउ गरिएको उहाँले बताउनुभयो । सोमबार र मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा धर्ना जस्ता विरोध कार्यक्रम तय भएको र माग पूरा नभए थप आन्दोलन गरिने संयोजक टाइसनले बताउनुभयो ।
भानुभक्त प्राणी उद्यानका कार्यालय प्रमुख विनयकुमार झाले मुआब्जाका लागि ४६ करोड रुपियाँ आवश्यक पर्ने भनी सिफारिस गरिएको तर सङ्घ सरकारले रकम विनियोजन नगरेकाले वितरण गर्न नसकिएको बताउनुभयो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने प्रमुख जिल्ला अधिकारीको अध्यक्षताको समितिले मुआब्जाको रकम निर्धारण गरिसकेकाले सङ्घ सरकारले रकम विनियोजन गर्न ढिलाइ गर्न नहुने बताउनुहुन्छ । न्यौपानेले भन्नुभयो, “निर्धारण गरिए अनुसारको रकम वितरण गरिनु पर्छ । स्थानीयले आन्दोलन गर्नुपर्ने बाध्यताको सिर्जना गर्नु हुँदैन ।”
प्राणी उद्यानभित्र परेका १२६ जग्गाधनीको ९६१ रोपनी जग्गा अधिग्रहण गरिने छ । त्यसका लागि ४३ करोड ८७ लाख नौ हजार ४४३ रुपियाँ मुआब्जा निर्धारण गरिएको उद्यानले जनाएको छ । त्यस्तै उद्यानभित्र परेका घरटहराका लागि ५८ लाख सात हजार ५७९ रुपियाँ र छुट भएका १६ जग्गाधनीको जग्गा अधिग्रहणका लागि दुई करोड छ लाख ८४ हजार सात सय सात रुपियाँ मुआब्जा निर्धारण गरिएको छ ।