• ८ मंसिर २०८१, शनिबार

झाँक्री नाच्दै साउने पूर्णिमा सुरु

blog

हुम्ला समाचारदाता

हुम्ला, भदौ ३ गते । हुम्ला जिल्लाका धेरै स्थानमा मनाइने साउने पूर्णिमाको मेला सुरु भएको छ । दुई दिनसम्म धामी नाचेर यो पर्व मनाइन्छ ।

सिमकोट गाउँपालिका–५ का धर्मराज रोकायाका अनुसार धामी झाँक्रीले एकादशीबाट पूजापाठ र व्रत बस्न सुरु गर्ने गरेको भए पनि चतुर्दशीबाट धामी नाचेर यो पर्व सुरु हुने गर्छ । सिमकोट गाउँपालिका–६ को माथिल्लो गाउँको कालाशिल्ताको माडु (मन्दिर) मा धामीले धुमधाम नाचेर पर्व मनाइन्छ । यसअघि मुग्राधारामा कालाशिल्ताका झाँक्रीले तल्लो र माथिल्लो गाउँका धामी भेट हुनेबित्तिकै दुध छर्कने गरिन्छ । कालाशिल्ता, मष्टो, बाँडपाल, घण्टपाल, समैजी, गुरा, भवानीलगायतका धामी पालैपालो नाचेर मनाइने यो पर्व हेर्न स्थानीयको पनि उपस्थिति हुने गर्दछ । पर्वको दोस्रो दिन बाँडपालको माडुमा पनि धामी नाच्ने गरिन्छ । सिमकोटबाहेक यो पूर्णिमा डाँडाफया, ठेहेलगायतका गाउँमा पनि मनाउने गरिन्छ ।