• ७ मंसिर २०८१, शुक्रबार

चितवन राष्ट्रिय निकुञ्ज

blog

चितवन राष्ट्रिय निकुञ्ज नेपालको पहिलो निकुञ्ज हो । वन्यजन्तुको सुरक्षाका लागि तोकिएको स्थललाई निकुञ्ज भनिन्छ । यो निकुञ्ज २०३० सालमा घोषणा भएको हो । यसको क्षेत्रफल ९५२.६३ वर्ग किलोमिटर रहेको छ । यो निकुञ्ज सन् १९८४ देखि विश्वसम्पदा सूचीमा सूचीकृत छ ।  बागमती प्रदेशको चितवन, मकवानपुर, पर्सा र नवलपरासीका भूभाग यस निकुञ्जले ओगटेको छ । यो निकुञ्ज राप्ती, नारायणी, रियु जस्ता ठुला नदीले घेरिएको छ । बर्सेनि हजारौँ पर्यटकले यस राष्ट्रिय निकुञ्जको भ्रमण गर्ने गरेका छन् । निकुञ्जको करिब ७० प्रतिशत वन क्षेत्र सालको जङ्गलले ढाकेको छ । यहाँ विश्वमै दुर्लभ मानिएको एकसिङे गैँडा पाइन्छ । यहाँ ६०५ वटा एकसिङे गैँडा छन् । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जाले अति दुर्लभ ९६ वटा पाटेबाघ पनि रहेको बताउनुभयो । त्यस्तै सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिङे, बाँदरलगायत ६० भन्दा बढी किसिमका स्तनधारी वन्यजन्तु यहाँ पाइन्छन् ।  घडियाल गोही, मगर गोही, अजिङ्गरलगायत सरीसृप तथा उभयचर पनि यो निकुञ्जमा पाइन्छन् । यो निकुञ्ज बसाइँ सरेर आएका र रैथाने गरी ५४६ भन्दा बढी जातका चराचुरुङ्गीको बासस्थान पनि हो । विभिन्न किसिमका किरा फट्याङ्ग्रा पनि पाइन्छ ।  यहाँको बीसहजारी ताललाई सन् २००३ मा अन्तर्राष्ट्रिय महत्वको सिमसार क्षेत्रका रूपमा सूचीकृत गरिएको छ । हिलो र पानी भएको ठाउँलाई सिमसार भनिन्छ । बीसहजारी तालमा पनि मयूरलगायतका रङ्गीबिरङ्गी चराका हुल हेर्न पाइन्छ । यस निकुञ्जले वाल्मीकि आश्रम र विक्रमबाबा जस्ता धार्मिक स्थलको संरक्षण गरेको छ । 

यहाँ घडियाल गोहीको प्रजनन केन्द्र छ । त्यहाँ सानादेखि हुर्किंदै गरेका गोहीका बच्चा घाम र शीतल ताप्दै गरेको देख्न पाइन्छ । खोरमा राखिएको पाटेबाघ पनि हेर्न पाइन्छ । थुप्रै हात्ती पनि देख्न सकिन्छ । खोरसोरको हात्ती प्रजनन केन्द्रमा हुर्कंदै गरेका हात्तीका बच्चासँग रमाउन पनि पाइन्छ । 

राप्ती नदी किनारमा बसाइँ सरेर आएका चखेवाका जोडी लहरै देख्न पाइन्छ । घाम डुबेको दृश्य हेर्न अवलोकनकर्ता सौराहा जाने गरेका छन् । मयूर नाचेको, र्गैँडाले पानी खाएको, घडियालले नदी तरेको, हात्ती नुहाउँदै रमाइलो गरेको दृश्य पनि हेर्न पाइन्छ । निकुञ्जसँगै जोडिएको राष्ट्रिय प्रकृति संरक्षण कोषमा चञ्चले स्वभावका गैँडाका बच्चासँग खेल्न पाइन्छ । यहाँ हात्ती वा जिप वा डुङ्गामा चढेर रमाइलो गर्न पाइन्छ । मृग र हरिणका बथान वनभरि डुलेको हेर्दै उनीहरूसँग फोटो खिचाउन पाइन्छ । स्थानीय बोटे, माझी, मुसहर, चेपाङ, थारू समुदायले संरक्षण गरेका तालतलैया हेर्न पाइन्छ ।