तानसेन समाचारदाता
तानसेन, भदौ १ गते । स्थानीय कालिगडबाट तयार गरिएको ऐतिहासिक ‘बगनासे साँचो’ को प्रयोग बढाउन थालिएको छ । जिल्लाको बगनासकाली गाउँपालिकाभित्रका कालिगडले उत्पादन गर्दै आएको सय वर्ष पुरानो साँचो (ताल्चा) प्रयोगलाई बढाउने गरी तयारी गरिएको हो ।
गाउँपालिकाभित्रका सरकारी, गैरसरकारी एवं अन्य सङ्घ संस्थाले अनिवार्य रूपमा गाउँमै उत्पादन भएको ताल्चा प्रयोग गर्ने गरी छलफल भइरहेको पालिकाकी अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । ‘बगनासे साँचो’ पालिकाभित्र प्रयोगमा ल्याउन सकेको खण्डमा स्थानीय प्रविधि संरक्षण, रोजगारी वृद्धि हुने, साँचोको आयात रोकिने र प्रचारप्रसार हुने उहाँले बताउनुभयो ।
साँचोको प्रयोग बढाउँदै यसको प्रचारप्रसार गर्न सकेको खण्डमा ‘बगनासे साँचो’ को माग बढ्ने पालिकाले जनाएको छ । त्यसका लागि पालिकाले पाहुनालाई साँचो उपहार दिन थालेको छ । ‘बगनासे साँचो’ को प्रचार गर्न पालिकामा आएका पाहुनालाई उपहारका रूपमा दिने गरेको गाउँपालिकाका प्रवक्ता टिकाबहादुर थापाले बताउनुभयो । ‘बगनासे साँचो’ को प्रवर्धनका लागि कालिगडलाई तालिम, बजार प्रवर्धनको तालिम र प्रचारप्रसारमा सहयोग गरिएको प्रवक्ता थापाको भनाइ छ । हाल तीन जनाले ‘बगनासे साँचो’ बनाउँदै आएका छन् । उक्त ‘बगनासे साँचो’ को प्रतिगोटा मूल्य ८५० रुपियाँ रहेको स्थानीयवासी तेजप्रसाद रसालीले बताउनुभयो । तीन दशकअघिसम्म बगनासका विभिन्न स्थानमा बन्ने साँचो पछिल्लो समय लोप भएको थियो ।
स्थानीय तहले ‘बगनासे साँचो’ लाई समय अनुसार केही परिस्कृत गरेर बजारमा ल्याउन सहयोग गरेको छ । केही दशकअघि बगनासकाली गाउँपालिकाकै खानीगाउँबाट फलाम ल्याई कालिगडले ‘बगनासे साँचो’ तयार गर्ने गरेका थिए तर अहिले ताल्चा बनाउन काँचो फलाम भने बुटवल, भैरहवालगायतका स्थानबाट आयात गरिन्छ ।
‘बगनासे साँचो’ मा सम्भावना देखेर हाल तीन जनाले निरन्तर काम गरिरहेका विश्वकर्मा कृषि औजार तथा मेटल उद्योगका सञ्चालक भोजराज विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “सिप सिकेकाले उत्पादनमा समस्या छैन, बरु पालिकाले बजार व्यवस्थापनमा सहयोग गरिदिए हुन्थ्यो भन्ने अपेक्षा छ ।” ‘बगनासे साँचो’ लामो समयसम्म टिकाउ हुने, खोलेर बनाउन मिल्ने र सम्पत्ति सुरक्षा गर्ने भरपर्दो मानिन्छ । त्यसैले साँचोले बजार पाउनेमा आफूहरू आशावादी रहेको कालिगड बताउँछन् ।