• १३ साउन २०८१, आइतबार

स्रोतसाधन दुरुपयोग नगर्न निर्देशन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २४ गते नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी पाँच वर्ष सङ्घ, प्रदेश र स्थानीय तहको जिम्मेवारी काँग्रेसलाई दिनुपर्ने बेला आएको बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजले शुक्रबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले सम्मुनत नेपाल, नागरिकलाई सबल, सक्षम र स्वतन्त्र बनाई देशलाई सम्पन्न बनाउन तीनै तहमा काँग्रेसको सरकार बन्नुपर्ने तर्क गर्नुभयो ।

विधिको शासनलाई अवलम्बन गर्दै प्राप्त स्रोतसाधनका सही सदुपयोगमार्फत विगत पाँच वर्षको अनुभव र सेवा प्रवाहको आधारमा प्रमुखलाई नभएर जनतालाई बलियो बनाउनु आवश्यक रहेको बताउँदै उहाँले कुनै पनि ठाउँमा विधि मिचेर मनलाग्दी स्रोतसाधनको दुरुपयोग नगर्न काँग्रेस उम्मेदवारलाई निर्देशन दिनुभयो । उहाँले कृषि, पर्यटन, ऊर्जाका क्षेत्रमा उपलब्ध स्रोतसाधनको उपयोग गरेर अवको दशक रोजगारीको दशक बनाउने र प्रत्येक वर्ष पाँच लाख रोजगारी सिर्जना गर्ने मार्गचित्रसहित काँग्रेसको सङ्कल्प रहेको बताउनुभयो । 

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसीले निष्पक्ष र प्रजातान्त्रिक पद्धतिको अवलम्बन गर्दै पार्टी जवाफदेहीको आधारमा अगाडि बढ्नेमा जोड दिनुभयो । प्रजातान्त्रिक समाजका उपाध्यक्ष कुलचन्द्र वाग्लेले स्थानीय सरकारलाई सुशासन, पारदर्शी र जनमुखी बनाउन काँग्रेसको नेतृत्व अपरिहार्य रहेको बताउँदै पूर्वाधार, रोजगारी, शिक्षा र स्वास्थ्यको सङ्कल्पसहित अगाडि बढ्नुपर्ने बताउनुभयो ।