• ९ मंसिर २०८१, आइतबार

दाउन्नेमा भासिएको सडक मर्मतको काम मङ्गलबार सकिएन

blog

बोमलाल गिरी

नवलपुर, साउन २९ गते । पूर्व–पश्चिम राजमाार्ग अन्तर्गत नारायणघाट–बुटवल सडक खण्डको दाउन्नेमा भासिएको सडक मर्मतको काम मङ्गलबार पनि नसकिने भएको छ । भासिएको सडक मर्मतको काम नसकिएपछि बुधबार बिहानदेखि फेरी सुरु गरिने नवलपुर प्रहरीले जनाएको छ ।

सोमबार साँझ ५:०० बजे सडक भासिएर एकतर्फी सञ्चालन भएपनि सडक थप भासिएपछि बिहान साढे ८:०० बजेदेखि पूर्ण रुपमा यातायात अवरुद्ध भएको थियो । दिउँसो २:०० बजेसम्म मर्मत गरी सक्ने आँकलनकासाथ काम गरिएपनि सोचेभन्दा बढी काम गर्न परेकोले आज नसकिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । 

जाम भएर रोकिएका सवारी साधनहरूलाई एक/एक घण्टाको अन्तरालमा एकतर्फी पास गराउँदै मर्मतको काम गरिएको पौडेलले बताउनुभयो । राति भने सुरक्षाको दृष्टिकोणले जोखिम हुने भएकोले काम नगरिने उहाँको भनाइ छ । 

राति काम गर्न नसकिने भएपछि राती एकतर्फीरुपमा गाडी सञ्चालन हुने प्रहरीको भनाइ छ । भोलि बिहानैदेखि काम गरेर दुई तर्फी यातायात सञ्चालनमा ल्याइने प्रहरीले बताएको छ । चिनियाँ ठेकेदार कम्पनीले बाटो मर्मतको काम गरिरहेको हो ।