• १३ साउन २०८१, आइतबार

काठमाडौं बनाउने योजना बनाउँदा ५० देखि सय वर्षलाई ध्यान दिनुहोस् : माधवकुमार नेपाल

blog

गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल । तस्बिरः कविन अधिकारी

काठमाडौं, वैशाख २३ गते। नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं बनाउने योजना तयार पार्दा ५० देखि सय वर्षलाई ध्यानमा राख्नुपर्ने बताउनुभएको छ। शुक्रबार राजधानीमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो। 

‘‘काठमाडौं बनाउने योजना तयार गर्दा ५० देखि सय वर्षलाई ध्यान दिएर बनाउनुहोस्’’, अध्यक्ष नेपालले भन्नुभयो। काठमाडौं महानगरपालिका प्रमुख र उपप्रमुख उम्मेदवारका योजना सुनिसकेपछि अध्यक्ष नेपालले यस्तो सुझाव दिनुभएको हो। जनतालाई भ्रममा पार्ने योजना भन्दा इमान्दारिता र सङ्कल्पसहितका योजना ल्याउनुपर्ने उहाँको भनाइ छ। 

‘‘काम गर्नका लागि इमान्दारिता र सङ्कल्प चाहिन्छ। सबैको साथ र सहयोग लिने उदार भावना पनि चाहिन्छ। दम्भ र गफले जनतामा भ्रम राख्ने कसैले ठानेका होलान्। तर, झुटो आश्वासन अब जनताले पत्याउने छैनन्’’, अध्यक्ष नेपालले भन्नुभयो। 

अध्यक्ष नेपालले गठबन्धनका उम्मेदवारलाई काठमाडौंको सम्पदा र संस्कृतिको संरक्षण गर्नेगरी योजना तयार पार्न सुझाव दिनुभयो। काठमाडौंका उम्मेदवारले सार्वजनिक गर्नुभएको घोषणा प्रशंसनीय रहेकोसमेत उहाँको भनाइ छ। ‘‘विज्ञको सल्लाह लिएर अगाडि बढ्ने निर्णय गर्नु सकारात्मक छ’’, अध्यक्ष नेपालले भन्नुभयो। 

 नयाँ वस्ती बनाउनुपर्ने कुरामा विचार गर्नुपर्ने उहाँको भनाइ छ। सिंगो काठमाडौंलाई ध्यानमा राखेर स्मार्ट सिटीको अवधारणा तयार गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ। ‘‘कतिपय कुरा एउटा पालिकाले गर्न सक्दैन, समन्वय गर्नुपर्छ। ठूलो पालिकाको ठूलो र सानो पालिकाको सानो भूमिकालाई विचार पुर्याएर काम गर्नुपर्छ’’, अध्यक्ष नेपालले भन्नुभयो। अध्यक्ष नेपालले गठबन्धनका उम्मेदवारलाई बहुमतले जिताउन सबैलाई आग्रह गर्नुभएको छ।