• १३ असोज २०८१, आइतबार

सारङ्गीको धुनसँगै विरहका भाका सुनाउँदै डम्बर

blog

तस्बिर : रासस

राँझा (बाँके), साउन २८ गते । जाजरकोट नलगाड नगरपालिकाका ५३ वर्षीय डम्बर गायन नेपालगन्जमा सारङ्गीको धुनसँगै विरहका भाका सुनाउँदै आउनुभएको छ । गाउँ गाउँमा खबर सुनाउँदै हिँड्ने गाइने दाइको अभाव खड्किरहेका बेला डम्बरले पुर्ख्यौली जातीय पेसालाई निरन्तरता दिँदै जीविकोपार्जन गर्दै आउनुभएको छ । 

उहाँले परम्परागत जातीय पेसाबाट आफ्नो चारजनाको परिवारको गर्जो टार्ने गरेको बताउनुभयो । काँधमा कालो झोला, गलामा सारङ्गी भिरेर नेपालगन्जका विभिन्न गाउँ घुम्ने डम्बरले सारङ्गी रेटेर गीत गाउँदै दैनिक पाँच सयदेखि सात सयसम्म आम्दानी हुने गरेको जानकारी दिनुभयो । नेपालगन्जमा मात्र नभई कोहलपुर, खजुरा, सुर्खेतको वीरेन्द्रनगर, छिन्चु, बर्दियाको गुलरिया, भुरीगाउँ, बाँसगढी, दाङको लमही, घोराही र तुलसीपुरमा समेत पुग्ने गरेको उहाँले बताउनुभयो । 

बाह्र वर्षको उमेरदेखि सारङ्गी भिरेर विभिन्न जिल्लाका गाउँगाउँमा गीत गाउँदै आउनुभएका डम्बर परिवारको हातमुख जोड्नका लागि सारङ्गी रेट्दै नेपालगन्ज छिर्नुभएको हो । उहाँले गीतमार्फत आफ्नो दुखेसो पोख्दै सहयोगका लागि आग्रह गर्नुहुन्छ । “सहरमा हाम्रो गीत कसैले सुन्छन्, कसैले वास्तै गर्दैनन् । जसोतसो घरखर्च सङ्कलन हुँदै हराएको छ”, डम्बरले भन्नुभयो”, “मागेर खान नभई आफ्नो संस्कृति र पेसालाई जोगाउन सारङ्गी रेट्दै विरहका गीत गाउने गरेको छु । यो पेसाबाट मलाई गर्व महसुस हुने गर्दछ ।” 

बिचमा केही वर्ष रोजगारीका लागि भारतका विभिन्न सहरमा पुगेको बताउँदै उहाँले पछिल्लो सात वर्षदेखि निरन्तर सहर बजारमा एक्लै सारङ्गी रेटेर जीविकोपार्जन गर्दै आएको जानकारी दिनुभयो । सूचना र सञ्चारको पहुँचसँगै ग्रामीण क्षेत्रमा पाश्चात्य गीतसङ्गीतको प्रभाव बढ्दै गइरहेका उहाँको बुझाइ छ । सहरमा सारङ्गी रेटेर विरहका भाकासँगै डम्बरले विकास निर्माण, जनप्रतिनिधिप्रतिको निराशा र सामाजिक बेथितिका गीतसमेत गाउँदै आउनुभएको छ । 

बर्दियाको बढैयाताल गाउँपालिका-४ सुन्दरबस्तीमा अस्थायी बसोबास गर्दै आउनुभएका डम्बरले बदलिँदो समयसँगै नयाँ पुस्ताले पुर्ख्यौली पेसाबाट जीविकोपार्जन सम्भव नदेखेपछि अन्य पेसा अङ्गाल्दै गएका बताउनुभयो । समसामयिक अवस्थालाई सरल शब्दमा सर्वसाधारणले बुझ्ने गरी गीतको माध्यमबाट व्यक्त गर्ने पुर्ख्यौली पेसा अहिले विस्थापित हुँदै गएकामा डम्बरले चिन्ता व्यक्त गर्नुभयो । कुनै दिन बम्बईका कोठीमा नेपाली चेली बेचिएको, कतै सासूले बुहारी मारेको अनि विभिन्न युद्धमा वीरगति प्राप्त गरेका खबरको वाहक बनेर गाउँघरमा सारङ्गी रेट्ने गाइने दाइ हिजोआज देखिन छाडेका उहाँको भनाइ छ ।

रेडियो, पत्रपत्रिका, टेलिभिजन, मोबाइलफोनलगायत अत्याधुनिक सूचना प्रविधिको विकासले आफूहरूले पुर्ख्यौली पेसा परिवर्तन गर्न बाध्य भएको डम्बरले  गुनासो गर्नुभयो । नेपाली मौलिक लोक संस्कृति र पुर्ख्यौली पेसा संरक्षण गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । रासस