मीना कँडेल
कावासोती, साउन २८ गते । नवलपुरको कावासोती नगरपालिकाले सामुदायिक विद्यालयमा विज्ञान विषय पढ्ने विद्यार्थीलाई नगर विशेष छात्रवृत्ति प्रदान गरेको छ ।
विज्ञान विषय पढाइ हुने शिव माध्यमिक विद्यालयका पाँच र त्रिभुवन बाल माध्यमिक विद्यालयमा अध्ययन गर्ने पाँच गरी १० जना विद्यार्थीलाई नगर विशेष छात्रवृत्ति प्रदान गरेको हो ।
कावासोती नगर शिक्षा अधिकृत राजन पाण्डेले विगतमा दिइँदै आएको प्राविधिकतर्फको छात्रवृत्तिलाई निरन्तरतासँगै यस वर्षबाट विज्ञान संकायतर्फ थप विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रममार्फत नगरपालिकाले विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने नीति लिएको थियो ।
कावासोती नगरपालिकाले यसअघि नगरपालिकाभित्र प्राविधिकधारका कक्षा सञ्चालन हुने जनता माध्यमिक विद्यालय मगरकोट र शहिद स्मृति माध्यमिक विद्यालयमा अध्ययन गर्ने ५–५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
छनोट भएका विद्यार्थीले कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाउनेछन् । छात्रवृत्तिका लागि छनोट भएको प्रतिविद्यार्थी वापत नगरपालिकाले विद्यालयलाई ५२ हजार रुपियाँका दरले दुई लाख ६० हजार रुपियाँ उपलब्ध गराउनेछ । जसबाट विद्यार्थीले कक्षा ११ र १२ मा निःशुल्क अध्ययन गर्न पाउने नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीले बताउनुभयो ।
नगर प्रमुख बिष्णुप्रसाद भुसालले नगरपालिका भित्रबाट छनोट हुन सफल विद्यार्थीलाई बधाई दिँदै आ–आफ्नो क्षेत्रमा उत्कृष्टता प्राप्त गर्न शुभकामना व्यक्त गर्नुभयो । उहाँले छनोट भएका विद्यार्थीलाई छनोटको प्रमाणपत्र प्रदान गर्नुभयो ।