प्रत्येक वर्षको जून महिनालाई ‘स्कोलियोसिस’ जनचेतना महिनाका रूपमा मनाउने गरिएको छ । मेरुदण्ड बाङ्गो हुने समस्यालाई ‘स्कोलियोसिस’ भनिन्छ । मानिसको शरीरलाई मेरुदण्डले अड्याउँछ । शरीरको पछाडि गर्धनदेखि कम्मरमुनिसम्म पुगेको ठाडो हाड नै मेरुदण्ड हो ।
स्कोलियोसिस अर्थात् मेरुदण्ड बाङ्गो हुने समस्या धेरै कारणले हुने गर्दछ । यस्तो समस्या धेरै जसो साना बालबालिकामा देखिन्छ । यो जन्मिँदादेखि नै भएको हुन सक्छ । धेरै जसो १० वर्ष उमेर नाघिसकेका बालबालिकामा देखिन्छ । जन्मजातबाहेक नशासम्बन्धी समस्याको कारणले पनि यो समस्या देखिन्छ । यो समस्या बढी जसो १० देखि २० वर्षसम्मका बालबालिकामा देखिन्छ । बालकको तुलनामा बालिकामा यो समस्या बढी देखिन्छ । एक जना बालकमा देखियो भने सात जना बालिकामा यो समस्या देखिन्छ ।
घरमा बाबुआमाले वा विद्यालयमा शिक्षक तथा साथीहरूले यस्तो समस्या रहेको पत्ता लगाउन सक्छन् । लुगा लगाउँदा नमिल्नु, एउटा कुम माथि र अर्को कुम तल देखिनु, एकातिरको ढाडको भाग माथि उठ्नुलगायत यसका लक्षण हुन् । मेरुदण्ड बाङ्गिएको छ वा छैन भनेर सजिलै पत्ता लगाउने उपाय भनेको बच्चालाई अगाडि निहुरिन लगाउने र पछाडिबाट हेर्दा एकातिरको ढाड माथि अर्कोतिर तल गएको देखिन्छ ।
मेरुदण्ड बाङ्गिएको समस्या देखिएमा अस्पतालमा गएर चिकित्सकको सल्लाह लिनु पर्छ । मेरुदण्डको भाग बाङ्गो हुँदै गएमा यसले बालबालिकाको फोक्सोको विकासमा असर पुर्याउँछ । पछि मुटुलाई पनि असर पुर्याउन सक्ने भएकाले समयमै समस्या पत्ता लगाएर उपचार गर्नु पर्छ ।
ढाड कति बाङ्गो छ भनेर एक्सरे गरिन्छ । ढाड बाङ्गो हुँदैमा शल्यक्रिया गर्नु पर्छ भन्ने हुँदैन । सामान्य रूपमा ढाड बाङ्गो छ भने पेटी लगाउन दिइन्छ । यस्तो पेटीलाई ‘स्पाइनल ब्रेस’ भनिन्छ । स्पाइनल ब्रेसले बाङ्गोपन हुनबाट रोक्छ । निकै नै बाङ्गो छ भने कुनै पनि उमेरमा शल्यक्रिया (अपरेसन) गर्नुपर्ने हुन सक्छ ।