काठमाडौँ, साउन २८ गते । नेपालमा ठुलो सङ्ख्यामा बालबालिका आर्थिक काममा संलग्न रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को बालबालिकासम्बन्धी तथ्याङ्कीय प्रतिवेदनले छ महिनाभन्दा बढी समय आर्थिक गतिविधिमा करिब दुई लाख बालबालिका सक्रिय रूपमा संलग्न रहेको देखाइएको हो ।
१० देखि १७ वर्ष उमेर समूहका कुल ४६ लाख ६३ हजार बालबालिकामध्ये चार प्रतिशत अर्थात् करिब एक लाख ८६ हजार पाँच सय बालबालिका आर्थिक गतिविधिमा संलग्न रहेको पाइएको हो ।
छ महिनाभन्दा कम समय आर्थिक गतिविधिमा संलग्न बालबालिकाको सङ्ख्या भने अत्यन्त धेरै छ । प्रतिवेदन अनुसार उक्त उमेर समूहका कुल बालबालिकामध्ये १५.७ प्रतिशत अर्थात् सात लाख ३२ हजार बालबालिका तीन महिनाभन्दा कम समयका लागि आर्थिक काममा संलग्न छन् ।
तीन महिनादेखि छ महिनासम्म काम गरेको बालबालिकाको सङ्ख्या १० प्रतिशत अर्थात् चार लाख ६६ हजार रहेको प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक काममा संलग्न बालबालिकाको उमेर समूहमध्ये गैरघरायसी आर्थिक काममा संलग्न बालबालिका १३.५ प्रतिशत र घरायसी क्षेत्रमा १६.२ प्रतिशत रहेको पनि प्रतिवेदनले देखाएको छ ।
कोशीमा सबैभन्दा धेरै
प्रदेशगत हिसाबले कामको अवधिका आधारमा कोशी प्रदेशमा सबैभन्दा धेरै बालबालिका आर्थिक गतिविधिमा संलग्न रहेको पाइएको छ । कोशी प्रदेशको उक्त उमेर समूहका बालबालिकामध्ये ६.२ प्रतिशत बालबालिका छ महिनाभन्दा बढी समयका लागि संलग्न रहेको देखिएको छ । त्यसपछि तीन महिनादेखि छ महिनासम्मका लागि १२.४ प्रतिशत र छ महिनाभन्दा कम अवधिका लागि १८ प्रतिशत बालबालिका काममा संलग्न रहेको पाइएको छ ।
कोशीपछि छ महिनाभन्दा लामो समयका लागि आर्थिक काममा संलग्न बालबालिका बागमतीमा धेरै छन् । बागमतीमा उक्त उमेर समूहका ३.९ प्रतिशत बालबालिका छ महिनाभन्दा बढी समयका लागि संलग्न रहेको पाइएको छ । त्यस्तै तीन महिनादेखि छ महिनासम्मका लागि ८.६ प्रतिशत र छ महिनाभन्दा कम अवधिका लागि १३.५ प्रतिशत बालबालिका काममा संलग्न रहेको पाइएको छ ।
सम्बन्धित प्रदेशका उक्त समूहका छ महिनाभन्दा बढी समय काम गर्ने बालबालिकामा लुम्बिनीमा ३.८ प्रतिशत, कर्णालीमा ३.७ प्रतिशत, सुदूरपश्चिममा ३.४ प्रतिशत, मधेशमा ३.३ प्रतिशत र गण्डकीमा ३.२ प्रतिशत रहेका छन् । त्यस्तै तीन महिनादेखि छ महिनासम्मका लागि संलग्न हुनेमा सुदूरपश्चिममा १२ प्रतिशत, कर्णालीमा ११.६ प्रतिशत, लुम्बिनीमा ११.४ प्रतिशत, गण्डकीमा नौ प्रतिशत र मधेशमा ८.१ प्रतिशत बालबालिका रहेका छन् ।
तीन महिनाभन्दा कम अवधिका लागि आर्थिक काममा संलग्न सम्बन्धित प्रदेशका सो उमेर समूहका बालबालिकामध्ये कर्णालीमा सबैभन्दा धेरै २१.८ प्रतिशत, सुदूरपश्चिममा २१.१ प्रतिशत, लुम्बिनीमा १५.६ प्रतिशत गण्डकीमा १३.८ र मधेशमा सबैभन्दा कम १२.३ प्रतिशत रहेका छन् ।
ग्रामीण बालबालिकालाई कामको चाप
अध्ययनले ग्रामीण क्षेत्रका बालबालिका सबैभन्दा धेरै आर्थिक काममा संलग्न भएको देखाएको छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने १० देखि १७ वर्ष उमेर समूहका कुल बालबालिकामध्ये ५.५ प्रतिशत छ महिनाभन्दा बढी समयका लागि, १२.७ प्रतिशत तीन महिनादेखि छ महिनासम्मका लागि र २० प्रतिशत तीन महिनाभन्दा कम समयका लागि आर्थिक काममा संलग्न रहेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।
त्यसपछि अर्धसहरी क्षेत्रका सो उमेर समूहका ३.६ प्रतिशत छ महिनाभन्दा बढी समयका लागि, ९.२ प्रतिशत तीनदेखि छ महिनाका लागि र १४.६ प्रतिशत तीन महिनाभन्दा कम समयका लागि आर्थिक काममा संलग्न रहेको पाइएको छ ।
यी दुई क्षेत्रको तुलनामा आर्थिक काममा संलग्न सहरी क्षेत्रका बालबालिकाको सङ्ख्या भने कम छ । अध्ययन अनुसार सहरी क्षेत्रको सो उमेर समूहका बालबालिकामध्ये २.४ प्रतिशत छ महिनाभन्दा बढी समयका लागि, ७.६ प्रतिशत तीनदेखि छ महिनाका लागि र ११.६ प्रतिशत तीन महिनाभन्दा कम समयका लागि आर्थिक काममा संलग्न रहेको पाइएको छ ।
कोरोना सङ्क्रमण, आर्थिक सुस्तता, प्राकृतिक विपत्तिलगायतका कारणले गरिबी निवारण लक्ष्य अनुसार हुन नसक्दा अझै पनि धेरै घरपरिवारले बालबालिकालाई आर्थिक काममा संलग्न गराउनुपर्ने अवस्था रहेको छ ।