• ९ मंसिर २०८१, आइतबार

हुलाक सेवालाई प्रविधिमैत्री बनाउनुपर्नेमा सञ्चार मन्त्रीको जोड

blog

तस्बिर : रासस

लेखनाथ (कास्की), साउन २६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई प्रभावकारी एवम् प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ । पोखरास्थित हुलाक निर्देशनालयको निरीक्षणपछि मन्त्री गुरुङले हुलाकसम्बन्धी पुराना नीति, नियमलाई परिमार्जन गर्दै हुलाक सेवालाई समयसापेक्ष बनाउनुपर्ने बताउनुभयो । 

हुलाक सेवा प्रभावकारी हुन नसकेको गुनासो आइरहेकै बेला यसलाई कसरी प्रभावकारी र प्रविधिमैत्री बनाउने भन्ने बारेमा आफू चिन्तित रहेको बताउनुभयो । दुर्गम गाउँका जनतालाई शीघ्र सेवा प्रवाह गर्न सम्बद्ध कर्मचारी सधैँ सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । “पुरानो ढर्राबाट अब हुलाक सेवा चल्ने वाला छैन, तत्कालै परिवर्तन गर्न सकिने अवस्था पनि छैन, बिस्तारै हुलाक सेवालाई प्रविधिमैत्री बनाउने छु, मन्त्री गुरुङले भन्नुभयो-हुलाक सेवालाई समयसापेक्ष बनाउन कर्मचारी पनि प्रविधिमैत्री सिक्न  जरुरी छ ।”

निर्देशनालयका प्रमुख कीर्तनराज पौडेलले पर्याप्त जनशक्ति र यातायातका साधनको अभावमा पनि हुलाकका कर्मचारीले सेवा प्रवाह गरिरहेका बताउनुभयो । नब्बे जनाको दरबन्दी भएको निर्देशनालयमा ४२ कर्मचारीबाट काम भइरहेको बताउनुभयो । रासस