• २१ पुस २०८१, आइतबार

चौध उद्यमीलाई सम्मान

blog

सर्वोत्कृष्ट उद्यमीहरु सम्मानित हुँदै । तस्विर– अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, मङ्सिर ९ गते । बागमती प्रदेश सरकारले प्रदेशभरका १४ उद्यमीलाई नगदसहित सम्मान गरेको छ । प्रदेशको प्रत्येक जिल्लाबाट नवप्रवर्तन उद्यमी सम्मान मापदण्ड, २०८१ मापदण्डअनुसार उच्चतम अङ्क प्राप्त गर्ने उत्कृष्ट उद्यमी र समष्टिगत रूपमा बागमती प्रदेशबाट सबैभन्दा बढी अङ्क प्राप्त गर्न सफल एक सर्वोत्कृष्ट उद्यमीलाई छनोट गरी सम्मान गरिएको हो । 

बागमती प्रदेश सरकारको उद्योग वाणिज्य,  भूमि तथा प्रशासन मन्त्रालयको आयोजनामा १० औँ उद्योग दिवस तथा नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रममा प्रदेशका १४ जना उद्यमीलाई नगद, प्रमाणपत्रसहित सम्मान गरिएको थियो । प्रदेश सरकारले नगद एक लाख रुपियाँसहित सर्वोत्कृष्ट उद्यमीका रूपमा काभ्रेपलान्चोकको झ्याम्भल कृषि फर्म उद्योग प्रालिलाई सम्मान गरेको छ । 

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) र उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले संयुक्त रूपमा नगद, प्रमाणपत्रसहित सम्मान गर्नुभएको हो ।  

काभ्रेपलान्चोक बनेपाकी कमला लामाले विगत पाँच वर्षदेखि भोगटेको बोक्राबाट क्यान्डी तितौरा बनाएर देश तथा विदेशमा बिक्री गरिरहनुभएको छ । उहाँले फालिँदै आएको भोगटेको बोक्राबाट अत्यन्तै स्वादिलो तितौरा बनाएर अमेरिकादेखि अस्ट्रेलियासम्म निर्यात गर्नुभएको हो । 

नेपालबाट सप्लायर्समार्फत मासिक लाखौँ रुपियाँको क्यान्डी तितौरा अमेरिका, जापान, अस्ट्रेलियालगायतका देशमा निर्यात हुने गरेको उद्योग सञ्चालिका लामाको भनाइ छ । प्रदेश सरकारबाट सम्मानित हुन पाउँदा धेरै खुसी भएको उहाँले बताउनुभयो । 

प्रदेश सरकारले उत्कृष्ट उद्यमीका रूपमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१३ मा रहेको कोम्हेन्दो एकीकृत कृषि फार्म, धादिङ नीलकण्ठ नगरपालिका–८ को वमेधादिङ्ग–युनिक पशुपन्छी तथा कृषि फार्म, रसुवा उत्तरगया गाउँपालिका–५ को कोरसुवा–एसएस. टेलर्स एण्ड स्यानिटरी प्याड तथा माक्स, सिन्धुलीको दुधौली नगरपालिका–४ को सन्धुलि–वरपीपल दुना टपरी उद्योग र  काठमाडौँको चन्द्रागिरि नगरपालिका–११ को काठमाडौँ ओम फुड प्रोडक्टलाई नगद ४० हजार रुपियाँसहित सम्मान गरिएको थियो । 

त्यस्तै, ललितपुरको बागमती गाउँपालिका–१ को सृजनशील कृषि फार्म, दोलखाको गौरीशङ्कर –५ को सुरी मौरीपालन तथा घार उद्योग, नुवाकोटको सूर्यगढी गाउँपालिका–५ को नवयुवा कृषि फर्म, भक्तपुर–५ को लक्ष्मी चिउरा उद्योग, चितवनको भरतपुर महानगरपालिका–२८ को एसिएन नेपाली कागज उद्योग, रामेछापको मन्थली नगरपालिका–१ को मन्थली डिलक्स एग्रो फरेस्ट्री, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढ़ी नगरपालिका–१० को कफी सहकारी उद्योग र काभ्रेपलान्चोकको पनौती नगरपालिका–७, को विजेएस. ह्याण्डीक्राफ्ट एण्ड पनौती: सेभिनियर हाउसलाई नगद ४० हजारसहित सम्मानपत्रले सम्मान गरिएको थियो ।