• १२ असोज २०८१, शनिबार

सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन आह्वान

blog

सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँ । फाइल तस्बिर

सुदूरपश्चिम, साउन २५ गते । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले यही साउन २७ गते अपरान्ह २ बजे प्रदेशसभाको पाँचौ अधिवेशन आह्वान गर्नुभएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१)बमोजिम प्रदेश प्रमुखले आज प्रदेशसभाको पाँचौ अधिवेशन आह्वान गर्नुभएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

सरकारले दुई दिनअघि मात्रै प्रदेशसभाको चालु चौथो अधिवेशन अन्त्य गरेर बिहीवार राजश्व सङ्कलनसम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश प्रदेश प्रमुखबाट बिहीवार नै प्रमाणीकरण भइसकेको छ । अध्यादेश प्रमाणीकरणसँगै आर्थिक वर्ष २०८१/८२को बजेट पारित हुन नसकेर रोकिएको प्रदेश सरकारको कर सङ्कलन सम्बन्धी काम अगाडि बढेको  छ । 

बजेट पारित हुन नसकेर प्रदेश सरकार मातहतका कार्यालयको कर सङ्कलन लगाएतको काम ठप्प भएको थियो । तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेपछि प्रदेशसभामा असार १गते प्रस्तुत बजेट पारित हुन नसकेर अलपत्र परेको थियो । सरकारले अध्यादेश जारीगरी कर सङ्कलनको वातावारण बनाएपनि बजेट शून्यताको अवस्था भने अझैँ अन्त्य भएको छैन । 

मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिइसकेपछि बजेटका विषयमा कारबाही अघि बढाउने तयारी गर्नुभएको छ । त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली काँग्रेसका १८, नेकपा (एमाले)का ११, नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक १०,नागरिक उन्मुक्ति पार्टीका सात,नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ । रासस