• १२ पुस २०८१, शुक्रबार

असुरक्षित आकाश

blog

विश्वमै सुरक्षित, आरामदायी र छिटो यात्राका निम्ति हवाई यातायात भरपर्दो साधन मानिन्छ । यद्यपि विश्वमा प्रायः कतै न कतै सानाठुला हवाई दुर्घटना भएका समाचार भने आइरहेकै हुन्छन् । हवाई यात्राको इतिहासमा नेपाली आकाश पनि बढी दुर्घटना हुनेमा पर्दै आएको छ । हवाई उडानको ६९ वर्षको नेपाली आकाशको इतिहासमा १०९ वटा सानाठुला दुर्घटना भएका छन् र यी दुर्घटनामा परेर ९७४ जनाको दुःखद निधन भएको तथ्य सार्वजनिक छ । गत साउन ९ गते सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको निधन भएको पीडा सेलाउन नपाउँदै पुनः एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा बुधबार पाँच जनाको निधन भयो । सौर्य एयरलाइन्सको जहाज विमानस्थलबाट उडेलगत्तै दुर्घटना भएको थियो भने उक्त दुर्घटनाको १४ दिनमै एयर डाइनेस्टीको हेलिकोप्टर उडेलगत्तै नै बेपत्ता भई दुर्घटना भएको छ । नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौरमा साउन २३ गते भएको दुर्घटनाले नेपाली आकाशको असुरक्षालाई निरन्तरता दिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पछिल्लो दुर्घटनासहित नेपालमा हेलिकोप्टर दुर्घटनाका मात्रै सङ्ख्या ४१ पुगेको छ । विभिन्न कम्पनीका हेलिकोप्टर दुर्घटनामा परेर हालसम्म ९७ जनाको ज्यान गइसकेको छ । हेलिकोप्टर दुर्घटनाको इतिहासमा सबैभन्दा ठुलो मानवीय क्षति भएको दुर्घटना ताप्लेजुङको हो । विसं २०६३ मा तत्कालीन वनमन्त्री गोपाल राईसहित वन तथा वातावरण क्षेत्रका विज्ञ सवार श्री एयरलाइन्सको हेलिकोप्टर खराब मौसमका कारण दुर्घटना हुँदा २४ जनाको निधन भएको थियो । यसै गरी विसं २०७५ मा पुनः ताप्लेजुङमै एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधन भएको दुःखद स्मरण छ । पछिल्लो पटक विसं २०८० असार २६ मा सोलुखुम्बुको लामजुरामा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा छ जनाको ज्यान गएको थियो । दुई दिनअघि मात्र अन्नपूर्ण एयरको हेलिकोप्टर खराब मौसमका कारण बाँकेको राप्तीसोनारीको धानखेतमा आकस्मिक अवतरण गरेर दुर्घटना हुनबाट जोगियो । दुर्घटनाका शृङ्खला थपिँदै जाँदा नेपाली आकाशमा उडान सुरक्षित नभएको सन्देश बाह्य जगत्मा सम्प्रेषण हुने हुँदा पर्यटन उद्योगमा नकारात्मक प्रभाव पर्न सक्ने जोखिम छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ अनुसार नेपालमा वायुसेवा सञ्चालनको अनुमति दिने, वायुसेवा सञ्चालनसम्बन्धी अवस्था, मर्मतलगायतका मुख्य कार्यको अनुगमन नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्छ । प्राधिकरणलाई अनुगमनकारी र नियमनकारी दुई छुट्टाछुट्टै निकाय बनाउनुपर्ने आवाज उठ्न थालेको पनि धेरै भइसकेको छ । युरोपेली सङ्घले नेपाली ध्वजावाहकलाई युरोपको आकाशमा विसं २०७० देखि निरन्तर प्रतिबन्ध लगाउँदै आएकोमा प्रतिबन्ध फुकुवाका लागि उसले दुई छुट्टाछुट्टै निकाय बनाउन सुझाएको छ । यसै विषयलाई लिएर सङ्घीय संसद्मा समेत बहस प्रारम्भ भएको छ । दुर्घटनापछि सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिने प्रचलन अनुसार यो पटक पनि गठन भइसकेको छ । समितिले जहाज तथा हेलिकोप्टरका प्राविधिक कमजोरीभन्दा पनि नियमनकारी निकाय र मानवीय पक्षको कमजोरीकै कारण धेरै जसो दुर्घटना हुने तथ्य देखाउने गरेका छन् ।

दुर्घटनापछि हुने फितलो छानबिन र त्यसको कार्यान्वयनमा सरोकारवाला पक्ष उदासीन रहँदा दुर्घटना दोहोरिने गरेको हवाईविज्ञको बुझाइ नै आमजनताको पनि बुझाइ हो । नेपाली आकाशमा दुर्घटना बढ्नुमा मानवीय कमजोरीसँगै पहाडी भूगोल, अप्ठ्यारा विमानस्थल, साँघुरो धावनमार्ग, खराब मौसम, विमानस्थलमा आधुनिक उपकरणको अभाव, चराको विचरण, चालकदलमाथि दबाब जस्ता कमजोरी दुर्घटनापश्चात् गठित जाँचबुझ समितिले बुझाएका प्रतिवेदनमा आउने गरेका छन् । सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छाड्नेबित्तिकै दुर्घटनामा परेको सम्बन्धमा छानबिन गर्न सरकारले आयोग गठन गरेकोमा प्रतिवेदन आउन बाँकी नै छ ।

एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाको सत्यतथ्य छानबिन गर्न पनि सरकारले बुधबार नै तीन सदस्यीय छानबिन समिति गठन गरिसकेको छ । प्राधिकरणका अनुसार रसुवाको स्याफ्रुबेँसीका लागि उडेको हेलिकोप्टर दुर्घटना हुँदा चालक अरुण मल्ल र चार जना चिनियाँ नागरिकको निधन भएको छ । भरोसा गरौँ, छानबिन समितिले दुर्घटनाको सत्यतथ्य पत्ता लगाउने नै छ । मूल कुरा त प्रतिवेदन कार्यान्वयनकै हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई सुरक्षाको विषयलाई उच्चतम प्राथमिकतामा राखेर तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गरिसकेको बताउनुभएको छ । आगामी दिनमा उस्तै किसिमका कमजोरीबाट हवाई दुर्घटना दोहोरिन नदिन पछिल्ला प्रतिवेदनका साथै यसअघिका प्रतिवेदन पनि तत्काल कार्यान्वयनमा ल्याउन वाञ्छनीय छ ।