• १२ असोज २०८१, शनिबार

अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा

blog

काठमाडौँ, साउन २५ गते । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर कारोबार भएको छ । लगातार रेकर्ड ब्रेक गरिरहेको डलरको मूल्यले बिहीबार पनि अघिल्लो दिनको रेकर्ड ब्रेक गरेको छ ।

नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय दर अनुसार बिहीबार एक डलरको मूल्य बिक्रीदरतर्फ १३४ रुपियाँ ६४ पैसामा कारोबार भएको छ भने खरिददर पनि १३४ रुपियाँ ०४ पैसामा कारोबार भएको छ ।

बिहीबार डलरको मूल्यमा निरन्तर तेस्रो रेकर्ड हो । गत शनिबारको रेकर्डलाई तोडेर डलरको मूल्यले मङ्गलबार नयाँ रेकर्ड बनाएको थियो । सो रेकर्डलाई बुधबार तोडेको थियो भने बुधबारको रकेर्डलाई बिहीबार तोडेको हो ।

बुधबार डलरको बिक्रीदर १३४ रुपियाँ ६३ पैसा र खरिददर १३४ रुपियाँ ०४ पैसा थियो । बुधबार डलरको मूल्य एक पैसा बढेर नयाँ रेकर्ड कायम गरेको हो । डलरको मूल्यमा नयाँ नयाँ रेकर्ड ब्रेक भइरहँदा नेपाली मुद्राको अहिलेसम्मकै अवमूल्यन भएको छ । भारतीय मुद्रा कमजोर हुँदा डलरको मूल्य बढेर नेपाली रुपियाँ सबैभन्दा सस्तो दरमा झरेको हो । नेपाली रुपियाँ र भारतीय मुद्राबिच स्थिर विनिमय दर कायम रहेको छ ।

अमेरिकी डलरको मूल्य वृद्धि भइरहँदा नेपाल भित्रिने रेमिट्यान्सका लागि सकारात्मक प्रभाव पर्ने भए पनि आयातदेखि अन्तर्राष्ट्रिय ऋणको ब्याज र साँवालाई असर गर्ने विश्लेषक बताउँछन् ।