अर्जुन काफ्ले
स्याङ्जा, साउन २४ गते । आँधिखोला गाउँपालिकाले पालिका भित्रका विद्यालयलाई शैक्षिक तथा भौतिक सामग्रीहरू प्रदान गरेको छ ।
शैक्षिक गुणस्तर बढाउने उद्देश्यले आवश्यकता र प्राथमिकताको आधारमा प्रोत्साहन स्वरूप गाउँपालिकाले सामग्री प्रदान गरेको हो ।
पालिकाले सरस्वती माविलाई स्मार्ट बोर्ड, भगवती माविलाई सिसी क्यामेरा, बिपी स्मृति आवि र आधारभूत आविलाई प्रिन्टर प्रदान गरिएको थियो ।
यस्तै बालरञ्जन आवि र बास्कोट आविलाई कम्प्युटर डेक्सटप, चन्द्रमा आविलाई कम्प्युटर डेक्सटप र प्रिन्टर, गोगनपानी आविलाई टोनर दुई वटा, जनप्रिय आविलाई कलर प्रिन्टर, जनप्रदीप माविलाई कलर प्रिन्टर, सिसी क्यामेरा उपलब्ध गराएको हो ।
यस्तै, पालिकाले उत्कृष्ट विद्यालय, विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समितिलाई सम्मान गरेको हो । यस्तै, शैक्षिक सत्र २०८०/०८१ मा बढुवा भएका सात जना शिक्षकलाई समेत सम्मान गरिएको थियो ।
उत्कृष्टहरूलाई सम्मान तथा शैक्षिक गुणस्तरका लागि सरोकारवालाहरू बिचको अन्तरक्रिया कार्यक्रममा सामग्री प्रदान तथा सम्मान गरिएको हो ।
कार्यक्रममा शिक्षा निर्देशनालयका महानिर्देशक अम्बिकाप्रसाद आचार्यले सबै विद्यालय शिक्षक समुदाय र पालिकाको सहकार्यबाट शैक्षिक गुणस्तर सुधार गर्न सकिने बताउनुभएको थियो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले आगामी दिनमा शैक्षिक स्तर गुणस्तरीय सुधारमा अवलम्बन गर्नुपर्ने विषयमा कार्ययोजना तयार गरी लागू गर्ने बताउनुभयो ।