• १९ असार २०८१, बुधबार

भ्रममा नपर्न खनालको आग्रह

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २३  गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले तत्कालीन एमाले नेतृत्व सरकारमा भएका उत्कृष्ट कार्यको अपनत्व आफूले पाउनुपर्ने बताउनुभएको छ ।बिहीबार भिडियो सन्देश सार्वजनिक गर्दै उहाँले मनमोहन अधिकारी नेतृत्वको तत्कालीन एमालेको नौ महिने सरकारको पालामा वृद्धभत्ता वितरणको सुरुवात र ‘आफ्नो गाउँ आफैँ बनाऔँ’को अवधारणा आफूहरूले ल्याएकाले त्यसको अपनत्व र उत्तराधिकारी नेकपा (एकीकृत समाजवादी) नै भएको दाबी गर्नुभयो । सो समयमा माधवकुमार नेपाल तथा आफूहरूले त्यसको अगुवाइ गरेकाले त्यसको अपनत्व आफूहरूले पाउनुपर्ने नेता खनालले बताउनुभयो । 

त्यति मात्रै नभएर सुरुङ युगमा ल्याउने र आत्मनिर्भरतामा लिएर जाने अवधारणासमेत आफ्नो पार्टीको रहेको दाबी उहाँले गर्नुभयो । “त्यतिबेला कम्युनिस्ट पार्टीलाई ज्येष्ठ नागरिकको विरोधका रूपमा प्रचार गरिन्थ्यो,” नेता खनालले भन्नुभयो, “मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा वृद्धभत्ताको व्यवस्था ग-यौँ ।” उहाँले ज्येष्ठ नागरिकको सम्मान तथा हक अधिकारलाई स्थापित गर्न र आफ्नो गाउँ आफैँ बनाउने अवधारणा अघि ल्याएको बताउँदै त्यसको साँचो उत्तराधिकारी नेकपा (एस) नै हो भन्नुभयो । उहाँले सबै कामको अपनत्व आफ्नो भएकाले भ्रममा नपर्न आग्रह गर्नुभयो ।