अमरराज नहर्की
तनहुँ, साउन २३ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धिका लागि तनहुँबाट तीन हजार ५१ जना विद्यार्थी सहभागी भएका छन् । दश पालिकाका १७० विद्यालयले सो सङ्ख्यामा सहभागीको लागि फाराम भरेको शिक्षा विकास तथा समन्वय एकाइ तनहुँका प्रमुख उद्धवराज कट्टेलले जानकारी दिनुभयो ।
पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा शान्त वातावरणमा भइरहेको उहाँले जानकारी दिनुभयो । साउन ३१ गतेसम्म हुने ग्रेडवृद्धि परीक्षाको लागि सात परीक्षा केन्द्र निर्धारण गरिएको एकाइले जनाएको छ । एकाइका सूचना अधिकारी विश्वप्रकाश रेग्मीका अनुसार जिल्लाका दश पालिकामा रहेका एक सय ७० विद्यालयको लागि चार पालिकामा सात केन्द्र निर्धारण गरिएको छ । देवघाट र आँबुखैरेनी गाउँपालिकाको १९ विद्यालयका तीन सय ५१ विद्यार्थीको लागि आँबुखैरेनी बजारस्थित रामशाह माध्यमिक विद्यालयलाई तोकिएको छ ।
भानु नगरपालिका र बन्दीपुरका ३२ विद्यालयका छ सय १८ विद्यार्थीको लागि भानु नगरपालिका–२ स्थिति होमराज लोहनी शारदा सदन माध्यमिक विद्यालय तोकिएको छ । व्यास नगरपालिकामा पर्ने तनहुँको सदरमुकाम दमौलीमा दुई स्थानमा केन्द्र तोकिएको छ । सत्यवती र निर्मल माध्यमिक विद्यालयमा व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र ऋषिङ गाउँपालिकाका ५२ विद्यालयका विद्यार्थीको लागि केन्द्र तोकिएको छ ।
निर्मलमा ३३ विद्यालयका पाँच सय ४९ विद्यार्थी र सत्यवतीमा २६ विद्यालयका पाँच सय ४६ विद्यार्थीको लागि केन्द्र तोकिएको हो । यस्तैगरी जिल्लाका प्राविधिक धार तर्फ तीन विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थीलाई निर्मललाई नै केन्द्र तोकिएको छ ।
म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाका १९ विद्यालयका तीन सय ५४ विद्यार्थीको लागि शुक्लागण्डकी नगरपालिकाको खैरेनीटार माध्यमिक विद्यालयलाई केन्द्र तोकिएको छ । शुक्लागण्डकी नगरपालिकाको लागि मात्रै दुलेगौँडा स्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयमा १९ विद्यालयका तीन सय ५४ विद्यार्थीको लागि केन्द्र तोकिएको छ ।
भिमाद नगरपालिकाको भिमाद बजार स्थित जनज्योति माध्यमिक विद्यालयमा भिमाद नगरपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकाका गरी २२ विद्यालयका तीनसय ६९ विद्यार्थीको लागि केन्द्र तोकिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षामा २६ केन्द्र तोकिएकोमा ग्रेडवृद्धि परीक्षाको लागि भने सात केन्द्र तोकिएको एकाइले जनाएको छ । एकाइका अनुसार साधारण पाँच हजार दुई सय ३१ र प्राविधिक तर्फ एक सय ३३ गरी परीक्षामा सहभागी पाँच हजार तीन सय ६४ विद्यार्थीमध्ये ४२ प्रतिशत उर्तीण भएका थिए । जिल्लामा १३ विद्यालयको नतिजा शून्य आएको थियो ।