• १२ असोज २०८१, शनिबार

कर्तव्य (कथा)

blog

केरोली किसफलुदी (५ फेब्रुअरी १७८८–२१ नोभेम्बर १८३०) एक हङ्गेरियाली नाटककार एवं कलाकार थिए । उनी नेसनल ड्रामाका संस्थापक पनि हुन् । उनको साहित्यिक यात्रा सन् १८०४ बाट सुरु भएको देखिन्छ । उनलाई रोमान्टिक धारका लेखक मानिन्छ । The Tatars in Hungary, The capture of Belgrade, The suitors, The insurgents उनका नाट्य कृति हुन् । उनका नाटक जर्मन भाषामा अनुदित भई भियनामा प्रदर्शन गरिए । सन् १८२६ मा उनलाई Marczibanyi पुरस्कारबाट सम्मानित गरियो । सन् १८३० मा क्षयरोगबाट उनको निधन भयो । 

यो घटना त्यति बेलाको हो, जति बेला हाम्रो रेजिमेन्टले कोमो तालनजिक डेरा लिएको थियो । यहाँबाट हामीले फ्रान्सिसीहरूसित भेट्नु थियो जसबाट दारवडी ब्रिजको लेफ्ट विङलाई सहगोग गर्न सकियोस्, जहाँ मेरा मित्र मेजर मरी मरी भौँतारिरहेका थिए । 

कैयौँ महिनासम्म कोमो तालनजिकको सानो सहरमा हाम्रो समय बडो मोजमज्जामा बित्यो । इटालीका स्त्रीहरू हाम्रा सैनिकसित आनन्द लुटिरहेका थिए । हामीमध्ये कतिपय सैनिक दर्जनौँ सुन्दरीहरूलाई आफूनिकट देखेर आफ्नो सफलताको आँकलन गर्थे । मेरा मित्र मेजर मात्रै यसको एक मात्र अपवाद थिए । उनी निकै गम्भीर र अवसादग्रस्त रहन्थे । उनी विभिन्न स्त्रीसित मोजमस्ती गर्नुको साटो प्रेम र विवाहको मार्ग चुन्थे । उनी बेग्लै छालाले बनेका थिए । हामी त्यहाँ पुगेको भोलिपल्टै उनी प्रेमपासमा परिहाले । हामी सहरमा यताउता तरुनीहरूसित मोजमस्ती गरेर हिँड्दै गर्दा र तिनका नाममा रक्सी पिउँदै गर्दा मेजर चाहिँ त्यही केटीको झ्यालतिर टकटकी बाँधेर हेरिरहन्थे ।

मेजरमथि पे्रमको रङ पूरै चढिसकेको थियो । यसमा कुनै सन्देह थिएन कि ती युवती पनि मेजरको यस पागलपनको उपयुक्त प्रत्युत्तर दिँदैथी । मेजर हाम्रा हाकिमहरूमध्ये सबैभन्दा असल, आकर्षक र मिलनसार थिए । यसमा कुनै सन्देह नै थिएन । हामीलाई यो पनि थाहा थियो कि उनले आफ्नो प्रेम कहानीका बारेमा केटीको अभिभावकसित कुरा गरेका थिएनन् । उसै पनि यो समय बिहेका लागि उचित थिएन । सिपाही हुनुका नाताले उनी यायावर र पारिवारिक जीवनका लागि बाध्य पनि थिएनन् । विशेष गरी विदेशी सैनिक हुनुका नाताले आज एउटा देशमा छ त भोलि कुन देशमा पुग्ने हो ठेगान थिएन । उनको विवाह प्रस्तावप्रति उत्साहित नहुनुमा केटीको अभिभावकलाई दोष दिन पनि मिल्दैनथ्यो ।

हाम्रो नैतिकता पनि कुनै उच्चकोटिको त थिएन । प्रेमका लागि चर्चको अनुमति आवश्यक हुँदैन । खास गरी विदेशी सैनिकका लागि त झन् हुने कुरै भएन । मित्र राष्ट्रसित सामना हुँदै छ भन्ने तथ्यले पनि यहाँनेर कुनै अर्थ राख्दैन । प्रेम र युद्धमा सबै थोक जायज हुन्छ । हामीले उनलाई सकेको गर्न सल्लाह दियौँ । मलाई विश्वास छ, यदि केटीले आफ्नो सम्भ्रान्त माहोल र उच्च संस्कारको प्रदर्शन नगरेकी भए यसो गर्थे पनि होलान् । प्रेम आफैँमा भगवानको रूप र देन हो भनेर केटीलाई सम्झाउने पनि कोही थिएन । उसले मेजरमाथि आफू उसकी पत्नी नबनी सुखी रहन नसक्ने भन्दै दबाब दिन थाली । मेजर यसै गर्ने थिए यदि केटी एक्लै आएर उनीसित पादरीकहाँ गएर सरसल्लाह गरेकी भए । जसले गर्दा चुपचाप बिहे गर्ने बाटो खुल्थ्यो ।

यो आस गर्न लायकको मामलो थिएन । मेजरलाई नराम्रोसँग अस्वीकार गरियो । यी सब घटनाव्रmमले मेजर पहिलेको भन्दा पनि चिन्तित रहन थाले । उनले न त कहिल्यै भट्टीतिर आँखा लगाए न त कहिल्यै साँझको रङ्गीन संसारतिर नै । उनी भोजभतेरमा पनि कहिल्यै सामेल भएनन् । उनले कसैको निम्तो स्विकारेनन् । उनको धेरै जसो समय वृद्धाको निगरानीमा घरमै बित्थ्यो । उनले कहिल्यै पनि आफ्नी प्रेमिकाको हात एकान्तमा थामेका थिएनन् । न त कहिल्यै मिठा मिठा प्रेमिल कुरै गर्न सकेका थिए । नाचगनका व्रmममा एक दुई कुराबाहेक अरू कुरा हुन सकेन । 

कैयौँ महिना बिते, मेजरले प्रेमको यस खेलमा खासै केही गर्न सकेनन् । आखिरकार ठुलाबडा सतर्क भए । छोेरी प्रेममा पागल भएको उनीहरूलाई थाहा भयो । अभिभावकले छोरीका लागि केटो खोेजे । केटीले योे कुरो थाहा पाउनासाथ रोइकराई गरी अनि आफूलाई कोठामा बन्द गरी । 

यसले खासै असर गरेन बरु बिहेको तयारी जोडतोेडले   चलिरह्यो । नजिकैको केटासित उसको बिहे हुने भयो । केटो धनी र खानदानी थियो । उसको परिवार समाजमा प्रतिष्ठित थियो । केटी उसलाई घृणा गर्थी । मेजरप्रति उसको प्रेम झनै गाढा हुँदै गयो । ऊ प्रार्थना गर्दै रही साथै अथाह वेदना लिएर रोइरही । आमाबाउको सोच थियो, यदि छोरीहरूले बाबुआमाको कुरा नसुन्ने हो भने यस संसारको के हालत होला ?

विवाह घोषणाको केही दिनपछि प्रीति भोजको मिति तय भयो । केटी खुलेर विरोध गर्न सक्दिनथी तर अन्तरआत्मैदेखि उसले विरोध जारी राखेकी थिई । ऊ आफ्नो भावी पतिप्रति तिरस्कार गर्थी । उसले आफ्नी बफादार नोकर्नीमार्फत मेजरलाई चिठी पठाई । उसले मेजरलाई बिहेको एक दिनअघि राति आफ्नो कोठामा बोलाएकी थिई । 

उसले भनेकी थिई सब ठिकठाक छ । यसको सङ्केत स्वरूप ऊ झ्यालमा एउटा सेतो रुमाल बाँध्नेछे । ऊ झ्यालबाट छिरेर कोठाभित्र पस्न सक्ने छ ।

उसले लेखी, “यो मेरो निराशा हो, जसले मलाई यस्तो कदम चाल्न बाध्य पारेको छ । मेरो स्वभावले मलाई पहिला यस्तो कदम चाल्न रोकेको थियो । म तिम्रै मात्र हुन चाहन्छु, मात्रै तिम्रो ।”

त्यो दिन पनि आयो । सूर्यास्त भएको थिएन । सूर्यास्तपछि ब्रिगेडको मद्दतका लागि तुरुन्त जेनेभा प्रस्थान गर्न रेजिमेन्टका नाममा एउटा पत्र लिएर सन्देशवाहक आइपुग्यो । 

त्यस दिन, त्यस घडी एउटा सपना साकार हुँदै थियो, एउटा अधुरो इच्छा पूर्ति हुँदैथ्यो, त्यो रात जब खुसीको द्वार खुल्दैथ्यो, एकाएक अन्धकार छायो । मेजरलाई यस कर्तव्य बिर्सेर अर्कै खालको मोर्चामा अग्रसर हुनुपर्ने भो, जहाँ चुम्बन र प्यारका अलावा सबै थोक न्यौछावर गर्नु थियो ।

तर तत्कालै किन ? बिहान या आधा रातपछि किन नहुने ? शत्रुसित भिड्नु या मर्नु या आफैँ मर्नु बहुत जरुरी नै हो ? एक दिन या केही घण्टा पर सार्न मिल्दैन ? अन्य कुनै बहाना बनाएर प्रस्थान अलि पर सार्न सकिन्न ? सन्देशवाहकले अलि ढिलो गरेको भए के बिग्रन्थ्यो ? ढिलो पुग्दा कसले दोषी ठहराउने ?

केही समयका लागि पागलपन, कर्तव्य र सम्मानको द्वन्द्व उसको अन्तरात्मामा घमासान रूपले चल्न थाल्यो । उनले सोच्यो अलि ढिलो भयो कि कैयौँ सहयोगीको ज्यान जान सक्छ । युद्धमा ठुलो जनधनको क्षति हुन सक्छ । शत्रुलाई लाभ हुन सक्छ । अघि बढ् र आदेशको पालन गर् । सिपाही ! आदेशको पालन गर् । अघि बढ्नुको विकल्प छैन ।

उनले आदेश जारी गरे । आकाशमा तारा चम्किनासाथ रेजिमेन्ट आफ्नो बाटो लाग्यो । केटीको घरको बाटो भए अघि बढ्दै गर्दा बिहेको माहौलमा खलल नपुगोस् भनेर मेजरले बिगुल बन्द गर्ने आदेश दिए ताकि उसकी प्रेमिकाले प्रतीक्षाको पीडा सहुन्जेलसम्म यसको आनन्द लिन सकोस् । 

झ्यालमा सेतो रुमाल बाँधिएको थियो, जुन हावा बन्द भएकाले निरुत्साहित देखिन्थ्यो । 

“छिटो गर, छिटो सहरबाट बाहिर निस्किनासाथ उसले पहाडबाट सहरतर्फ फर्केर हेरे । तातो हावाले गर्दा रुमाल हल्लिरहेको थियो र त्यसले अन्तिम बिदाइ गरिरहेको भान हुन्थ्यो । यस्तो लाग्थ्यो मानौँ मेजर पनि दर्द भरिएको बिदाइ देखेर खुइ-य गर्दैथे ।

खालि घोडाको टापको आवाजले मात्रै पूरै माहोललाई गुन्जायमान गरेको थियो । बिस्तारै सहर टाढिँदै थियो भने सत्रु नजिकिँदै थिए ।

मेजरले आफ्नो दोस्रो मोर्चा राम्रोसित सम्हाले । यदि आधा घण्टा मात्रै ढिलो भएको भए सत्रु सेनाले चारैतिरबाट घेरेर ताण्डव मच्चाइसक्ने थियो । त्यो जोशको मिलन स्थल थियो । 

उनी मिलनको बिचमा थिए । मेजरलाई यसको पुरस्कार आफ्ना मानिसको जितका रूपमा प्राप्त भयो तर उनले आफ्नो प्राणको आहुती दिनु प-यो । मेजर रणभूमिमा सहिद भए किन्तु उनी आत्मसम्मान बचाएर गए । मेजरको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि जब सहरमा ल्याइयो त्यति बेला पनि त्यो रुमाल हावामा फर्फराइरहेको थियो ।   मधुपर्क

अनुवादक : बद्रीप्रसाद घिमिरे