• २० असोज २०८१, आइतबार

छोडवा (कथा)

blog

बिहानदेखि बाहिर निस्केको छोरा मध्य दिन हुँदा पनि फर्केको छैन  । अरू दिन बिहानै बाहिर निस्के पनि सामान्यत ऊ खाने खाने समयमा फर्कन्थ्यो । तर आज मध्य दिन भइसक्यो कहाँ गयो होला ? परिवारका सबै सदस्य वरपर, टोल छिमेकमा सबै ठाउँमा सोधखोज गरे, साँझ पर्दै गयो, परिवारमा चिन्ता बढ्न थाल्यो । कहाँ जाने, के गर्ने, सबैलाई अन्योल भयो । 

सहरबाट गाउँमा छुट्टी मनाउन आएको आज सात दिन मात्रै भयो । अझै उसले तीन हप्ता छुट्टी गाउँमै बिताउनुपर्ने छ । ऊ फेरि पढ्न सहर जान्छ । बिस्तारै वरपर अध्याँरो छायो । कुकुरहरू भुक्न थाले । यस्तै माहोलको बिच एक्कासि साना एक हुल बच्चाहरूका साथमा छोराको पनि उपस्थिति देखियो  । खुसी र आवेशका साथ बुवा आमाले एकै चोटि छोरालाई कराए तर ऊ केही बोलेन । 

परिवारका कसैले पनि त्यसपछि केही भनेनन् । साथीहरू सबै फर्किए । बिस्तारै फकाएर बुवाले र सोधे बाबु आज तँ दिनभरि कहाँ हराइस्, हामीलाई कति चिन्ता भयो । 

ऊ हौसिँदै भन्न लाग्यो । हामी सबै साथी चाँदीखोला पारिको जङ्गलमा गयौँ । भोलवा त रुख पनि चढ्दो रहेछ । रुखबाट टिपेर हामीलाई जामुन खुवायो । मैले पहिलो चोटि जामुन खाएको कति मिठो हुँदो रहेछ । फर्कंदा गाउँको पोखरीमा नुहायौँ । त्यसपछि जोखन, छठु र चुलाईले मलाई गाउँ डुलायो । घुम्दा घुम्दै साँझ प-यो । त्यसैले ढिला भयो । बुवाले भने, “ल छोरा जे भयो भयो । अब यसरी जङ्गल जाने र पोखरीमा पौडी खेल्ने नगर्नू ।”   

आज फेरि ऊ खाना खाएपछि परिवारको आँखा छलेर घरबाट निस्क्यो । पोखरीको डिलमा उसका साथीहरू पर्खिरहेका थिए । आज थप तीन जना केटीहरू पनि थिए । भोलवाले सबै साथीहरूसँग चिनजान गरायो । सतवरिया सुमरिया र धनवन्ती भन्दै भोलवाले नाम बतायो । छोडवा पट्टि देखाउँदै भन्यो हाम्रो मालिकको छोडा÷ ऊ सहरमा पढ्छ । धनवन्तीले सोधी सहर भनेको के हो ?  गाउँका साथीहरू कसैसँग पनि यसको जवाफ थिएन । छोडवाले भन्यो मैले पढ्ने ठाउँ हो । 

सबै पालैपालो लुगा खोलेर नाङ्गै, पोखरीमा हाम फाले । एतवरिया र सुमरिया पनि नाङ्गै पोखरीमा हाम फाली । धनवन्तीले भने बाहिरै बसेर सबै जना नुहाएको हेरिराखी । सबैले पोखरीबाट छोड्वाले भने आज केटीहरू पनि भएकाले नाङ्गै नुहाउने आँट गरेन ।  डिलमै बसे र अरूले नुहाएको हेरिरह्यो ।

लामो समय पोखरीमा डुबुल्की मारेर रमाइलो गरेपछि भोलवाले चाँदी पारिको जङ्गल जाने र जामुन टिपेर खाने सल्लाह ग¥यो । तर छोडवाले भने मानेन र घर फर्कियो । समयमै छोरा आएको देखेर घरमासबै खुसी भए । 

अर्कौ दिन छोडवाको घरमा पूजा भएकाले ऊ बाहिर जान मिलेन । साथीहलाई नदेखेपछि उनीहरू टोली नै छोडवालाई लिन घरमा आए । ऊ पूजामा बसेको थियो  । उसको ग्रहशान्ति र मङ्गल कार्यका लागि यो पूजा लगाइएको थियो ।

साथीहरूले बोलाए, छोडवा.. छोडवा.. यसैबिच बुवाको कानमा आवाज ठोक्कियो, आवाज आएतिर गएर हेर्दा एक हुल केटाकेटी लुकेको देखे । बुबाले सोधे, कसलाई खोजेको ?  भोलवाले भन्यो– छोडवालाई । छोडवा को हो ? सँगै रहेका केटीहरू केही बोलेनन् ।

केटाहरू र बुवाको संवाद सुनेर छोडवा टाटीको छेउमा आयो । केटाकेटी सबै खुसी भए । बुवाले सोधे– बावु को हो छोडवा ?  उसले भन्यो– मै हुँ,  बुवा छक्क पर्दै भने, तँ छोडवा कसरी ? भोलवातिर देखाउँदै भन्यो– यसले राखिदिएको । 

जवाफमा भोलवाले भन्यो– यही सुनेको, उसलाई बोलाउँदा सुनेको । बुवाले लख काट्न सकेनन् । धेरैबेर सोचे कसरी छोडवा भयो, कसैले उसलाई छोडवा भनेका पनि छैनन् ।

यसैबिच पण्डितजी पनि कराए, छोरालाई पठाइदिनु प-यो । यो छोरा भन्ने शब्द सुनेर भोलवाले भन्यो– ऊ यसरी नै त हो नि हामीले सुनेको ।

बुवाले भने– हामीले त छोरा भनेका हौँ । छोडवा हैन । 

विशेष गरी तराईको ग्रामीण बस्तीमा हरेक शब्दका पछाडि ‘वा’ लगाउने चलन हुन्छ । केटाकेटीहरू पनि यो शब्दबाट अभ्यस्त हुन्छन् । खास नाम त छोरा थियो तर गाउँमा छोराबाट छोडा र वा लगाएर छोडवा भयो । बुवाले सम्झे सायद छोराबाट छोडवा भयो । सत्यता पनि यही थियो ।

साँझ घरपरिवारमा छोडवाको विषयमा चर्चापरिचर्चा भयो  । परिवारमा हाँसो चल्यो । ऊ भने लाजले भुतुक्कै भयो । 

घरबाट अब उसलाई गाउँ डुल्ने कुरामा कडाइ हुन थाल्यो । किनकि चाँडै अब अध्ययनका लागि सहर जानु थियो । चाडपर्व र लामो बिदामा मात्रै ऊ गाउँ आउँथ्यो । सहरको होस्टलको बसाइ अनि पढाइको चाप र मिल्ने साथीहरूको अभावमा उसको बसाइ उकुसमुकुस नै हुन्थ्यो । त्यसैले पनि उसलाई गाउँघर, साथीभाइ, हरियाली, प्रकृति रमाइलो लाग्थ्यो । 

अर्कौ दिन फेरि उनीहरूको जमघट भयो । छोडवा त्यस दिन साथीहरूलाई भेट्न मात्र गएको थियो, उसले भन्यो, भोलि बिहानै  म पढ्न सहर जानु पर्छ । अब फेरि बिदामा आउँदा त पक्कै भेट भैहाल्छ, । साथीहरू निराश भए । 

भोलवाले भन्यो, भोलि कति बेला जाने ? बिहानै जाने, केटीहरूलाई पनि म गएको कुरा भनिदेऊ है । ऊ साथीहरूसँग छुट्टिएर घरतिर लाग्यो । पर जाउन्जेलसम्म पनि साथीहरूले उसलाई हेरिरहे । 

बिहान, घर अगाडि सानो गाडी देखा प-यो । छोडवा निधारमा रातो टीका लगाएर अगाडिको सिटमा बस्यो । उसको बुवा पनि सँगै हुनुहुन्थ्यो । गाडी के अगाडि मात्रै बढेको थियो भोलवाले बाटोमै रोकेर छोडवालाई प्लास्टिकको झोलामा ल्याएको सामान हातमा राखिदियो । राम्रोसँग पनि एकले अर्कालाई हेर्न सकेनन् । झोला खोलेर हेर्दा झिल्ली, कचडी र मुरी थियो । उसले यसलाई जतन साथ राख्यो ।

जति जति गाडी सहर जानका लागि अगाडि बढ्थ्यो त्यति त्यति उसको मनमा अनेक कुरा खेल्थे । जङ्गल गएको, जामुन खाएको, साथीहरूको करमा पोखरीमा नाङ्गै नुहाएको । गाउँघर डुलेको, कति हो कति  । यादहरू पनि कहिले गाउँ त कहिले होस्टलको । गाडीमा उसले कुनै संवाद पनि गरेन ।

केही समयमा ऊ होस्टल पुग्यो । होस्टलका साथीहरू सबै ऊतिर नै झुम्मिए । तर उसलाई सँगै बस्ने भए पनि सबै अनुहार अपरिचित जस्तो लागिरहेको थियो । 

बुवा र काम गर्ने मान्छे फर्कन लागे । मन नलागी नलागी विस्तारै बुवालाई हात हल्लायो । अब फेरि छिट्टै गाउँ जाने मिठो कल्पनासहित होस्टलको कोठाभित्र छि-यो ।  

चन्द्रपुर, रौतहट    मधुपर्क