• १२ असोज २०८१, शनिबार

क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

blog

बनेपा समाचारदाता  

बनेपा, साउन २३ गते । भवन तथा बस्नका लागि पर्याप्त जग्गा नहुँदा कारागार कार्यालय काभ्रेपलाञ्चोकमा क्षमताभन्दा साढे तीन गुणा बढी कैदी र थुनुवा बस्न बाध्य भएका छन् । भवन र जग्गा अभावमा ८५ जना क्षमताको कारागारमा अहिले ३१२ जना कैदी र थुनुवा बस्दै आएका छन् । 

तीन रोपनी आठ आना तीन दाम क्षेत्रफल रहेको कारागारको दुई रोपनी सात आना तीन दाममा कैदीबन्दी राख्ने भवन निर्माण भएको छ । कार्यालयका कारागार प्रशासक जीवन निरौलाले पछिल्लो समय कारागारमा सबैभन्दा बढी जबरजस्ती करणीका कैदी र थुनुवा रहेको बताउनुभयो । उहाँले कारागारमा जबरजस्ती करणी मुद्दाका ३४ जना कैदी र ८२ जना थुनुवा गरी कुल ११८ जना रहेको बताउनुभयो । कर्तव्य ज्यान मुद्दाका १२ जना कैदी र ३० जना थुनुवा, सवारी ज्यान/अङ्गभङ्ग मुद्दाका १८ जना कैदी र ११ जना थुनुवा, डाँका÷चोरी÷नकवजनी चोरीका ११ जना कैदी र १७ जना थुनुवा, ज्यान मार्ने उद्योगका कैदी र थुनुवा गरी ११ जना, लागुऔषध मुद्दाका १३ जना, मोटरसाइकल÷स्कुटर चोरीका १२ जना कैदी र थुनुवा रहेको कारागार प्रशासक निरौलाले बताउनुभयो । 

यस्तै सहकारी ठगीका १० जना, सरकारी छाप किर्ते ठगीका आठ जना, अभद्र व्यवहारका एक, मानव अपहरण तथा शरीर बन्धकका दुई, मानव बेचबिखन, जिउ मास्ने बेच्ने तीन, बहुविवाह÷बालविवाहका छ जना, अप्राकृतिक बाल यौन दुराचारका पाँच जना, हातहतियार तथा खरखजानाका एक, बैङ्किङ कसुर ऐनका छ जना, बोक्सी आरोप, विद्युतीय कारोबार, लेनदेन बिगो, गौवधका एक÷एक जना कैदी तथा बन्दी रहेका छन् । त्यस्तै जबरजस्ती करणी उद्योगका छ जना, आगो लगाएको दुई जना, वन्यजन्तु ऐन मुद्दाका तीन जना र कुटपिट/अङ्गभङ्ग मुद्दाका दुई जना रहेका छन् । कारागार कार्यालयमा हाल कैदी ११७ जना र थुनुवा १९५ जना छन् । कुल कैदी र थुनुवामा १० जना मानसिक रोगी छन् भने ६५ वर्षमाथिका कैदी चार जना र थुनुवा पाँच जना छन् । 

हाल कारागार रहेको स्थानमा विसं २०५२ भन्दाअघि मानसिक रोगी राख्ने केन्द्रका रूपमा सञ्चालन भएको २०५२ सालपछि भने कारागार कार्यालयका रूपमा सञ्चालनमा ल्याइएको थियो । कारागार प्रशासक निरौलाले पुरानो भवन र स्थान अभावका कारण कैदीबन्दीलाई खान, बस्न, मनोरञ्जन, खेलकुद र सिपमूलक कार्य गर्न समस्या भएको बताउनुभयो ।