मकवानपुर, साउन २२ गते । काठमाडौँबाट हेटौँडातर्फ जोड्ने कान्तिलोकपथ अन्तर्गत पर्ने ललितपुरको भट्टेडाँडा, बागमती गाउँपालिका-२ पाङ्दुरे र छबेनीमा सोमबार पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा आएको छ । पहिरो हटाएपछि आज दिउँसोबाट हेटौँडा काठमाडौँतर्फको यातायात सञ्चालनमा ल्याइएको ललितपुरको भट्टेडाँडा इलाका प्रहरी कार्यालयले जनाएको छ ।
त्यसैगरी उक्त लोकपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-८ महादेवटारस्थित सडकमा गएको पहिरो पन्छाएर सोमबार नै एकतर्फी हलुका सवारीसाधन सञ्चालनमा ल्याइएको थियो । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ओम पण्डितले महादेवटार क्षेत्रको सडकका तीन स्थानमा ठुलो पहिरो गएकाले हेबी सवारीसाधन सञ्चालनमा ल्याउन अझै केही दिन लाग्ने बताउनुभयो ।
उक्त सडकको दुवैतर्फको टेवा पर्खाल, ढल निर्माण र सडक फराकिलो गर्नुपर्ने बाध्यता भएकाले अझै एक हप्ताभन्दा बढी समय लाग्ने अनुमान गरिएकाले हेबी सवारी साधनलाई त्रिभुवन राजपथलगायत वैकल्पिक राजमार्ग प्रयोग गर्न सुझाव दिइएको उहाँले जानकारी दिनुभयो । यसै गरी हेटौँडाबाट काठमाडौँतर्फ त्रिभुवन राजपथ, हेटौँडा भीमफेदी-कुलेखानी-सिस्नेरी, फाखेल र मातातीर्थको सडकमा दैनिक यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ । रासस