लमजुङ, साउन २२ गते । यहाँस्थित जिल्ला कारागारमा आर्थिक अनियमितता र बेथिति भोग्नु परेको कैदीबन्दीले गुनासो गरेका छन् । कारागारमा आर्थिक अनियमिता, आन्तरिक मूल्यवृद्धि र मनोमानी हुने गरेको गुनासो कैदीबन्दीले गरेका हुन् ।
यहाँ आन्तरिक प्रशासनको जिम्मेवारी पाएकाहरूबाटै कैदीबन्दीले उपभोग गर्ने सामानको मिलेमतोमा बजारमूल्यभन्दा बढी रकम लिने, खाना पकाएको पैसा असुल्ने, तरकारीजन्य सामान खरिद, औषधि उपचारमा अनियमितता र मनोमानी हुने गुनासो बढेको हो । कारागारमा तरकारी पकाउँदा ८० देखि एक सय तिर्नुपर्ने, मासु पकाउँदा एक सय दिनुपर्ने र पैसाबाहेक प्याज, टमाटर छुट्टै किन्नुपर्ने, कैदीबन्दीले पाउने सिद्धा रकम दैनिक ८० र सात सय ग्राम चामलमा समेत अनियमिता हुने गरेको गुनासो कैदीबन्दीको छ ।
हाल कारागारमा एक सय १३ कैदीबन्दी छन् । उक्त सङ्ख्या अनुसार दैनिक नौ हजार ४० सिद्धा रकम र करिब ८० केजी चामल उपलब्ध हुने गरेको छ । मासिक दुई लाख ७१ हजार दुईसय सिद्धा रकम र २४ क्विन्टल चामल उपलब्ध हुने गरेको छ । सो कारोबारबाट दैनिक चार हजार र २० केजी चामल बचत हुने भए पनि त्यसको पारदर्शिता नदेखिएको कैदीबन्दी बताउँछन् ।
प्यारोल र लगत पठाउँदा चौकीदारले एक हजार पाँच सयदेखि दुई हजार पाँच सयसम्म माग्ने गरेको उनीहरू बताउँछन् । अस्पतालमा उपचार गर्दा ५० प्रतिशत खर्च आफैँले तिनुपर्ने र नाइके तथा चौकीदारबाट हातपात हुने गरेको उनीहरूको भनाइ छ । पहिलो पटक आउने कैदीबन्दीबाट पाँच सय आन्तरिक कोषका लागि भन्दै असुल्ने गरेको र सो रकम दिन नसके वा नदिएमा दुई हप्तासम्म भाँडा माझ्न, शौचालय सरसफाइ गर्न लगाउने गरेको कैदीबन्दीले बताएका छन् ।
सो विषयमा कैदी विष्णु गिरी थापा र अशोक दवाडीलगायत सँग बुझ्न खोज्दा भन्न चाहेनन् तर केही समयअघि कारागारबाट कैद भुक्तान गरेर निस्किएका कैदीबन्दीले उक्त गुनासो सत्य भएको बताएका छन् । कारागारमा केही वर्षअघि चौकीदार र हाल नाइके रहनुभएका शम्भुलाल श्रेष्ठले तरकारी र खानाको जिम्मा लिँदै आउनुभएको छ । उहाँले अनियमितता नगरेको बताउनुभयो । तरकारी किलोकै दुई सयसम्म पर्ने र कहिले अण्डा, कहिले मासु खुवाउने गरेको श्रेष्ठले बताउनुभयो ।
दैनिक १५–१६ किलो तरकारी चितवन र विभिन्न स्थानबाट ल्याएर गुणस्तरीय खाना खुवाएको उहाँको भनाइ छ । उहाँले केही रकम बच्ने गरेको स्वीकार गर्दै सो रकम आन्तरिक कोषमा जम्मा गर्ने गरेको बताउनुभयो । उहाँले पहिलो चोटि आएका कैदीबन्दीबाट आन्तरिक कोषका लागि पाँच सय रकम उठाउने गरेको र सो रकम दिन नसक्ने वा नदिनेलाई दुई हप्तासम्म जुठो भाँडा माझ्न, शौचालय सफा गर्न लगाएको स्विकार्नुभयो । “भनेर नमान्ने कैदीबन्दीलाई तर्साउन हातपात गर्छौ, के गर्नु भनेर नमान्नेलाई यसरी गर्नुपर्छ”, उहाँले भन्नुभयो । केही वर्षपहिले त लात्तीले मुर्छा पर्ने गरेर हिर्काउने गरिएकामा अहिले त्यसो नगरिने उहाँले सुनाउनुभयो ।
उहाँले आफैँ कारागार आउँदा आन्तरिक कोषका लागि भनी १० हजार मागेको र पछि पाँच हजार फिर्ता पाए पनि पाँच हजार बुझाउनु परेको बताउनुभयो । नाइके श्रेष्ठले भन्नुभयो, “यहाँ यसरी रकम माग्ने र सजाय दिने तथा हातपात गर्ने चलन पहिलाबाटै हो ।” आन्तरिक कोषमा जम्मा गरिएको रकमबाट बिरामी कैदीबन्दीका लागि आकस्मिक काममा खर्च गर्ने गरिएको उहाँको भनाइ छ ।
चौकीदार खुसीराम मगरातीले आफू साउनबाट मात्र चौकीदार रहेकाले केही अनियमितता नगरेको बताउनुभयो । आफू चौकीदार भएपछि मूल्यवृद्धि नगरी सरकारले तोकेको मूल्यमा सामान उपलब्ध गराउन, कुनै कैदीबन्दीलाई हातपात नगर्न नाइके लगायतलाई भन्ने गरेको बताउनुभयो । अस्पतालमा कैदीबन्दी बिरामी भएर उपचार गर्दा ५० प्रतिशत रकम आफैँले तिर्नुपरेको गुनासो उहाँको छ । “म चौकीदार हुनुअघि चैतमा ज्वरो आएर लमजुङ अस्पताल उपचार गर्न पुगेको थिएँ । त्यहाँ उपचार गर्दा दुई हजार छ सय खर्च भयो, मैले सबै बिल बराबरकै रकम बुझाएँ तर एक हजार आठ सय मात्र पाएँ”, चौकीदार मगरातीले भन्नुभयो ।
कारागार प्रशासनले यस विषयमा गम्भीर अनुसन्धान गरी कैदीबन्दीहरु माथि हुने शोषण, दमन नियन्त्रण गर्नुपर्ने कारागारबाट कैद भुक्तान गरी निस्किएका कैदीबन्दीहरुको भनाइ छ । कारागारभित्र कैदीबन्दीले खुलेर समस्या राख्न नसक्ने भएकाले सो समस्याबारे कसैलाई भन्न नसक्दा सो कारागारमा अनियमितता हुँदै आएको केही महिनाअघि कारागारबाट छुट्नुभएका रोशन तामाङले जानकारी दिनुभयो ।
कारागारका निमित्त जेलर सुमिता मरासिनीले भन्नुभयो, “कारागारका यो विषयमा बल्ल जानकारी पायौँ, हामीलाई थाहा थिएन, हामी यस विषयमा छानबिन गर्छौ ।” हातपात हुने गरेको, आन्तरिक कोषका लागि रकम उठाउने र नदिनेलाई सजाय दिने गरेको समेत भर्खरै थाहा पाएको उहाँले बताउनुभयो । “हामीले कैदीबन्दीको खर्च सबै मेडिकल नाइकेलाई नियमअनुसार पठाएका छौँ तर सबै रकम कैदीबन्दीले नपाएको बल्ल थाहा भयो । यी विषयमा हामी कदम उठाउँछौँ”, उहाँले भन्नुभयो ।
प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले यस विषयमा हालसम्म केही जानकारी नभएको बताउनुभयो । “त्यहाँ शङ्का गर्न सकिन्छ, प्रमाण त छैन । साँच्चिकै नियम हुनुपर्छ, सिस्टमभन्दा बाहिर जान मिल्दैन तर जेलभित्र उनीहरूको पनि छुट्टै शासन हुन्छ”, प्रजिअ गुरुङले भन्नुभयो, “ठुला कारागारमा पनि यस्तो शासन हुन्छ तर त्यहाँ केही अनियमिततालगायत समस्या भएको छ भने हेर्छु, यसमा मेरो ध्यान गएको छ ।” रासस