• १२ असोज २०८१, शनिबार

बाढी र लेदोको कारण बिपी राजमार्ग अवरुद्ध

blog

पहिरोका कारण अवरुद्ध सडक खुलाउने प्रयास गर्दै नेपाली सेना । तस्विर : जिप्रका काभ्रे

केदार तिमल्सिना

बनेपा, साउन २२ गते । अविरल वर्षाका कारण बिपी राजमार्गको काभ्रेपलान्चोक सडक खण्ड अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बिपी राजमार्ग अन्तर्गत जिल्लाको रोशी गाउँपालिका–११ स्थित माम्ती खोलामा आएको बाढी र लेदोको कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

प्रहरीले बाढी र लेदोको कारण मङ्गलबार ११ः१५ बजेदेखि राजमार्ग अवरुद्ध भएको जनाएको छ । बाढी र लेदोका कारण अवरुद्ध भएको राजमार्ग खुलाउनका लागि डिभिजन सडक कार्यालय, स्थानीय तह र सम्बन्धित निकायसँग पहल भइरहेको प्रहरीले जनाएको छ । यस्तै वर्षाका कारण अरनिको राजमार्गको धुलिखेल–खावा सडक खण्डमा पहिरो आउँदा अरनिको राजमार्ग समेत अवरुद्ध भएको छ । 


मङ्गलबार बिहान करिब ११ बजेको समयमा धुलिखेल नगरपालिका–७ ल्याण्डफिल्ड साइड नजिकै सडक माथिबाट रुखसहित आएको पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले नेपाली सेना, नेपाल प्रहरीको सहयोगमा पहिरोसँगै आएको रुख कटान राजमार्ग एकतर्फ रूपमा खुलाइएको बताउँदै पहिरोका कारण बिद्युतको तार चुँडिएकोले नेपाल विद्युत प्राधिकरणको कर्मचारी टोलीले तार जोड्ने काम समेत अघि बढाएको बताउनुभयो ।