• ८ पुस २०८१, सोमबार

कम्प्युटरको सुरक्षा कसरी गर्ने ?

blog

भाइबहिनीहरू, अहिले पनि विद्यालयको कम्प्युटर ल्याब (कोठा) मा जाँदा जुत्ता खोल्नु पर्छ होला, हैन ? कम्प्युटर ल्याबमा जुत्ता लगाएर जाँदैमा के होला भन्ने मनमा लाग्न सक्ला । कम्प्युटर ल्याबमा जुत्ता लगाएर गयौँ भने जुत्तासँगै धुलो र अन्य फोहोर प्रवेश गर्न सक्छन् । कम्प्युटर ल्याबभित्र फोहोर जान नपाओस् भनेर बाहिर जुत्ता खोल्ने गरिएको हो । कम्प्युटर ल्याबमा जुत्ता लगाएर गयो भने भाइरस सर्छ भन्ने कुरा सरासर गलत हो । त्यसैले कम्प्युटर ल्याबमा धुलो नहोस् भनेर कतिपय विद्यालयले जुत्ता बाहिर राख्ने व्यवस्था गरेको हुन्छ । कतिपयले जुत्ता लगाएर पनि जान दिएका हुन्छन् । 

कम्प्युटरलाई सुरक्षित राख्नु नै कम्प्युटर सुरक्षा हो । कम्प्युटर सुरक्षा गर्नु भनेको कम्प्युटर प्रणाली, हार्डवेयर, सफ्टवेयर वा इलेक्ट्रोनिक डाटाको गलत प्रयोग, चोरी वा क्षति हुन नदिनु हो । त्यसो भए कम्प्युटरलाई सुरक्षित कसरी बनाउने ? कम्प्युटरलाई सुरक्षित राख्न विभिन्न उपाय छन् । कम्प्युटरमा छुन सकिने कुरा (हार्डवेयर), छुन नसकिने कुरा (सफ्टवेयर), कम्प्युटरलाई अन्य कम्प्युटरसँग जोड्ने माध्यम (नेटवर्क) र कम्प्युटरमा भण्डारण गरिएका कुरा (डाटा) यी सबैको सुरक्षा गर्नु पर्छ । 

हार्डवेयरलाई सुरक्षित गर्न उचित वातावरण वा तापक्रम मिलाएर राख्ने, समय समयमा यसको मर्मत तथा अपग्रेड गर्नेलगायतका कुरा पर्छन् । सफ्टवेयरको सुरक्षाका लागि भरपर्दो एन्टिभाइरस राख्ने, सुरक्षित पासवर्ड राख्ने, बेला बेलामा सफ्टवेयरको नयाँ संस्करण अद्यावधिक (अपडेट) गर्नेलगायतका काम गर्नु पर्छ । नेटवर्कको सुरक्षा भनेको सुरक्षित रूपमा एक कम्प्युटरबाट अर्को कम्प्युटरमा सूचना, डाटा वा सन्देश लिन वा दिन इन्टरनेटको प्रयोग गर्दा चनाखो हुनेलगायतका कुरा पर्छन् । विश्वमा अहिले डाटाको सुरक्षा निकै चुनौतीपूर्ण छ । 

भाइरस भनेको सूक्ष्मदर्शक यन्त्र (माइक्रोस्कप)को सहायताले मात्र देख्न सकिने अत्यन्तै सूक्ष्म जीवाणु हुन् । भाइरसले कहिलेकाहीँ अत्यन्तै खतरनाक रोग फैलाइदिने गर्छ तर यहाँ हामीले जैविक भाइरसका बारेमा नभई कम्प्युटरमा लाग्ने भाइरसका बारेमा बताउन लागेका छौं  । कम्प्युटर भाइरस जीवाणु होइन बरु कम्प्युटर प्रोग्राम हो । यो प्रोग्राम प्रयोगकर्ताको अनुमतिबिना कम्प्युटरमा पसिदिन्छ । यसले कम्प्युटरमा नचाहिँदा काम गर्नुका साथै कम्प्युटरमा भएका सफ्टवेयर र फाइललाई समेत हानि पु¥याउँछ । 

कम्प्युटरमा लाग्ने भाइरस कोड वा कोडको समूह हो । जसले आफैँ कोड फैलाउँछ । भाइरसको प्रवृत्ति र प्रकृति अनुसार डाटा डिलिट गर्ने, फाइलको नाम परिवर्तन गर्ने, स्क्रिनमा विभिन्न सन्देश आएर दुःख दिने, फाइलमा रहेका डाटा तथा प्रोग्राम नष्ट गर्ने वा परिवर्तन गर्नेलगायतका समस्या देखिन्छन् । यसको सङ्क्रमण भएका कम्प्युटर वा मोबाइल, ट्याबलगायतका उपकरणको सफ्टवेयरका साथै हार्डवेयरमा समेत समस्या उत्पन्न हुने गर्छ । 

कतिपय कम्प्युटर प्रोग्रामरले यस्ता नचाहिँदा कम्प्युटर भाइरस मनोरञ्जनका लागि मात्र बनाएका हुन्छन् भने कतिले कसैको गोप्य सूचना चोरेर रकम माग गर्ने उद्देश्यले बनाएका हुन्छन् । सन् १९८६ मा पहिलो पटक कम्प्युटरमा भाइरस देखा परेको थियो । त्यो भाइरसलाई ब्रेन नाम दिइएको थियो । हाल यो भाइरस हराइसकेको छ । 

हामीले चलाउँदै गरेका कम्प्युटरको सुरक्षाका लागि धेरै कुरामा ख्याल गर्नु पर्छ । आफ्नो डिजिटल डाटा सुरक्षित राख्ने र भाइरस लाग्न नदिनलाई चनाखो हुनु पर्छ । एन्टिभाइरस वा इन्टरनेट सेक्युरिटी राख्ने, पेन ड्राइभ तथा स्टोरेज डिभाइस प्रयोग गर्दा विचार पु¥याउने, इन्टरनेटबाट मुभि, फाइल, डाटा तथा सफ्टवेयर डाउनलोड गर्दा ख्याल गर्ने, कुनै पनि कुरामा शङ्का लाग्यो भने अनलाइन भाइरस स्क्यान गर्ने गरिएमा सुरक्षित हुन सकिन्छ । 


साउन मुना २०८१