• १२ असोज २०८१, शनिबार

कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग

blog

किमाथाङ्का (सङ्खुवासभा) साउन २१ गते । नेपाल विद्युत प्राधिकरण कार्यालय सङ्खुवासभामा कार्यरत कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गरिएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती जिल्ला कार्यसमिति सङ्खुवासभाले आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै कारबाहीको माग गरेको हो ।  

यही साउन १४ गते विद्युत महसुल नतिरेपछि लाइन काटेको र लाइन जोड्न धम्की दिँदै मादी नगरपालिका-४ ओखरबोटका लक्ष्मण लिङ्थेप र हर्कहाङ लिम्बूले शाखा कार्यालय मादीका इन्चार्ज राजकुमार र ओजेटिमा खटिएका विद्यार्थीमाथि कुटपिट भएको थियो । कार्यालय परिसरमा प्रवेश गरेर कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको सङ्गठन निजामतीका जिल्ला अध्यक्ष भोलामान राईले जानकारी दिनुभयो ।

कार्यालय परिसरभित्रै पसेर राष्ट्रसेवक कर्मचारीमाथि कुटपिट गरिनु दुःखद भएको र यस्ता हर्कतले कर्मचारीको मनोबल कमजोर भई सेवा प्रवाहमा गम्भीर असर पर्ने उहाँले बताउनुभयो । मादीका लक्ष्मण लिङ्थेपको क्रसर उद्योगले ६ लाखभन्दा बढी बक्यौता नतिरेपछि लाइन कारिएको थियो । 

कुटपिटको आरोपमा लिङ्थेप र लिम्बूविरुद्ध गत साउन १५ गते इलाका प्रहरी कार्यालय चैनपुरमा अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता भएको छ । उजुरी लगत्तै उनीहरू फरार छन् । कर्मचारीमाथि कुटपिट भएपछि मादीमा रहेको प्राधिकरणको कार्यालय साउन १५ गतेदेखि बन्द रहेको छ । कार्यालय बन्द भएपछि सेवाग्राही मारमा परेका छन् । रासस