• १२ पुस २०८१, शुक्रबार

मर्यादित मिडियाले नागरिकको मर्यादा जोगाउँछ : राष्ट्रपति पौडेल

blog

तस्बिर : रासस

काठमाडौँ, साउन २१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले मिडियाको मर्यादित भूमिकाबाट मात्र आम नागरिकको मर्यादा र सम्मान जोगिने बताउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आफूसँग भेट गर्न आएका काउन्सिलका पदाधिकारीसँग उहाँले त्यसका लागि प्रेस काउन्सिल नेपालको भूमिका महत्त्वपूर्ण बताउनुभयो ।

राष्ट्रपति पौडेलले नयाँ मिडियाले ल्याएका चुनौतीलाई सम्बोधन गर्ने गरी काउन्सिलले आफ्ना गतिविधि केन्द्रित गर्नुपर्ने सुझाव दिनुभयो । काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतसहितको टोलीले नेपाली मिडियामा देखिएका पछिल्ला प्रवृत्ति, समस्या, नयाँ प्रयोगबारे संक्षिप्तरुपमा अवगत गराएको थियो ।

उहाँले युट्युबसहित सामाजिक सञ्जालमार्फत चलेका सञ्चार माध्यमलाई नियमन गर्न काउन्सिलले विभिन्न काम गर्दै आएको जानकारी दिनुभयो । भेटमा काउन्सिलका तर्फबाट अध्यक्ष बस्नेत, बोर्ड सदस्यहरू दुर्गा भण्डारी पौडेल, लालबाबु शेष, रामप्रसाद दाहाल र मुख्य अधिकृत झविन्द्र भुसाल हुनुहुन्थ्यो । साथै राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेल भेटमा सहभागी हुनुहुन्थ्यो । रासस