• १६ भदौ २०८१, आइतबार

कर्णाली विकट होइन, विराट छ : उपसभापति खड्का

blog

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का काठमाडौँमा पुनः प्रदर्शनमा आउन लागेको चलचित्र बुलाकीको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्नुहुँदै ।

काठमाडौँ, साउन २१ गते । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णाली विकट नभई विराट रहेको बताउनुभएको छ । सोमबार काठमाडौँमा पुनः प्रदर्शनमा आउन लागेको चलचित्र बुलाकीको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले कर्णाली पहिला विकट भए पनि अहिले विराट रहेको बताउनुभयो । उहाँले कर्णाली सभ्यता, स्रोत, साधनले भरिपूर्ण रहेको उल्लेख गर्नुहुँदै मुलुकको सबै तहमा हस्तक्षेप गर्ने क्षमता अब कर्णाली प्रदेशमा रहेको जिकिर गर्नुभयो ।

उपसभापति खड्काले कर्णालीको स्रोत साधनको उपयोग गरेर देशलाई पनि सम्पन्न बनाउनुपर्ने बताउनुभयो । उहाँले कर्णालीको कला, संस्कृति र सभ्यतालाई विश्वभर पुर्याउने क्रममा सबैले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने औँल्याउनुभयो । उहाँले कर्णालीमा प्रज्ञा प्रतिष्ठान बन्न नसकेको बारेमा आफू पनि अनविज्ञ रहेको बताउनुभयो ।

उपसभापति खड्काले भन्नुभयो, ‘‘जहाँसम्म कर्णालीको कुरा छ, कर्णालीलाई विकट भनिन्छ, कर्णालीलाई विराट भन्नुपर्ने बेला आउँदै छ । कर्णाली सभ्यता, स्रोत, साधन, मुलुकको सबै तहमा हस्तक्षेप गर्ने क्षमता अब कर्णाली छ । कर्णालीको स्रोत साधनको उपयोग गरेर १५ वर्ष भित्र हामी सिङ्गो मुलुकलाई कर्णालीको विराट स्रोत साधनबाट सम्पन्न देशलाई नै बनाउँदै छौँ । कर्णाली कुनै बेला विकट थियो, अब विराट छ ।’’

अभिनेत्री सुरक्षा पन्तले कर्णाली समृद्ध ठाउँ भएको बताउनुभयो । उहाँले धर्म, संस्कृति, प्रकृति, जीवनशैलीले कर्णाली समृद्ध रहेको बताउनुभयो । कर्णाली सिनेमाका लागि अथाह सम्भावनाको क्षेत्र बन्नसक्ने जिकिर गर्नुभयो ।

उहाँले कर्णालीको सुन्दरतालाई अहिलेसम्म पनि देखाउन र ल्याउन नसकिएको बताउनुभयो । कर्णालीको बारेमा नयाँ पुस्तालाई बुझाउन र चिनाउन सक्नुपर्ने बताउनुभयो ।