• ८ पुस २०८१, सोमबार

‘रङ्गमञ्च अझै सोचेजस्तो भएको छैन’

blog

सुकृत नेपाल

काठमाडौँ, वैशाख २२  गते । रङ्गमञ्चमा अभिरुचि राख्नेबीच पशुपति राईको बेग्लै पहिचान छ । राई रङ्गमञ्चमा प्रवेश गर्नुभएको १८ वर्ष भइसकेको छ । तीन दर्जनभन्दा बढी नाटकमा उहाँले अभिनय गरिसक्नुभएको छ भने केही चलचित्र र थुप्रै म्युजिक भिडियोमा पनि उहाँले अभिनय गरिसक्नुभएको छ । हालैमात्र नयाँ चलचित्र ‘आँखा’मा अनुबन्धित हुनुभएकी राईसँग रङ्गमञ्चको यात्राबारे गरिएको कुराकानी ।

आजकल केमा व्यस्त हुनुहुन्छ ? 

हालै म चलचित्र ‘आँखा’मा आबद्ध भएकी छु । केही समय अब त्यसैको सुटिङमा व्यस्त हुन्छु । हामीले अर्को एउटा चलचित्रको काम पनि गरिरहेका छौँ । अब त्यो पनि चाँडै सुरु गर्ने सोच छ । 

कति भयो रङ्गमञ्चमा लाग्नुभएको ? 

म रङ्गमञ्चमा २०६० सालमा प्रवेश गरेकी हुँ । त्यसभन्दा अघि धरानमा मैले रङ्गमञ्चसम्बन्धी केही काम गरेकी थिएँ । रङ्गमञ्चमा पूर्ण रूपले लागको १८ वर्ष भयो । 

तपाईंले अभिनय गर्नुभएको पहिलो नाटक ?

मैले अभिनय गरेको पहिलो नाटक गुरुकुलमा भएको ‘बाघभैरव’ हो । 

अहिले रङ्गमञ्चको अवस्था कस्तो देख्नुहुन्छ ? 

रङ्गमञ्चलाई लकडाउनले धेरै असर गरेको थियो । कोरोनापछि रङ्गमञ्च केही जुर्मुराउन थालेको छ । नाटक मञ्चन हुन थालेका छन् तैपनि यसलाई एकदमै राम्रोचाहिँ भन्न मिल्दैन । हामी रङ्गमञ्चमा लाग्नेहरू यसमा आफ्नै तरिकाले लागिरहेका छौँ । हामीले सक्दो गरिरहेका छौँ । रङ्गकर्मीहरू जतिसक्दो आफ्नो सामथ्र्यले भ्याएसम्म रङ्गमञ्चलाई कसरी अझ राम्रो बनाउने भनेर लागिरहनुभएको छ । कतिबेला के हुन्छ कसैलाई थाहा छैन । सहरमा नाटक मञ्चन भएका हिसाबले त राम्रै हो तर रङ्गमञ्चको भविष्य भने अझै सोचेजस्तो भएको छैन । 

अहिले त नाटक गरेर राम्रो पारिश्रमिक पनि पाइन्छ नि, होइन ?

हो, अहिले नाटकबाट पारिश्रमिक राम्रै पाइन्छ । हाम्रा दर्शक पनि सीमितै छन् । थिएटर हल पनि प्रायःले आफ्नै व्यक्तिगत तवरले चलाइरहेका छन् । यसले गर्दा अहिले नाटक गरेर बाँच्न सकिन्छ भनेर ढुक्क हुने बाटो खुलेको छ । 

तपाईंले चलचित्रमा पनि काम गर्नुभएको छ ?

मैलै एकदमै थोरै चलचित्रमा काम गरेकी छु । हातमै गन्ने हो भने त्यस्तै पाँचवटा जति पुग्छन् होला । 

चलचित्र र नाटकमा के फरक छ ? 

चलचित्र र नाटकमा प्रविधिमात्र फरक छ । चलचित्रमा अलि चर्को प्रस्तुति हुन्छ भने नाटकमा त्योभन्दा अलि कम हुन्छ । तर, चलचित्र र नाटकमा जुन भावना प्रस्तुत गरिन्छ त्यो फरक हुँदैन । मैले नाटकमा जुन भावना देखाउँछु, त्यही कुरा मैले चलचित्रमा पनि प्रस्तुत गर्न सक्छु । त्यसैले चलचित्र र नाटकमा हल्का फरक छ भन्नुपर्छ । 

अहिले त म्युजिक भिडियोमा पनि धेरै देखिन थाल्नुभएछ ?

महामारीले गर्दा म्युजिक भिडियो धेरै नै बन्न थालेका थिए । थोरै समय पनि लाग्ने र थोरै मान्छेबाटै काम गर्न सकिने हुँदा पनि कोरोना कहरबीचमा धेरै म्युजिक भिडियो बने । जुन एउटा आम्दानीको राम्रो स्रोत पनि बन्यो । यो हिसाबले पनि मलाई धेरै अफर आए र मैले म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाएकी हुँ । 

चलचित्र, रङ्गमञ्च र म्युजिक भिडियोमा कुन सजिलो ?

काम भनेको कति समय दिनुपर्छ भन्नेमा निर्भर हुन्छ । फेरि काम कहिले पनि सजिलो हुँदैन । यी सबै एउटैजस्तै हुन्, केवल यसमा लाग्ने समयको मात्र कुरा हो । समयकै हिसाबले हेर्ने हो भने म्युजिक भिडियो नै सजिलो हुन्छ । नाटकमा रिहर्सल एकदमै ढिला हुन्छ । एक÷दुई महिना पनि लाग्न सक्छ । चलचित्रको पनि अहिले कार्यशाला हुन्छन् । त्यसमा चलचित्रबारे गन्थन–मन्थन गरिन्छ । त्यसैले सबैमा आ–आफ्नो चुनौती छ ।