• १२ पुस २०८१, शुक्रबार

फरेन चप्पल (कथा)

blog

जुनेली रात थियो । रात प्रगाढ र सघन हुँदै गए पनि आँगनभरि जूनका स्नेही थोपाहरू भने तपतप चुहिरहेका थिए, भर्खरै नुहाएकी कुनै नवयौवनाको केशराशिबाट पानीका थोपा चुहिरहे झैँ । चकमन्न व्याप्त थियो । जूनको प्रकाशमा वरपरका गाउँबस्ती, खेतबारी र खोलाखोल्सी मधुरो प्रतिविम्ब सँगाल्दै निदाइरहेका थिए । 

“ढक...ढक...।” कसैका बिनाआवाज ढोका ढक्ढक्याइएको सुनियो । पहिलो पटक ढक्ढक्याइएको एकाध मिनेटपछि फेरि उही आवाज । ढक...ढक... । ढोकाको आवाजसँगै बुवाआमा ब्युँझिनुभयो । उहाँहरूका सोच–समझपूर्ण ब्युँझाइसँगै मेरा पनि आँखा उघ्रिए । 

ढोकाभन्दा ठिक माथि थियो, झ्याल । अति विपन्न । धुवाँले शतप्रतिशत गिजोलेको । त्यो झ्यालमा मेरो जीवन्त प्रतिविम्ब अल्झिएको यियो । झ्याल नजिकैको कोठामा बुवा, आमा र म सुत्थ्यौँ । 

झ्याल उघार्दै, धेरै दिनदेखि थलिएको बिरामीको जस्तै मलिन स्वरमा बुवाले सोध्नुभयो, “को हँ, यति राति राति ?”

“म । म क्या भेनाजु ।” स्वर तिक्खर थियो । 

“को हँ ? मैले चिन्न सकिनँ त !” बुवा अक्मकाउनुभयो । र, जुनेली रातले आत्मीय स्पर्श गरेको आँगनतिर नजर पोख्नुभयो । 

“हैन, यो त लाटेको स्वर जस्तो पो छ त !” आमाले झ्यालबाट चियाउँदै भन्नुभयो, “हो, लाटे नै हो । त्यसको स्वर उस्तै रहेछ, पहिला जस्तै । केही बदलिएको रहेनछ । फर्किएर आएछ, बरा !” 

आमाले तत्क्षण टुकी बाल्नुभयो । सलेदो सकिन–सकिन लागेको टुकीले धिपधिपे स्वभाव मात्र देखाइरहेको थियो । 

बुवाआमा दुवै विलम्ब भाव प्रदर्शन नगरी तत्काल तल झर्नुभयो र ढोका खोल्नुभयो । 

घरभित्र एक जना नौलो मानिसको प्रवेशलाई हामीले स्विका-यौँ । 

“दिदीभेना ढोगेँ मैले ।” बुवाआमा दुवैलाई पालैपालो ढोगेपछि एउटा बडेमानको ब्याग आँटीनिर राखे, ती मानिसले । त्यो नितान्त नौलो ब्याग थियो । त्यस्तो ब्याग हाम्रो घरभित्र दैलो नाघेर प्रथम पटक प्रवेश गरेको थियो । कहिल्यै देखेका थिएनौँ । टुकीको मरन्च्याँसे उज्यालोमा पनि त्यो ब्याग चम्किरहेको थियो । कुनै ग्रह चम्किए जस्तै । 

“भान्जा बाबु हो ?” मतिर हेर्दै सोधे । 

“अँ, हो । तेरो कान्छो भान्जा हो ।” मतिर पुलुक्क हेर्दै आमाले भन्नुभयो, “माइला र जेठो चाहिँ पल्लो घरमा सुतेका छन् ।”

बोली नटुङ्ग्याउँदै आमाको आँखा पिल्पिलाउन थाल्यो । अवरुद्ध गलाले अपूरा वाक्यहरू निकाल्न थाले, “यतिका वर्षपछि बाबु... कसरी सम्झिएर आइस् ? हाम्ले त...।”  

“भो ! नरुनुस् दिदी ! यस्तै भो । के गर्नु ? लेकिन बाध्यताले गर्दा धेरै वर्ष अर्कैका मुलुकाँ बस्नुप-यो ।” त्यो माहोललाई सामान्यीकरणको दिशातिर डो-याउँदै ती मानिसले भने । 

“खाना खा’को छ कि छैनस् ?” आमाको प्रेम–वाक्य पोखियो । 

“भो, दिदी ! यति राति दुःख गर्नु पर्दैन । सिउरानी फेदीको पसलमा टन्नै दहीचिउरा खाएर उकालो लागेको हुँ ।” आँखामा चमक उमार्दै उनले भने, “अहाँ ! फेदीको दहीचिउरा खान नपाएको पनि वर्षौं भएछ । आज खाँदा आँत नै फेरिएर आयो मेरो त ।” फेरि थपे, “भोलि खाउँला । आज थकाइ पनि लागेको छ । भोलि नै सबै कुरा गरौँला ।” 

उनका अनुहारमा थकानका अजस्र विम्बहरू तैरिइरहेका थिए । कुनै तलाउमा तैरिएका पातहरू झैँ । निश्चिन्त/निद्र्वन्द्व । 


“चिन्यौ तिमेरुले ?” हामी तिनै दाजुभाइलाई लस्करै उभ्याएर आमाबुवा दुवैले सोध्नुभयो । हामी हुरीबतासमा अल्झिएका पन्छीहरू झैँ अन्योलग्रस्त थियौँ । आमाले मुख खोल्नुभयो, “बरा, के चिन्थे यिनीहरूले ? यो पहिल्यै हिन्या हो, हाम्लाई छाडेर । तिमेरुका मामा हुन् । मैले कहिलेकाहीँ तिमेरुलाई भन्थेँ नि ! हो, उनै मामा हुन् ।” 

“कहाँ बस्नुहुन्थ्यो ?” ठुल्दाइको कौतूहलता पोखियो । 

“लेकिन, म अचेल कलकत्तामा बस्छु भान्जा ! यो जगह छाडेर हिँनेपछि इन्डियाका धेरै मोहल्लाहरूमा भौँतारिएँ । पछि कलकत्तामा एउटा कम्पनीमा राम्रो जब पाएँ । त्यहीँ जबमै अल्झिएँ र उतै बसेँ ।” फुल्न फुल्न लागेको कपालतिर औँला पु¥याउँदै उनले भने । 

“तँ घर छाडेर हिँड्दाखेरि यो त्यस्तै २–३ वर्षको मात्रै थियो । तँसँग कत्ति झ्याम्मिन्थ्यो !” ठुल्दाइतिर औँल्याउँदै आमाले भन्नुभयो, “पछि तँलाई सम्झिएरै होला, यो त रोएकै रोए गथ्र्यो ।” 

“अरे ! मैले ठुल्भान्जालाई खेलाएको त थाहा छ नि ! यत्रा भइसकेछन् । बढ्न के गाह्रो रहेछ र !” मामाले भन्नुभयो, “थोडै, म कहाँ बिर्सन्छु र ? यी भान्जाले मेरो ज्यानमै कति पटक सुइँक्याइदिएका थिए !”

हामी सबै हाँस्यौँ । खुसी र पीडामिश्रित, दुवै श्रेणीका हाँसो । 

“दिदी ! तिन्टा भान्जा मात्रै हो ?”

“हैन, एउटी भान्जी पनि छे । बिहे भइसक्यो । लालबन्दी पुगेकी छे ।” आमाले सहज भावमा भन्नुभयो ।


त्यस दिनदेखि हाम्रो घरसंसारलाई खुसीको माहोलले लपेट्दै लग्यो । कसैका नामकरण गर्न हामी पनि उस्ताद नै थियौँ । त्यसै दिन हामीले मामालाई एउटा उपनाम दियौँ, “कलकत्ते मामा !” 

“ल, यो टिसर्ट ठुल्भान्जालाई...।”

“यो हाफपाइन्ट चाहिँ अर्का भान्जालाई...।”

“यो, यो अर्को...।”

“दिदीलाई यो...।”

“भेनालाई यो...।”

“टिसर्ट”, “हाफपाइन्ट” जस्ता शब्द मैले त्यही समय पहिलो पटक सुनेँ । देखेँ पनि प्रत्यक्षतः । ती हाम्रा लागि नितान्त नयाँ प्रतीत हुन्थ्यो । 

कलकत्ते मामाले हामी सबैलाई नयाँ नयाँ कपडा र अरू सामानहरू ल्याइदिनुभएको थियो । धेरै आकर्षक । बिनाशुल्क पनि । दसैँको मुखैमा मामाको आगमन भएको हुँदा यस पटकको दसैँ रमाइलो गरी मनाइने निश्चित थियो । 

कुनै मतुवालीको घरको जाँड जस्तै अझै छिप्पिइसकेको थिएन जाडो । चिसो भने व्रmमशः शैलुङको उत्तुङ शिखरतिर चढ्दै थियो । यस पटकको जाडोमा शैलुङ हिउँको भारी बोकेर उकालो चढ्ने सर्वत्र अनुमान लगाइँदै थियो । 

“तँ फर्किने गरी आएको होस् कि...?” अगेनाछेउ ठुलो गिलासमा दुध पिउँदै गरेका मामालाई आमाले अथाह मुस्कान उमार्दै सोध्नुभयो । सोध्दै गर्दा आमा बडेमानको कराहीमा दुध उमाल्न व्यस्त हुनुहुन्थ्यो । 

“लेकिन, म त फर्किने गरी नै आएको हुँ नि, दिदी !” शब्दमा देसी–लवज मिसाउँदै मामाले भन्नुभयो, “छुट्टीमा आएको हुँ । राम्रो कम्पनीमा काम पाइया छ । तलब–सुविधा सबै राम्रो । कहाँ नफर्किने कुरा हुन्छ र ? म त उतै रमाउन थालिसकेको छु ।” 

“यत्तिका वर्ष कसरी हाम्लाई माया मारेर बस्ने सकेको होला, यल्ले !” आमाले दुःखेसोका जस्केलो बिस्तारै उघार्दै भन्नुभयो, “चिठीपत्र पठाए पनि हामी ढुक्क त हुन्थ्यौँ नि ! न चिठीपत्र, न कुनै खुट्खबर ! तँ त निष्ठुर नै भइस्, बाबु !” 

कलकत्ते मामा मौन हुनुभयो । र, कराहीमा भक्भक उम्लिरहेको दुधतिर एक टङ्कारले हेर्नुभयो ।

आमाको दुःखेसोमा अझै पूर्णविराम लागिसकेको थिएन, “कुनै खुट्खबर नपाउँदा हाम्ले त तँलाई माया मारिसकेका थियौँ ।”

फेरि गहभरि आँसु जमाउँदै भन्नुभयो, “लाहुर जानेहरूलाई तेरो खबर बुझ्नू है भनेर कति पटक भन्यौँ । कसैले पनि तँ कहाँ छस् भनेर खबर ल्याउन सकेनन् । उनीहरूले चासो नदिएका हुन् कि के हो ? केही थाहा भएन । तँलाई थाहै छ, दसैँ–तिहारछेक लाहुरेहरू घर फर्किन्थे । उनीहरूलाई देख्दा तँलाई सम्झिँदै मेरा आँखा डब्डबाउँथे । पोहोर साल पल्लो टोलको रामवीरे दमै धेरै वर्षपछि घर फिरेको थियो । काँधमा रेडियो झुन्ड्याउँदै ऊ दिनभरि गाउँ घुमेको थियो । रामवीरेलाई देख्दा तँ पनि कुनै दिन फर्किएर आउँछस् भन्ने लागेको थियो ।”

यस पटक भने आमाको अनुहार केही उज्यालियो । 

धेरै भावुक मुद्रामा कलकत्ते मामाले भन्नुभयो, “म यी खोलाको सुसाइ, खोल्सीहरूका कुल्कुलाहट, चरीहरूका चिरबिर गान, तह तह परेका खेत, देउरालीको चिसो हावा, खन्यु, नेवारो, फँडिर, पुराउनी, अर्चल, मछिना, घँगारु, ऐँसेलु, अँगेरीका स्वादहरू कहाँ भुल्न सक्थेँ र !”

अगेना नजिकैको मूल खाँबोनिर दही मथिरहेका बुवाले सोध्नुभयो, “अनि जोडा बाँधेका छौ कि छैनौ, साला !”  

कलकत्ते मामा फिस्स मात्र हाँस्नुभयो । बिल्कुल उत्साहहीन हाँसो । 

“कि उतै जोडा बाँधिसक्यौ ?” बुवाको जिज्ञासाको सतह गहिरिँदै थियो ।

“छैन, भेना, छैन । लेकिन बिहे जस्तो कुरा कहाँ सजिलो छ र !” मामाले फेरि फिस्स हाँस्दै भन्नुभयो । 

“अब त उमेर पनि ढल्किसक्यो । उमेर ढल्केपछि कसैले पत्याउँदैनन् । बिहेवारी गर्नतिर मन लगा है, बाबु अब । फेरि बुढेसकालमा दुःख पाइन्छ ।” बुवाले अर्तीमय भाषामा भन्नुभयो र आफ्नो कर्ममा निमग्न रहन थाल्नुभयो । 

कलकत्ते मामा छुट्टी सिध्यिएर फर्किन केही दिन मात्रै बाँकी थियो । उहाँ पुनः कलकत्तामा नै फर्किने दिनहरू नजिकिँदै गर्दा म भने भित्रभित्रै बेचैन हुँदै थिएँ । मामा फर्किने खबर सुनेपछि म फागुन–चैतका दिनहरूमा चुरे शृङ्खलाका होचा होचा पर्वतशृङ्गका वृक्षहरू झैँ काँप्न थालेँ र मेरा शरीरबाट पहेलिँदै गएका पातहरू झर्न थाले । बिस्तारै÷बिस्तारै ।  

करिब एक डेढ महिना उहाँसँग बिताएका पलहरू अति नै सुखद् र स्मरणीय थिए । 

एक दिन भने हामीले कलकत्ते मामालाई बिदाइ ग-यौँ । बेखुसीका अनन्त सिँढीहरू उक्लिँदै । सामान्य बेचैन थियौँ हामी । आमा त धेरैबेरसम्म रोइरहनुभयो । बिदाइका बेला उहाँ शुष्क देखिनुहुन्थ्यो, “अर्को वर्षको दसैँमा आइज है । हामी छौँ भन्ने कुरा नबिर्सेस् ।”

आखिर केही दिनको बसाइपछि कलकत्ते मामा फर्किनुभयो । 

कलकत्ते मामा फर्किनुभएकोमा हामी पूरै बेखुसी थियौँ । भोलिपल्ट भने एउटा खुसीको क्षण उद्घाटित भयो । त्यही दिन हामीले पिँढीनिर देख्यौँ– एक जोर नयाँ चप्पल ! निक्खुर हरियो रङको । कुनै नवयौवना जस्तै । शतप्रतिशत भर्जिन, मूल्यवान् र आकर्षकसमेत । 

“लौ, त्यल्ले त नयाँ चप्पल छाडेर गएछ । बिर्सेर गएको हो कि, छाडेर गएको हो ?” आमाले त्यो चप्पलतिर आँखा गाड्दै आश्चर्य मान्नुभयो । 

“किन छाडेर गएछ, यो चप्पल ?” चप्पलतिर नजर गाड्दै बुवा पनि चकित देखिनुभयो । 

नयाँ चप्पल फेला परेको सुखद् खबर हामीबिच यति चाँडै फैलियो कि जसरी कोरोना भाइरस फैलिएको थियो, विश्वव्यापी रूपमा । सबैलाई चकित तुल्याउने गरी । त्यो चप्पल हाम्रा लागि नयाँ भाइरसभन्दा कुनै पनि हिसाबले पृथक् थिएन । हामी तिनै दाजुभाइ उपस्थित भयौँ, त्यो चप्पल हेर्न । कुनै भोकाएको सिंहले हृष्टपुष्ट हरिणलाई आँखा गाडे जस्तै हामी तिनै जनाले त्यो नयाँ र आकर्षक चप्पलतिर आँखा लगाइरह्यौँ । एकोहोरो । मुग्ध हुँदै । 

“म लगाउँछु यो चप्पल ।” चप्पलको चमकदमकतिर आँखा बिछ्याउँदै जेठोको उत्साह पोखियो । 

“हैन, म लगाउँछु ।” माइलोले अर्धप्रतिशत दाबीयुक्त स्वरमा भन्यो । 

“म लगाउँछु, म ।” दह्रो दाबीसहित मैले भनेँ । 

आमा–बुवा दुवै मौन । उहाँहरूका मुखबाट एक शब्द पनि चुहिएनन् । उहाँहरूका भूमिका निरीह साबित देखिन्थ्यो । 

त्यो चप्पलमा हामी तिनै जनाको दाबी रह्यो । दह्रो र सार्थक दाबी । त्यति मूल्यवान् र आकर्षक चप्पलमा सबैले दाबी गर्नु स्वाभाविक पनि थियो । आखिर, “फरेन चप्पल” न प¥यो ! 

“यो चप्पलको साइज अरूलाई मिल्दै, मिल्दैन । हेरेरै थाहा हुन्छ नि ! यो चप्पलको साइज त मलाई मात्रै मिल्छ ।” जेठोले पिँढीनिर निर्निमेष टोलाइरहेको चप्पलतिर तीव्र गतिमा दृष्टि प्रक्षेपण गर्दै भने, “यो चप्पल पक्कै पनि मलाई नै मामाले छाडेर जानुभएको हो । मेरो खुट्टाको साइज थाहा पाएर नै मामाले मलाई नै छाडेर जानुभएको हो ।” माइलो पनि के कम ! अलि उग्र स्वभावका उनले प्रतिवाद गर्दै भने, “यो अलि मझौला खालको चप्पल हो । दाइभाइ दुवैलाई ठिक हुँदैन । यो मामाले मलाई नै छाडेर जानुभएको हो । म अहिल्यै लगाउँछु । यो चप्पल मलाई मामाले नै छाडेर जानुभएको हो । अरू कसैले दाबी गरे भने...।”

म फुत्त अघि सरेँ र भनेँ, “दाइहरूलाई भन्दा धेरै माया गर्नुहुन्थ्यो, मामाले मलाई । मलाई त्यो तलको गल्ली, चौर, देउरालीसम्म मामाले डो¥याएर लैजानुहुन्थ्यो । कति माया गर्नुहुन्थ्यो ! यो चप्पल मलाई नै छाडेर जानुभएको हो ।”

हामी तिनै दाजुभाइले चप्पलप्रति आआफ्नो दाबीपत्र पेस ग-यौँ । सबैका तर्क उम्दा थिए तर फैसला सुनाउने तहमा भने बुवाआमा हुनुहुन्थ्यो । धेरै दिन प्रतीक्षा गर्दा पनि बुवाआमाले कुनै फैसला सुनाउनु भएन । हामी उहाँहरूका फैसलाको ढिलाइप्रति मुर्मुरिएका थियौँ । 

हामीले प्रतिवाद गरेकै दिन पिँढीमा अलपत्र पल्टिरहेको चप्पललाई बुवाले सुरक्षित स्थानमा लगेर थन्क्याउनुभयो तर हामीले बुवाआमालाई आआफ्नै तर्कसहित त्यो चप्पल आफूले लगाउन पाउनुपर्ने जिकिर गरिरह्यौँ । हाम्रो प्रयत्न जारी रह्यो । 

एक दिन बुवाआमाले अप्रिय कुरा गर्नुभयो, “तिमेरुका मामा त्यत्रो वर्षपछि फर्किनुभएको थियो । त्यो चप्पल बिर्सेर गएका होलान् । आउँदो सालको दसैँमा पनि आउने कुरा छ । आउँदाखेरि त्यो चप्पल खोजे भने हाम्ले के जवाफ दिने ? अहिल्यै यो चप्पल तिमीहरूले लगाउने कुरा नगर ।” तत्क्षण बुवाले एउटा उपाय निकाल्दै भन्नुभयो, “हिन्ने बेला मैले उनको पत्ता टिपेको छु । म चिठी पठाएर यो चप्पल कसलाई छाडेका हुन् भनेर सोधुँला । जवाफ आएपछि तिमीहरूमध्ये कसैले यो चप्पल पाउने छौँ । अहिले झगडा नगर ।” 

बुवाको कुरा जायज लाग्यो हामीलाई ।

बित्यो दुई महिना । तीन महिना पनि कट्यो तर कलकत्ते मामाको कुनै जवाफ आएन । चौथो महिना कटेपछि भने एउटा सुखद् जवाफ आयो, “भेना, त्यो चप्पल मैले बिर्सेर आएछु । योन्जन बुढाको घरभन्दा माथिको चौतारीमा आएपछि मैले चप्पल छाडेर आएको सम्झिएँ । ...तिनै जना भान्जा मेरा लागि बराबरी हुन् । मैले छाडेर आएको चप्पल सबै भान्जाले पालैपालो लगाए हुन्छ ।”

चिठी पाएलगत्तै बुवाले थन्क्याएर राख्नुभएको त्यो नयाँ चप्पल खोल्नुभयो । एउटा प्राचीन बोराभित्र थन्क्याएर राखिएको त्यो नयाँ चप्पल लगाउन हामी आतुर थियौँ । जस्तो कि हामीले त्यो फरेन चप्पल लगाउने बराबर हकअधिकार पाएका थियौँ । 

अफसोच ! जब बुवाले त्यो चप्पल राखिएको बोरा खोल्नुभयो, बिल्कुलै सकुशल थिएन । पूरै धुजा धुजामा अनूदित । सम्भवतः मुसा वा अरू चप्पल–कटुवाहरूका अतिव्रmमणको सिकार हुन पुगेको थियो । हामी तिनै दाजुभाइ त्यो मृत चप्पल हेर्दै केही क्षण टोलायौँ र केही क्षण त्यो मृत चप्पलतिर अपलक नजर बिछ्याउँदै मौनधारणसमेत ग¥यौँ । र, हामी एकअर्काका अनुहार हेरेर उदासीन बन्यौँ, धेरै क्षणसम्म ।  मधुपर्क