• १६ भदौ २०८१, आइतबार

नयाँ आयोजना नथप्न निर्देशन

blog

ललितपुर, साउन २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ कार्यक्रम र आयोजना थप नगर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहतका निकायलाई निर्देशन दिनुभएको छ । उहाँले बाटो छोटिने, दुर्घटना कम हुने र बढीभन्दा बढी जनता लाभान्वित हुने गरी पूर्वाधार निर्माणलाई अगाडि बढाउनसमेत निर्देशन दिनुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागको आर्थिक वर्ष २०८०/८१ को दुई दिवसीय वार्षिक प्रगति समीक्षा गोष्ठीको समापन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो निर्देशन दिनुभएको हो । 

यसअघि सुरु गरिएका आयोजना सम्पन्न गर्ने सरकारको योजना रहेको चर्चा गर्दै उहाँले चालु आयोजना सम्पन्न गर्नेतर्फ लाग्न कार्यक्रममा सहभागी भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेललगायत मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिनुभयो ।

कतिपय रणनीतिक महत्वको भनिएका सडकमा समेत १५ वर्षमा १५ प्रतिशत मात्र भौतिक प्रगति भएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “नयाँ बाटाहरूको निर्माण थाल्ने काम नगरौँ । अहिले चालु रहेका आयोजना सकौँ, छिटो सकौँ । जे निर्माण गर्छौं स्तरीय गरौँ ।” योजना निर्माण गर्दा गुणस्तरमा विशेष ध्यान दिन मन्त्रालयमातहतका निकायलाई निर्देशन दिँदै उहाँले सडकको सुरक्षा र मानिसको सुरक्षा हुने गरी चालु योजना सम्पन्न गर्न सम्बधित सबैको ध्यानाकर्षण गराउनुभयो ।

मानिसलाई आवश्यक नै नहुने वन र भिरमा सडक खनेर कुनै फाइदा नहुने स्पष्ट पार्दै उहाँले भन्नुभयो, “मानव बस्ती छुने र छोटो हुने गरी सडक निर्माण गर्न आवश्यक छ, अनावश्यक ठाउँमा सडक खोलेर उपयुक्त हुँदैन, भिरमा बाटो लगेर मानिसका लागि फाइदा हुँदैन, यसका लागि ध्यान दिन जरुरी छ ।”

राजनीतिक दल र नेताको दबाबमा पूर्वाधार विकासको काम नगर्न सुझाउँदै उहाँले यस प्रकारको विकासले जनतालाई फाइदा नहुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “एउटै खालका योजना पटक“ पटक बनाउने भन्ने हुँदैन, सडकको सुरक्षा र मानिसको सुरक्षा हुने गरी काम गर्नु आवश्यक छ ।” उहाँले विकास निर्माणको क्रममा वन विभागसँग समन्वय गर्नसमेत सुझाव दिनुभयो ।

चालु रहेका राष्ट्रिय गौरवका आयोजना र योजनाहरू गुणस्तरीय ढङ्गले छिटो सम्पन्न गर्न ध्यान दिन आग्रह गर्दै प्रधानमन्त्री ओलीले मध्यपहाडी (पुष्पलाल) राजमार्गको रामेछाप–नुवाकोट खण्ड र अन्य स्थानमा जनताको माग अनुसार रेखाङ्कन (एलाइन्मेन्ट) परिवर्तन गर्न निर्देशन दिनुभयो । उहाँले प्राविधिक क्षेत्रमा काम गर्दा हुन सक्ने मानवीय त्रुटिलाई सरकारले क्षमता दिन सक्ने तर भ्रष्टाचार सह्य नहुने स्पष्ट गर्दै इमानदार भएर काम गर्नेहरूले ढुक्कका साथ अगाडि बढ्न सक्ने बताउनुभयो । 

दुई लेनभन्दा साना सडक निर्माण नगर्न निर्देशन 

सो अवसरमा प्रधानमन्त्री ओलीले दुई लेनभन्दा साना सडक नबनाउनसमेत निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “डबल लेनभन्दा सानो बाटो बनाउँदै नबनाऊँ । जसोतसो बाटो बनाउने होइन, बाटो र मान्छे दुवैको सुरक्षाको प्रबन्धसहित सडक बनाउनु पर्छ ।” उहाँले किमाथाङ्का नाका जोड्ने सडक, कोरला नाका जाड्ने बेनी–जोमसोम–कोरला जानेलगायतका चीनका नाकाहरू जोड्ने सडकको प्राथमिकताका साथ निर्माण अगाडि बढाउन निर्देशन दिनुभयो ।

पछिल्लो दशक पूर्वाधार विकासको दशक

सो अवसरमा प्रधानमन्त्री ओलीले २०७० देखि २०८० सम्मको दशक नेपालको पूर्वाधार र आर्थिक विकासको दशक भएको चर्चा गर्दै पछिल्लो ७० देखि ८० को दशकमा नेपालमा राजनीतिक परिवर्तनको दशक मात्रै नभएर आर्थिक विकास र उन्नतिको दशकका रूपमा रहेको बताउनुभयो । उहाँले मुलुकको विकास प्रक्रिया ढिलो भए पनि पछिल्लो समय जनताको जनजीवनले आधुनिक युगमा प्रवेश गरेको दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो, “पछिल्लो समय हिँड्नलायक बाटोको अभियान चल्यो, विद्युत्को अभियान चल्यो । आइटीको सेक्टरमा अभियान चल्यो । देशभर अप्टिकल फाइबर बिछ्याउने काम भयो । जसले गर्दा फोरजी सेवा पुग्यो । हरेक क्षेत्रमा विकास भएको छ ।” नेपालमा योजनाबद्ध विकासको थालनी राजा महेन्द्रले गरे पनि त्यसले निरन्तरता पाउन नसकेको उल्लेख गर्दै उहाँले २०४६ सालपछि निजीकरणका कारण मुलुकको विकास, निर्माणको कामले गति लिने अवस्था बन्न नसकेको बताउनुभयो ।

पानीजहाज र रेलमार्ग विस्तारमा चासो

प्रधानमन्त्री ओलीले मुलुकलाई पानीजहाज र रेल यातायातको युगमा रूपान्तरित गर्न प्राथमिकता दिनुपर्ने बताउँदै भारतीय सिमाना सप्तरीको हनुमानगरदेखि नवलपरासीको त्रिवेणी र देवघाटसम्म पानीजहाज सञ्चालनको योजना ल्याउन भन्नुभयो । उहाँले भन्नुभयो, “पानीजहाजको तयारीसँगै हनुमाननगरमा एउटा बन्दरगाह बनाऔँ, भिसा सेन्टर खेलौँ । ठुला भन्सार पनि खोलौँ । सबै काम त्यहीँबाट हुन्छ । यसबाट ढुवानी क्षेत्रमा फड्को मार्न सकिन्छ ।”  

२०२७ सालमै पानीजहाजको कानुन बने पनि अहिलेसम्म सेवा सञ्चालन नहुनु विडम्बना भएको उल्लेख गर्दै उहाँले छिट्टै जल यातायात सञ्चालन हुने गरी काम गर्न आग्रह गर्नुभयो । पानीजहाजबाट सीमापारदेखि सामानहरू ल्याउन–लान सुलभ र छिटो हुने तथा यात्रुहरू पनि त्यसबाट ओहोरदोहोर गर्न सक्ने उहाँको भनाइ थियो । 

ओलीले भन्नुभयो, “पानीजहाजसँगै अब हामी रेल यातायातमा जानु पर्छ, हाल सञ्चालित कुर्था–जनकपुर रेलमार्गमा दुई वटा रेल थप्नु पर्छ । त्यहाँको मार्गलाई बर्दीबाससम्म ल्याउनु पर्छ । पूर्वपश्चिम रेलमार्ग विस्तार गर्नु पर्छ । काठमाडौँमा जमिनमुनि रेल चल्न सम्भव छैन भने स्काई रेल चलाउनु पर्छ ।’’

प्रधानमन्त्री ओलीले पूर्वपश्चिम रेल सञ्चालन भएपछि भारतीय पनि गुवाहटी र सिलिगुडीबाट नेपाल हुँदै छोटो मार्गबाट दिल्ली र हरिद्वारसम्म पुग्न सक्ने बताउनुभयो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गोष्ठीमा सडकको सीमाङ्कन तथा रेखाङ्कनको समस्या, मुआब्जा तथा क्षतिपूर्तिको समस्या, नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग छिचोलिएपछि त्यसको निर्माण तथा सञ्चालनको समस्या, निर्माण व्यवसायीको भुक्तानीको समस्यालगायतको विषयमा छलफल भएको जानकारी दिनुभयो ।