• १६ भदौ २०८१, आइतबार

‘तेस्रोलिङ्गीलाई हेर्ने दृष्टिकोण सकारात्मक छैन’

blog

काठमाडौं, साउन २४  गते । पिंकी गुरुङ जसलाई फरक पहिचान भएका तेस्रो लिङ्गीको गतिविधिसँग स्वयम् डर लाग्दथ्यो ।पुरुषको जैविक शरीरमा जन्मनुभएका पिंकीलाई हुर्कने, बढ्ने क्रममा जब परिवार र साथीभाइबिच छोरा मान्छेले यो गर्नुहुन्छ, त्यो गर्नुहुन्न भनेर बढीजसो प्रतिक्रिया आउन थाल्यो, तब उहाँ सोच्न बाध्य हुनुभयो कि वास्तवमा मेरो पहिचान के हो भनेर ।

आफैं केही बुझ्ने भएपछि पनि तेस्रो लिङ्गीलाई समाज र आम मिडियाले जुन रुपमा प्रस्तुत गरेको छ, त्यो स्वीकार्न उहाँ सहमत हुनु भएन । जसकारण, उहाँले त्यो समुदायबाट बार–बार अलग्गिने प्रयास समेत गर्नुभयो । उहाँको जन्म २०३५ पुस ५ गते लमजुङमा भएको हो । परिवारमा दुई जना दाइको निधन भएपश्चात् उहाँको बुवाले काठमाडौं बसाइ सर्ने निधो गर्नुभयो । त्यतिबेला पिंकी ६ महिनाको मात्र हुनुहुन्थ्यो । 

उहाँले भन्नुभयो, “बाल्यकालमा मेरो लैङ्गिक प्रस्तुतीकरण, हाउभाउ बालकको तुलनामा फरक हुने गर्दथ्यो । कस्तो केटी जस्तो ! तँ यसरी नहिँड भन्ने कमेन्ट आइसेकेपछि सोच्न बाँध्य भएँ कि, म अरुभन्दा फरक रहेछु । समाजले मलाई पुरुष बन्न सिकाइराथ्यो । म अप्राकृतिक र गलत रहेछु, सुध्रनुपर्छ भनेर मैले आफूले आफैंलाई नै दबाएर राखेको अवस्था थियो ।”

पछिल्लो तथ्याङ्कअनुसार देशभर यो समुदायको जनसङ्ख्या २९ सय २८ जना रहेको जानकारी दिनुभयो ।

एक समय हो, पिंकी बेला–बेला बेहोस् हुने, आत्तिने, डराउने, निन्द्रा नलाग्ने किसिमको रोगबाट अस्वस्थ बन्नुभयो । निरन्तर उपचारको क्रममा एक दिन अस्पतालबाट स्वास्थ्यको रिपोर्ट लिएर फर्कने बेला उहाँलाई बाटोमा देखिएका आफूजस्तै साथीहरुसँग बोल्न, घुलमिल हुन मन लाग्यो ।

उहाँले भन्नुभयो, “त्यो बेला मेरो समाज थिएन । सबैलाई आ–आफ्नो समाज चाहिन्छ नि त । आफ्नो समुदायका मान्छेहरु भेट्दा हामी प्रफुल्लित हुन्थ्यौं । दुखहरु साटिन्थ्यो, हाँसिमजाक, रमाइलो गरिन्थ्यो । अनुभवहरु साटासाट गर्‍यौं अनि खुलेर घुलमिल हुने, भेटघाट गर्ने क्रम बढ्न थाल्यो ।”

तेस्रो लिङ्गीलाई हेर्ने सामाजिक दृष्टिकोण त फरक छ नै, यसभित्र पनि जन्मदा पुरुष भएकालाई पछि महिलाको रुपमा देख्दा कतिपयले नामर्द भयो भन्ने किसिमबाट हेर्ने गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “समग्रमा, हाम्रो समाजमा लिङ्ग भन्नाले पुरुष र महिलालाई मात्र चिनिन्छ । केही हदसम्म नेपालमा पितृसत्तात्मक सोच छ, पुरुषजस्तो देखिँदा त्यसलाई सकारात्मक रुपमा लिने गरिन्छ । हामी बालकहरु महिला हुँदा चाहिँ नामर्द भइस् भन्छन् । तर, बालिकाहरु पुरुषजस्तो भएर हुर्कदा चाहिँ ओहो ! केटाजस्तो मर्द भनेर सकारात्मक रुपमा लिने गरेको छ ।”

उहाँले तेस्रो लिङ्गीहरु परिवारबाटै सडकमा धकेलिने गरेको बताउनुभयो । घरपरिवार र समाजमा तिरस्कृत भएपछि उनीहरु सडकमा पुग्ने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “एलजीबिटीआइक्यु मात्रै एउटा यस्तो समुदाय हो जसलाई समाजले त विभेद गर्छ नै, आफ्नै घरपरिवारमा आमा, बुवा, दिदीबहिनीले पनि विभेद गर्छ । पढ्न पाउँदैनन्, रोजगारी पाउँदैन । उनीहरु सडकमा जर्बजस्ती धकेलिएका हुन् । परिवारले ठेलेर, धकेलेर गएका हुन् । परिवार, समाजमा स्थान हुँदैन अनि कहाँ जाने त ? आफ्नो अस्मिता लिलाम गरेर सडकमा उभिने रहर कसलाई हुन्छ र ?”

उहाँलाई लाग्यो कि, आफ्नो पुस्ताले यस अधिकारका लागि लडेपछि पछिका पुस्तालाई थोरै भए पनि सहज होस् । सन् २००१ मा सात जना साथीको समूहमा बिराम संस्था स्थापना गरी अधिकारका लागि वकालत गर्न सुरुवात गर्नुभयो । उहाँले भन्नुभयो, “आज नलडे कहिले लड्ने ? समाजसँग त लड्न नै पर्दो रहेछ । हामीले संस्था खोल्दा सजिलो थिएन । थाहा पाएको अवस्थामा जेल चलान हुने अवस्था नै थियो । हामीले खुकुरीको धारमा टेकेर संस्था खोलेका थियौं ।”

हामीलाई मान्छेको दृष्टिकोणले हेर्न सकोस् । अरु महिला, पुरुषले जसरी सरकारी संरचना, समाजभित्र समान अधिकार पाएका छन्, हाम्रो पनि सहभागीता हुनु पर्‍यो ।

हाल उहाँ निलहिरा समाज नेपालको अध्यक्ष समेत रहनुभएको छ । उहाँले पछिल्लो तथ्याङ्कअनुसार देशभर यो समुदायको जनसङ्ख्या २९ सय २८ जना रहेको जानकारी दिनुभयो । उहाँले यस किसिमका बालबालिकालाई परिवारले जबरजस्ती डिप्रेशनको औषधि दिने, सुध्रनुपर्छ भनेर रियाब सेन्टरमा राख्ने, मानसिक यातना तथा एन्जाइटी र डिप्रेसनको औषधी समेत दिने गरेको पाइएको बताउनुभयो । यस्ता बालमैत्री परिवार, विद्यालय, समाज निर्माण गर्नुपर्ने राज्यको दायित्व रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “हामीलाई पृथक अधिकार चाहिएको होइन । सबै नागरिकले पाएको अधिकार मात्रै पाओस् । त्योभन्दा बढी पनि चाहिँदैन । हामीलाई मान्छेको दृष्टिकोणले हेर्न सकोस् । अरु महिला, पुरुषले जसरी सरकारी संरचना, समाजभित्र समान अधिकार पाएका छन्, हाम्रो पनि सहभागीता हुनु पर्‍यो । आत्मसम्मान हुनु पर्‍यो ।”

उहाँले तेस्रोलिङ्गी समुदायको वैवाहिक अधिकारदेखि, शिक्षा, स्वास्थ्यलगायत नागरिकको मौलिक अधिकार दिलाउन मुख्यत: राजनीतिक दल जिम्मेवार हुनुपर्नेमा पनि जोड दिनुभयो । 

निलहिरा समाज नेपालका अध्यक्ष पिंकी गुरुङसँग सपना थामी, मनोजरत्न शाही र केशब गुरुङले तयार पार्नुभएको भिडियो : 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।