• १२ साउन २०८१, शनिबार

आचारसंहिताविपरीत गतिविधि बढ्दो

blog

निर्वाचन आचारसंहिता विपरीत झुन्ड्याइएका पर्चा पम्पलेट । तस्बिर : धीरेन्द्रप्रसाद साह

जनकपुर, वैशाख २२ गते । मधेस प्रदेशका जिल्लामा स्थानीय तह निर्वाचन आचारसंहिता विपरीतका गतिविधि भएको पाइएको छ । स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित, एवं भयरहित वातावरणमा सम्पन्न गराउन राजनीतिक दलको सहमतिमा बनाइएको निर्वाचन आचारसंहितालाई प्रमुख तीन राजनीतिक दलले पालना नगरेको पाइएको हो । मधेस प्रदेश जिल्लाका सदरमुकाम, सहर, ग्रामीण क्षेत्र, टोल तथा बस्तीमा निर्वाचन आचारसंहिता विपरीतका प्रचारप्रसार तथा अन्य गतिविधि भइरहेका छन् । 

स्थानीय तह निर्वाचनका लागि बनाइएका आचारसंहिता विपरीत नेपाल कम्युनिस्ट पार्टी (एमाले), जनता समाजवादी पार्टी, जनमत पार्टी, लोसपा, नेकपा (एस), नेपाली काँग्रेसलगायतका दल निर्वाचन गतिविधिमा लागेका छन् । यससँगै स्वतन्त्र उम्मेदवार पनि आचारसंहिता उल्लङ्घन गर्दै आएका छन् । आचारसंहिता विपरीत ब्यानर, पोष्टर, टाँस्ने, तुल र ब्यानर झुन्ड्याउने, ठूलो स्वरमा स्पीकर राखेर प्रचारप्रसार गरिरहेका छन् । 

सार्वजनिक स्थल, पार्क, चोक, बिजुली र टेलिफोनका खम्बा, सरकारी कार्यालय, मठ, मन्दिर, निजी घरका भित्ता, सार्वजनिक बस, भाडाका जिप र ई–रिक्सामा उम्मेदवारको तस्बिर र चुनाव चिह्न अङ्कित पम्पलेट, ब्यानर, झन्डा झुन्ड्याएका छन् । निजी घरमा राखिएको प्रचार सामग्री आफ्नो घरबाट हटाएको स्थानीय सुनिताकुमारी यादवले बताउनुभयो । 

यसरी निर्वाचन आचारसंहिता विपरीत भइरहेको कार्यलाई सुरुवातमा नियमन निकायले नियन्त्रणका प्रयास नगरेका कारण अहिले व्यापक बन्दै गएको छ । आचारसंहिता विपरीत राखिएका प्रचार सामग्री हटाउने र निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने निर्णय जिल्लाका सम्पूर्ण राजनीतिक दल र उम्मेदवारबीच राजविराजमा बुधबार भएको सप्तरीका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिनुभयो ।  

यता धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले “अनुगमनकै क्रममा उम्मेदवारले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको पाइएको छ,” भन्नुभयो । आचारसंहिता विपरीत भड्किलो प्रचारप्रसारमा उत्रिएको देखिएको, कैयौँ उम्मेदवारले जिल्लाको विभिन्न सार्वजनिक स्थल, मठ–मन्दिर, सरकारी कार्यालय, विद्युतीय पोललगायतका स्थानमा लगाएको करिब दुई ट्रक पर्चा–पोस्टर नियन्त्रणमा लिएको बताउनुभयो । 

उहाँले आचारसंहिता उल्लङ्घनको मौखिक गुनासो मात्र आएको र लिखित रूपमा उजुरी आएमा कानूनी रूपमा कारबाहीको प्रक्रियाअगाडि बढाउने जानकारी दिनुभयो । जिल्लामा आचारसंहिता विपरीत राखिएका प्रचार सामग्री हटाउन प्रहरी दिनभर खटिने गरेको प्रजिअ पौडेलले बताउनुभयो । 

यस्तै धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले राजनीतिक दल र उम्मेदवारलाई आचारसंहिता पूर्ण पालना गर्न र आचारसंहिता विपरीत प्रचार सामग्री नराख्ने प्रतिबद्धता जनाए पनि पालना नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी एकातिर प्रचार सामग्री हटाउँछौँ, अर्कोतिर फेरि दलले प्रचार सामग्री लगाउने गरेका छन् । अब पनि आचारसंहिता उल्लङ्घन गरेमा कानुनी कारबाहीमा जान्छौँ ।”   


Author

धीरेन्द्रप्रसाद साह