• १५ असार २०८१, शनिबार

जलवायु बृहत् वित्त रणनीति तर्जुमा गर्न आग्रह

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, वैशाख २२ गते । वन संरक्षण गरी जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न क्षेत्रीय तथा विश्वव्यापी रूपमा जलवायु बृहत् वित्त रणनीति तर्जुमा गर्न नेपालले विश्व समुदायलाई आग्रह गरेको छ । दक्षिण कोरियामा सञ्चालन भइरहेको १५औँ विश्व वन सम्मेलनमा सहभागी विकसित मुलुकहरूलाई नेपालले यस्तो आग्रह गरेको हो ।

विश्वका १४० भन्दा बढी मुलुकका १२ हजारभन्दा बढी संरक्षणकर्मी, वन, वनस्पतिविद्, अध्ययन अध्येता, संरक्षण साझेदार संस्था तथा सरकारी उच्च पदाधिकारीको सहभागिता रहेको सो सम्मेलनमा नेपालले यस्तो प्रस्ताव राखेको हो । वन अतिक्रमण हुने, खण्डीकरण हुने तथा उजाड हुने प्रवृत्तिलाई रोक्दै वनको संरक्षण र संवद्र्धनबाट हरित रोजगारीमा वृद्धि गरी जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणका काम गर्न सकिने नेपालले प्रस्ताव राखेको छ । 

नेपालले ग्रिन क्लाइमेट फाइनान्सजस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले वन तथा जलवायु वित्तमा बढी लगानीलाई प्राथमिकतामा राख्न जोड दिएको छ । चार दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपाली टोलीको नेतृत्व गरिरहनुभएका वन तथा वातावरण सचिव डा. पेमनारायण कँडेलका अनुसार वन संरक्षण तथा जलवायु वित्तका लागि सहयोगको मात्रा वृद्धि गर्नुपर्ने र अल्प विकसित मुलुकलाई कम ब्याजदरमा लगानी बढाउन आग्रह गरिएको छ । 

त्यसैगरी निजी क्षेत्रलाई आकर्षित हुने गरी कार्यक्रम सञ्चालन गर्न नेपालले बहुराष्ट्रिय संस्थाहरूलाई सहयोग गर्न आग्रह पनि गरेको छ ।नेपालले हालै सार्वजनिक गरेको प्राकृतिक स्रोत वनक्षेत्रले ढाकेको नक्सामा ४५ प्रतिशत वन रहेको छ । त्योमध्ये २४ प्रतिशत वन क्षेत्र संरक्षित क्षेत्रका रूपमा नेपालले संरक्षण गर्दै आइरहेको छ । नेपालको पर्यापर्यटन पनि वन, वन्यजन्तु, हिमालमा बढी आधारित छ । त्यसैले नेपालजस्ता अल्प विकसित मुलुकले प्राकृतिक स्रोतको सदुपयोग गर्दै कुल गार्हस्थ्य उत्पादनमा वृद्धि गर्दै जाने लक्ष्यसाथ काम गर्दै आएको छ ।