• १ असार २०८२, आइतबार

विपद्को भयले मनाङीलाई अझै झस्काउँछ

blog

यदुप्रसाद भट्ट

मनाङ, जेठ ३१ गते । नेपालमा मनसुन भित्रिइसकेको छ । मनसुनको सुरुआत भएसँगै वर्षा लागेपछि प्राकृतिक विपत्ति पनि बढ्दै गएको छ । 

२०७८ सालको जेठ २९ र असार १ मा मर्स्याङ्दी नदीमा आएको बाढीका कारण मनाङका विभिन्न क्षेत्रमा क्षति पुगेको थियो । बाढीका कारण घरबारविहीन भएका मनाङ नासोँ गाउँपालिकाको सिरानताल र तालगाउँका स्थानीयहरू ऋझै पनि भयमा बस्न बाध्य छन् । वर्षाको समयमा उनीहरूलाई विपद्को भयले झस्काउने गरेको छ । 


मर्स्याङ्दीको वितण्डा अझै पनि दोहोरिने हो कि भन्ने त्रासले गर्दा पुर्ख्याैली थातथलो नै छोड्नुपर्ने चिन्ताले सताउन थालेको स्थानीय होटल व्यवसायीले गुनासो गरेका छन् ।

तत्कालीन समयमा सिरानतालको सात र तालगाउँको ४३ घरधुरी अन्य सुरक्षित स्थानमा सार्नुपर्ने भए पनि उनीहरूले आफ्नो थातथलो छोडेका छैनन् ।

तालगाउँका बाढी प्रभावित त्रासमा रहेको चार वर्ष भएको छ । चार वर्ष हुँदासमेत तालगाउँवासी सुरक्षित महसुस गर्न सकेका छैनन् । स्थानीय मोहन गुरुङले वर्षा लागेसँगै आफूहरूलाई चिन्ताले सताउन लागेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘हामीलाई त्रासैत्रास छ, यसपाली पनि नदीमा बाढी नआउला भन्न सकिँदैन, यही त्रासले गर्दा निद्रासमेत छैन ।’’ नदी किनारमा रहेको तालगाउँ बाढीको उच्च जोखिमको क्षेत्र मानिन्छ । 

त्यसो त सरकारले सो क्षेत्रमा बाढीको सूचना दिने साइरन जडान गरेको छ । साइरन जडान भए पनि तालगाउँबासी ढुक्क हुन सकेका छैनन् । मनाङको मेरुदण्डका रूपमा रहेको बेँसीसहर–चामे सडक खण्ड १०७ किलोमिटर छ ।

२०७८ मा आएको बाढीपहिरोले मनाङको मेरुदण्डका रूपमा रहेको बेँसीसहर–चामे सडकखण्ड पक्की रूपमा निर्माण गर्न नसक्दा सकसमा यात्रा गर्नुपर्ने बाध्यता छ मनाङी तथा पर्यटकलाई छ ।

त्यसो नयाँ वर्ष लागेसँगै सडक मर्मत तथा चौडा गरी सार्वजनिक यातायात सञ्चालन भइसकेको छ । एक मात्र मनाङ प्रवेशको कच्ची सडक छ । तर पनि वर्षामा बाढीको भय भने कायमै रहेको छ ।

स्थलमार्ग अवरुद्ध भएको खण्डमा हेलिकोप्टरको सहायताबिना कुनै पनि यात्रा हुन सक्दैन । अचानक कुनै पनि दुर्घटना भएको खण्डमा मनाङमै उपचार हुन सक्ने अवस्था नहुनु र सडक मार्ग अवरुद्ध भएमा हेलिकोप्टर चार्टर्ड मात्रै विकल्प हो ।

यसैबिच तागाउँ क्षेत्रमा मनसुन सुरुआतसँगै हुनसक्ने विभिन्न विपद् उद्धार अभ्यास गरिएको छ । नेपाली सेना नयाँ भैरवी दल गुल्म र सशस्त्र प्रहरी बल नम्बर ३२ गुल्म मनाङको संयुक्त आयोजनामा नासोँ गाउँपालिका–१ तालगाउँस्थित मर्स्याङ्दी नदीमा मनसुन विपद् उद्धार अभ्यास गरिएको छ ।


मनसुनलाई मध्यनजर गरी नेपाली सेना, सशस्त्र प्रहरी बललगायत सुरक्षा निकायले विपद् उद्धार अभ्यासमा प्राथमिकता दिँदै आएको छ । जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले मनसुन सक्रिय हुने उद्धारका अभ्यासले टेवा पुर्‍याउने बताउनुभयो ।

सशस्त्र प्रहरी बल नम्बर ३२ गुल्मका प्रहरी नायब उपरीक्षक हिराबहादुर जिसीले अभ्यासले सुरक्षा निकायलाई अभ्यस्त बनाउनुका साथै स्थानीयलाई पनि सचेत गराउन मद्दत पुग्छ बताउनुभयो ।

बाढी र डुबानमा परेकाको उद्धार गर्नेबारे अभ्यास गरेको हो । अभ्यासले वास्तविक उद्धारमा काम गर्न सहज हुने बताइएको छ । अभ्यासमा दक्ष जनशक्तिले गहिराइमा डुबेका पीडितको उद्धार गर्ने कला प्रदर्शन गरेका थिए । २०७८ जेठ २९ र असार १ गतेको बाढीका कारण डुबानमा परेको तालगाउँमा उद्धार अभ्यास गरिएको हो ।