• १४ पुस २०८२, सोमबार

जीटिनले मनायो १४ औं स्थापना दिवस

blog

काठमाडौं, पुस १४ गते । गुरुङ पर्यटन व्यवसायी सङ्घ नेपाल (जीटिन)ले १४ औं स्थापना दिवस मनाएको छ । 

स्थापना दिवसको अवसरमा वित्त आयोगका कार्यवाहक अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि जुद्धबहादुर गुरुङ र जीटिनका अध्यक्ष पिताम्बर गुरुङले संयुक्त कार्यक्रमकाे आयाेजना गरि जीटिनले स्थापना दिवस मनाएको हाे । जीटिनका अध्यक्ष गुरुङले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो । जीटिनले गर्दै आएको कामबारे जानकारी गराउनुहुँदै स्थापना दिवस र तमू ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्नुभयो । त्यस्तै अध्यक्ष गुरुङले जीटिनले प्रकाशन गर्न लागेको स्मारिकाको बारेमा समेत जानकारी गराउनुभयो । 


स्थापना दिवसको अवसरमा शुभकामना मन्तव्य राख्नुहुँदै आयोगका कार्यवाहक अध्यक्ष गुरुङले नेपालको पर्यटकीय क्षेत्र अन्नपूर्ण लगायतका क्षेत्रहरु विश्वको उत्कृष्ट गन्तव्यमा पर्ने उल्लेख गर्नुभयो । जीटिनले पर्यटन प्रवर्धनमा गरेको योगदानबारे चर्चा गर्नुभयो । 

नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य ऋषि भण्डारीले पर्यटकीय क्षेत्रमा इतिहास बोकेको गुरुङ जाति संस्कृतिक रुपमा धनी रहेको बताउनुभयो । उहाँले जीटिन पर्यटकीय क्षेत्रमा स्थापित नाम रहेको र हरेक संस्थाका व्यक्तित्वलाई निर्णयक तहमा पुर्‍याउन प्रत्यक्ष, अप्रत्यक्ष रुपमा योगदान गर्दै आएको उल्लेख गर्नुभयो । जीटिनका पूर्वअध्यक्ष अम्बिरबहादुर गुरुङले जीटिनले पर्यटन क्षेत्रमा खटिँदा घाइते भएका र मृत्यु भएकालाई राहतस्वरुप आर्थिक सहयोग प्रदान गर्ने उद्देश्यले कोषको स्थापना गरेको उल्लेख गर्नुभयो । 


कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का पूर्व अध्यक्ष आङछिरिङ शेर्पा, उद्योग वाणिज्य महासङ्घका सदस्य रामशरण थपलिया, तामाङ पर्यटन व्यवसायीहरुको छाता संस्था रिमठिमका अध्यक्ष सरिता लामा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रममा गुरुङ जातिको संस्कृति झल्कने भेषभूषामा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।