“आइया,” अनायासै डा. बद्रीलाल विश्वकर्माको मुखबाट सानो आवाज फुत्किहाल्यो ।
उता मुर्दाघरमा रामसिंह देउला लासको टाउकोमा जोड जोडले बन्चरो हान्दै थिए । टाउको फर्लक्क दुई चिरा भएपछि गिदीको टुक्रा तान्नु थियो । जति देउला टाउकोमा बन्चरो हान्थे, उति डाक्टर “आइया आइया” भनिरहेका थिए मनमनै । टाउको फुटाउन बेस्सरी ताकेर हान्नु पर्छ । मुर्दा भएकाले उसले “आइया” भन्दैन । चार दिनदेखि बेवारिस शव पोस्टमार्टमका लागि तयारी भयो । मुर्दाघरमा राखिएको शव पोस्टमार्टम गर्ने निधोमा अस्पताल व्यवस्थापन लाग्यो । कति दिन राख्ने अस्पतालमा ? अरू पनि टन्नै शव आइसकेका छन् । सनाखत हुन नसकेका शव नगरपालिकाले एकमुष्ट दाहसंस्कार गरिरहेको छ । यो शव पनि नगरपालिकालाई बुझाउने टुङ्गोमा अस्पताल पुग्यो । कोही आएनन् आफन्तजन । आएकाले आफ्नो परिवारको सदस्यको शव मानेनन्– ठानेनन् । मुडा झैँ लडिरहेको युवतीको शव पोस्टमार्टममा सबै जुटे ।
कार्यालय सहयोगीले मुर्दाघरको ढोका घ¥याक्क उघारे । खिया लागेका ताल्चा, डुङ्डुङ्ती गन्हाउने अँध्यारो मुर्दाघरमा बेवारिस लडिरहेकी युवतीको शव पल्टाए अर्का कार्यालय सहयोगीले । भित्र छिरेका डा. बद्रीले शव हेरे । सेतो पोसाकमा बेरिएर मुर्दाघर पुगेका उनका हातका कलम र डायरी अनायास झरे । अरूले अनुभूत नगरून् भनेर बद्री सम्हालिए तर भित्रिभित्रै एक हिसाबले लल्याकलुलुक बने । फतक्क गले, पुल्चोकको मगर होटलमा सरुमा मगरले तातो पानीमा हालेको कर्कलो झैँ । “डाक्टर भएर पनि शवसँग डराउनु भएको ?” आधा चुरोटको ठुटोको धुलो फाल्दै रामसिंह देउलाले सोधे, “तपाईं त शवसँग डराउनुभयो जस्तो छ, म त २० वर्षदेखि यस्तै शव चिरेर बाँचिरहेको छु ।”
“होइन, म कहाँ त्यस्तो काँतर छु र,” डाक्टर बद्रीले भने, “यस्ता कैयौँ शव पोस्टमार्टम गरिसकेको छु ।” उनले लुकाउन खोजे पनि केही कुरा लुकिरहेको थिएन । चिट्चिट् पसिनाले डाक्टर भिजेका थिए । उनलाई हतारमा पोस्टमार्टम सकाउँ सकाउँ लागेको थियो । देउलाले भने, “लिनुहोस्, सबै एक एक टुव्रmा निकालिदिएँ ।” पोस्टमार्टमलाई चाहिने फोक्सो, गिदीलगायतका सामग्री दिएर देउला शव सिलाउन थाले । यस्तै छ संसारको नियम, पोस्टमार्टम निकै व्रmूर हुन्छ, मरेको लासलाई पनि दुःख दिने विज्ञानको संसार दास भएको छ । के भएर म-यो होला भनेर खोतल्न उसका शवलाई चिरफार गर्नै पर्ने अवस्था छ । कठोर मुटु बनाएर देउलाले त लास चिरे, फोक्सो र गिदी निकाले । तर डाक्टर बद्री आज अनायास टोलाइरहेका छन् । उनलाई यो पोस्टमार्टमले यस्तो बेचैन बनाएको छ कि, त्यति बेचैन त साँझ खाना खाएर नारायणी किनाराको झुप्रोमा सुतेका मुसे बोटे पनि थिएनन् । मध्यसाउनमा मस्र्याङ्दी र सेती अनि नुवाकोटदेखि बग्दै आउने नदी मिसिएर बनेको सप्तगण्डकी अर्थात् नारायणी बढेर साँझ नदीछेउको झुप्रो र अँगालोभरिकी स्वास्नी र छोरी बगाउने चिन्ता बोकेर दिनभरको कामले थाकेर मस्त निदाउँथ्यो मुसे बोटे । तर डाक्टर बद्री मुसे बोटेभन्दा पनि कमजोर देखिए आज ।
मानौँ डाक्टर बद्री इजलासमा उभ्याइएका र लगभग सजाय करार हुन बाँकी दोषी हुन् । टिकौली जङ्गलमा कर्कलो टिप्न पुगेका बेला बाघले झम्टेर लखेटिँदा भागिरहँदा फेरि भाग्न नभ्याउने गरी अगाडि नै गैँडाले हान्ने अवस्थामा निस्सास्सिँदै बेचैन भएका मासराङे चेपाङ हुन् । आफ्नै गतिमा दौडिरहेका बेला बत्तिएर आएको या’मानको ट्रिपरले किचिमिची पारिएकी स्कुटरमा सवार एक सपना बोकेर खुसीले दौडिरहेकी युवती हुन् या कुमार सारा सुमेरु पर्वत घुमेर आउँदा आमाबाबु छेउमै बसिरहेका दाजु गणेशको पूजा हुने नियममा हारेका भाइ जस्तै हुन् । जे होस्, आज डाक्टर बद्रीलाई यो पोस्टमार्टम त्यस्तै सकस भइरहेको छ । त्यो सकसमा परेर एउटा कागजमा देखिएको विवरण लेख्दै तल डाक्टर बद्री भनेर हस्ताक्षर गर्न पनि उनलाई मन लागिरहेको छैन, क्युमा मिनीबस चलाउनुपर्नेमा अल्छी मानेर आज नारायणीमा झ्वाम्म पौडेर बसौँ बसौँ भएको मिनीबसका चालक राजु अर्याललाई जस्तै ज्यान भारी भइरहेको छ ।
रामसिंह देउलाले दिएको फोक्सो, गिदी र अरू अङ्गका टुक्रा खोतल्दै गर्दा डाक्टर बद्रीका दिमागमा अनायासै यिनै वाणी गुन्जन थाले । उनलाई कहाँबाट यी वाणी हुबहु स्मरण भयो आज । ओहो २३ वर्ष भएछ ! अलि अलि हो र ! यत्रा दिनसम्म दिमागले कसरी सङ्ग्रहित गर्न सकेको ? मेरा दिमागले झैँ यो गिदीका टुक्रामा पनि मेरा अतीत सङ्ग्रहित होलान् कि नहोलान् ? भए पनि पोस्टमार्टमा के फेला पर्ला र ? परे पनि अब के अर्थ रह्यो ? आफ्नै दिमागले एक शब्द पनि नबिगारी स्मरण गराइदियो डाक्टर बद्रीलाई २३ वर्षअघिका कुरा । क्याम्पाचौरमा २०५७ सालमा हुनु पर्छ । कमरेड किरण रायमाझीले यस्तै चोटिलो भाषण गरेपछि गाउँबाट एक धोव्रmो मकैको पिठो र आठ नौ सय रुपियाँ बोकेर चितवनमा क्याम्पस पढ्न झरेको बद्रीलाल विश्वकर्माले मुठी कसेर अखिल व्रmान्तिकारीको प्रारम्भिक कमिटी सदस्यमा शपथ खाएका थिए । गाउँको एउटा सोझो, विपन्न र हेलिएको दलितको छोरोलाई सङ्गठित गर्ने कमरेड किरण रायमाझीले दरिलोसँग हात मिलाउँदा त्यतिखेर बद्री खङ्ग्रङ्ङ भएका थिए । यो उमेरमा उनले कुनै युवतीसँग हात मिलाएको पहिलो थियो । गाउँमा दलितका छोरालाई कसले यसरी सम्मान दिन्थ्यो र ? क¥याप्प हात मिलाएर “बधाई कमरेड” भन्दा आङ सिरिङ्ङ भएका थिए, आँखामा हेर्दा बद्रीका आँखा झुकेका थिए । पहिलो पटक सबका अगाडि कुनै युवतीसँग यसरी आँखा जुधाउँदा खोइ बद्रीलाई के भयो कुन्नि ? हेर्दाहेर्दै बद्रीलाल विश्वकर्मा विद्यार्थी राजनीतिमा होमिए । उनलाई कमरेड किरणले भनेको “अबको चितवन बनाउने सपना”ले निकै आकर्षित ग-यो । गाउँमा हजुरबुवा राजावादी र बुबा कांग्रेस भए पनि बद्री एकै पटक एमाले पनि नभई माओवादीमा आकर्षित भएर क्याम्पसमा नेता हुने खुड्किलो चढे ।
“तपाईंको डेरा कहाँ हो, भरे बस्न मिल्छ ?,” क्याम्पसमा कोही साथीले दिएको एउटा सानो चिर्कटोमा उनै किरणको सन्देश थियो । “भोजाडमा अधिकारीको घरमा, कोही नल्याउनु भनेको छ, के गर्ने होला,” बद्रीले सन्देश पठाए, “द्वन्द्वका बेला छ, माओवादी आउलान् भनेर घरबेटीले कोही पनि नल्याउनु भनेका छन् ।” भोलिपल्ट फेरि किरणको पत्र आयो, “मलाई सेनाले खोजिरहेको छ, क्याम्पस पनि आउन सकेको छैन, मिल्छ भने म २, ३ दिन तपाईंको डेरामा लुक्छु नि कमरेड ।” बद्रीका मुटु ढुक्ढुक फुले । जुन कुरा हुन्न भनेको घरबेटीले त्यही कुराको प्रस्ताव आयो, अर्कातिर एउटी युवती २–३ दिन डेरामा बस्दा घरबेटीले के भन्लान् ? बाबुआमालाई खबर पुगे के गर्ने ? “क्रान्तिको आन्दोलन कहाँ सजिलो छ र ?” बद्रीको अँगालोमा कसिँदै किरणले भनेकी थिइन्, “घर राम्रै थियो, परिवार ठिकै थिए, पढेलेखेकै र खान पुग्ने नै थियो, तर क्रान्तिचेतले भन्यो, विद्रोहमा होमिएर जनताको मुहार फेर, त्यही भएर यो सास्ती भोग्दै छु, हुँदाहुँदै अहिले त राज्यको खोजी र आतङ्ककारीको सूचीमा पुगेँ, कि तातो गोली खान्छु कि नजरबन्दमा जान्छु एक दिन त बद्री ।” किरणका क्रान्तिकारी कुराले बद्री मुग्ध थियो । एउटा बाहुनकी छोरीले देखाएको यो श्रद्धा, समर्पण अनि दलितको छोराको साथमा गर्वले उनलाई पगाल्दै लग्यो । गाउँमा बाबुले होत्रोको हावाले कोइला बालेर पगालेको धाउ झैँ भए बद्री । “यहाँ पनि सेना, प्रहरी आउलान्, दुस्मनहरूले सुराक गरिरहेका छन्,” किरणले भनिन्, “यतिकैमा तातो गोलीले मरेँ भने मेरो तस्बिरमा भए पनि एक चिम्टी सिन्दूर हालिदेऊ है ।” गम्लङ्ङ अँगालो हालेर किरणले बद्रीका गालामा चुम्बन गरिन् । बद्रीको अवस्था “नुवाकोटको कान्छी बदाम” जस्तै मिठो भयो । उता मनमा भने बाहिर ढोका वरिपरि कोही हिँड्दा पनि सेना, प्रहरी पो हो कि भन्ने पर्न थाल्यो । यता किरणले बद्रीलाई आफ्नो उर्वर जिन्दगीका सारा भेलहरूमा भिजाएर रुमानी सपनाले पुछपाछ गर्दै थिइन् ।
उत्पात आन्दोलन भयो । क्याम्पस नै बन्द हुने गरी व्रmान्तिकारी प्राध्यापकहरू नजरबन्दमा परे । काँग्रेसका एक जना सांसदले जमानी बसेर प्राध्यापक निकालेर ल्याए । क्याम्पस त चलाउनै प¥यो । जनताका छोराछोरी गाउँ बस्नै नसक्ने भए । सहरमा बसेका गाउँ जानै नसक्ने भए । द्वन्द्वको यो तातो भुङ्ग्रोमा देश धपेडीमा थियो । चितवनको के कुरा भयो र । भारतमा गहुँका छ्वाली डढाउँदा दुई चार दिन अँधेरोले हुने उकुसमुकुसभन्दा पनि बढी उकुसमुकुसमा देश थियो । “हेलो, बद्री, म भारत, नागाल्यान्ड आइपुगेँ, कस्तो छ,” घरबेटीको फोनमा किरणको स्वर आयो, “जोगिएर बस्नु है, युद्धको अन्तिम अन्तिम अवस्था छ, बाँच्नु पर्छ, ज्यान जोगाउनू ।” बद्रीलाई घरबेटीको फोनमा आएको फोन संवाद यति थियो । केही महिनादेखि उनीहरू सम्पर्कविहीन थिए । बद्री भरतपुरमै थियो । गाउँबाट आमाबुवाले “माओवादी भइस्” रे, यता नआइजो मार्छन् बाबु भन्दै रोएपछि उनी चितवनमा अनेक सेल्टरमा हिँडिरहेका थिए । कुनै पनि बेला दुस्मनको हमलामा परेर जिन्दगी “आतङ्ककारी हताहत” मा दर्ज हुन सक्थ्यो । किरणले शपथ खुवाउँदै क-याप्प पारेका हात सुम्सुम्याउँदै बद्री अघि बढिरहे । उनी प्रवीणता प्रमाणपत्र तहको पढाइपछि डाक्टर बन्ने सपनामा लागे । एउटा दलितको छोरा डाक्टर हुने सपना “खरानीको तातो” जस्तै थियो । फेरि पनि बद्रीको दिमागमा छट्पटिइरहेको किराले “सक्छस्” भनिरहेको थियो ।
नगरवनमा एक दिन दुवै भेट भए । “कुनै दिन यही नारायणीले बगाउँदै मेरो लास बेवारिसे बनाएको खबर आयो भने सद्गद् गरिदेऊ है,” किरणले फेरि लाडिएर बद्रीसँग भनिन्, “फोटोमा सिन्दूर हालिदेऊ भनेकै थिएँ, अब त किरिया पनि गर्नु पर्छ नि कान्छा ।” किरण बद्रीलाई औधी माया गर्न थालिन् । भनिन्, “मेडिकल कलेजलाई भनेर छात्रवृत्तिमा नाम निकाल्ने हो, बुबालाई भन्छु, तिमी असल डाक्टर भएर सेवा गर्नु पर्छ, म मिल्यो भने चुनावमा उठेर मेयर हुन्छु ।” किरणले फेरि सपनालाई नारायणी नदी झैँ भएभरको बगरभरि फिँजाइन् । “नाम निस्किएला र म जस्तो गरिब कामीको छोराको ?,” बद्रीले प्रश्न गरे । किरणले भनिन्, “परीक्षा चैँ पास हुनु पर्छ तर दलितको कोटाले केही राहत हुन सक्छ ।” “तिमी डाक्टर भयौ भने मेरो पोस्टमार्टम गर्न सक्छौ ?,” किरणले भनिन्, “ग-यौ भने हेर है मुटुका टुक्रामा तिमीप्रति मेरो माया कति छ ?”
“नाइँ,” डाक्टर बद्री अनायासै चिच्याए । उनी बेवारिसे शव पोस्टमार्टममा व्यस्तभन्दा पनि अस्तव्यस्त बनेका थिए । पसिनाले निथ्रुक्क भिजेका डाक्टरको हुलिया देखेर सहयोगीहरू पनि आज डाक्टर कुनै परेसानमा छन् भन्ने बुझिरहेकै थिए । एकाएक डाक्टरले “नाइँ” भनेपछि रामसिंह देउलाले भने, “के भयो हजुरलाई, आज सञ्चो छैन कि ?” डाक्टर सम्हालिए तर आँखाबाट आँशु बगिरहेका थिए । उनले हतारहतार पोस्टमार्टम सके । रिपोर्टमा सही गरेर उनी अफिस नछिरी सिधै गाडी चलाएर घरतिर गए । आज उनी फ्रेस पनि भएनन् । किन यस्तो हुलियामा डाक्टर घर गए, सहयोगीहरू पनि छक्क परे । डाक्टर कुनै तनावमा छन् भन्ने उनीहरूले लख काटे । देउलाले लास सिलाएर पोका पारेर मुर्दाघरमा हुर्याए । भरेतिर नगरपालिकाले लैजान्छ भनेको छ । मुर्दाघरमा अरू ३–४ बेवारिसे शव आइसकेका थिए । “लौ, फेरि मुर्दाघरमा लास पछा-यो होला देउलाले,” अनायास डाक्टर बद्रीका मनमा तर्कना आयो । फोन समाते, फोन गरौँ कि भनेर देउलाको नम्बर खोजे । के भयो कुन्नि, होस् भनेर फोन राखे । उनलाई भन्न मन थियो देउलालाई, “रामसिंह, लास नपछार है, मिलाएर एउटा कुनामा राखिदेऊ, अरू लास जस्तो यो लास नपछार ल ।”
छात्रवृत्तिमा नाम निस्किएपछि बद्री पढ्न थाले । पाँच वर्षको पढाइ । त्यसपछिको दौडधूप । यो बिचमा देशमा शान्ति प्रव्रिmया छाए पनि बद्री र किरण भने अशान्त रहिरहे । किरणका घरपरिवार मानेनन् । दलितसँग विवाह हुनै सक्दैन भनेर किरणलाई अर्को विवाहका लागि दबाब दिन थाले । यता पढाइको तनावले बद्री पनि व्यस्त भए । किरणले नै मिलाइदिएको यत्रो अवसरलाई उनी साकार पार्न चाहन्थे । उसमाथि किरणले सिङ्गो जीवन नै दिने भएपछि डाक्टर पति बनेर किरणको राजनीतिक जीवनलाई “नारायणी लिफ्टिङ सिँचाइ” बनेर बद्रीले किरणको जीवन हराभरा बनाउनु नै थियो । पहिलो कार्यभार एमबिबिएसको पढाइ पूरा हुनु थियो । बद्री चैतको घामा जोतिएको गोरु झैँ जोतिन्थे । कहिलेकहीँ किरणसँग मायाप्रीतिका कुरा हुन्थे । किरण बारम्बार दोहो¥याउँथिन्, “अरू काम नआए पनि तिमी डाक्टर भएपछि मेरो पोस्टमार्टम गर्न चैँ डाक्टर खोजिरहन पर्दैन ।” बद्री झडङ्ङ रिसाउँथे तर रिस चैँ किरणलाई होइन, कलेजको फोनको रिसिभरलाई थोपर्थे र रिभिर ड्याम्म पारेर पछारेर राख्थे ।
गणतन्त्र आयो । जुलुशमा बद्री पनि थिए । तर किरण थिइनन् । चुनाव भयो, उम्मेदवारहरू टन्नै महिला थिए तर किरण थिइनन् । बाटाहरू फराकिला भए । नभन्दै सडकमा सोलार प्यानल जोडेर सहर झिलिमिली भयो । तर त्यो उज्यालो सन्ध्यामा भरतपुरका चोकका बिसौनीमा बद्रीका काखमा बसेर लाडिने किरण थिइनन् । पढाइपछि गाउँमा गएर एक वर्ष सेवा गरेर बद्री अब डाक्टर बद्री भएको थियो । सेवा सुविधा राम्रै थियो । सङ्घीयता कार्यान्वयनपछि गाउँमा डाक्टरको दरबन्दीमा बद्री नपर्ने कुरै भएन । उनले भरतपुरमा पनि राम्रै अस्पतालमा काम पाए । गाउँबाट बुढा भएका आमाबाबुलाई सहरमा ल्याए । घर थियो, जागिर थियो, सान थियो, सौकत थियो । गणतन्त्र थियो तर गणतन्त्र आउँछ र समाज बदलिन्छ भनेर शपथ खुवाएर क्रान्तिकारी बनाउने किरण थिइनन् । बुबाआमा भन्थे, “तँ त साह्रै बिग्रिस् नि बद्री, विवाह गर्दैनस्, नातिनातिना नहेरी मर्ने हामी ?” बद्री मौन बस्थे । गाउँको दुःखबाट आमाबाबुलाई सहरको सुखमा ल्याएपछि त्यो सुखमा छोरासँग बुहारी र नातिनातिना पनि चाहिने कुरा अनुभूत भयो बद्रीलाई । फेसबुकदेखि सबै सामाजिक सञ्जालमा बद्री किरणलाई खोज्थ्यो तर कतै पनि किरणको अत्तोपत्तो थिएन । “विवाह नै गरेर गएकी भए पनि भनेको भए हुने,” हरेक राति निदाउने बेला बद्री यस्तै सोचेर निदाउँथ्यो ।
“यो महिला चितवनको रे,” एक दिन अस्टे«लियाबाट साथी रविनले एउटा भिडियो क्लिप्स पठाए । बद्रीले हेरे, दोहो-याएर हेरे, फेरि नियालेर हेरे । उनले रविनलाई सोधे, “के भयो यिनलाई ?” रविनले भने, “बढ्ता पियक्कड भइछिन्, विवाह गरेर यहाँ आएकी हुनेखानेकै छोरी हुन् रे, पतिसँग पनि सम्बन्ध राम्रो भएनछ, यिनी त डिप्रेसनमा गइछिन्, हेरचाह गर्ने कोही नभएपछि बेहाल छ, अस्ट्रेलिया सरकारले यिनलाई डिपोट गर्दै छ रे, कोही छ त चिनजानको, पत्ता लगाऊ न ।” बद्री भक्कानिए, “नुवाकोटको कान्छी बदाम” जस्तो मिठो जिन्दगी किन कृष्णभिरको पहिरोले दुःख दिइरहने पृथ्वी राजमार्ग बनायौ ?” नेपाल आएपछि यिनलाई सुधार्छु, असल मान्छे बनाउँछु, यही जुनीमा म यिनको ऋण तिर्छु, गुणको बदला गुन लगाउँछु । उनलाई सुधार्छु सुधार्छु । उनले अनेकौँ योजना बुने । विगतका सपना सम्झिए । किरणलाई फेरि घर ल्याएर “असल मान्छे” बनाउने सपना एकाएक वैशाखको खडेरीमा एक झर पानी परेरपछि उम्रिन नसकेका मकैका दाना उम्रिए झैँ बद्रीका सपना पनि टुसाए । उताबाट किरणको डिपोट भइसकेको थियो । उनी भरतपुरमा किरणलाई कुरिरहेका थिए ।
हप्ता बिते । १५ दिन बिते । किरण भरतपुरमा देखिइनन् । कैयौँ चोकहरूमा आँखा ओच्छ्याए । अतिरिक्त मदिरा पियक्कड बनेकी किरण कतै मदिरालय छिरिन् कि भनेर कैयौँ सस्ता र महँगा भट्टीमा कैयौँ पटक त एप्रोनमै बद्री पनि छिरे । अहँ, कतै किरण भेटिइनन् । धुवाँ धुवाँमा रमाइरहेका किशोरकिशोर, युवायुवती, अधबैँसेहरूको भिड थियो । मदिराका प्याला र सङ्गीतका धुनहरूमा आधा संसार नसुती मध्यरातसम्म नाचिरहेको थियो तर कतै पनि थिइनन् किरण । हठात् एउटा समाचार छाप्यो चितवन पोस्ट दैनिकले, “पुल्चोकमा सवारी साधनको ठक्करबाट महिलाको मृत्यु, आफन्त कोही नभेटिएकाले बेवारिसे शव भरतपुर अस्पतालको मुर्दाघरमा ।” अघिल्लो साता मात्रै राप्ती नगरपालिकाबाट सरुवा भएर भरतपुर अस्पताल आएका डाक्टर बद्री विश्वकर्माको भागमा त्यही शव प¥यो ।
जुन उनले वर्षौंदेखि खोजिरहेको “नुवाकोटको कान्छी बदाम” जस्तै मिठो सपना थियो । जिन्दगी थियो । सम्झौता थियो । वाचा थियो । साथ थियो । मनमुटु साटिएको सखी थियो । जिउँदो हुँदा पटक पटक भनेको शब्द थियो, “म मरेँ भने मेरो पोस्टमार्टम गरेर हेर्नू है म तिमीलाई कति माया गर्दोरहेछु ।” सब सकियो । सपना धुलीसात भयो । घर पुगेर डाक्टर बद्री सोफामा टोलाइरहेका थिए । बुढी आमाले चिया दिँदै भनिन्, “अरे, डाक्टर पनि रुन्छ, के भो आज तँलाई ?” आज डाक्टर बद्रीले चिया पिएनन् ।
आँशुभेल पार्दै आमालाई अँगालो हालेर रुँदै भने, “सब सकियो आमा, सपना धुलीसात भयो ।” आमाले छोराको कपाल सुम्सुम्याइरहिन् । छोराले के भने, उनले बुझ्न सकिरहेकी थिइनन् । एउटा सपना साकार हुँदा अर्को सपना धुलीसात भएको पीडामा डाक्टर बद्री आहाल खेलिरहेका थिए । मधुपर्क
मनहरी बजार, मकवानपुर