ऐतिहासिक सिन्धुलीगढीका बारेमा चर्चा गर्दा नेपाल–अङ्ग्रेज युद्ध साथमा जोडिएर आउँछ । क्याप्टेन किनलकको नेतृत्वमा आएका दु्ई हजार चार सय अङ्ग्रेज फौजलाई गोरखाली सेनाले लखेटेको घटनाले सिन्धुलीगढीको इतिहासलाई थप रोमाञ्चक बनाइदिएको छ । सिन्धुलीगढीमा ऐतिहासिक महत्वका साथै यस आसपासका गाउँमा बसोबास गर्ने स्थानीय बासिन्दाको सभ्यता जोडिएको छ ।
गोरखाका राजा नरभूपाल शाह वृद्ध भइसकेका थिए । गोरखा आसपासमा विभिन्न ५२ वटा ससाना राज्य सञ्चालनमा भए पनि उमेरका कारण राज्य विस्तारले गति लिन सकेको थिएन । राज्य विस्तारका क्रममा गरिएको आक्रमण पनि हारमा परिणत हुँदै थियो । राजा नरभूपाल शाहको मृत्युपश्चात् उहाँका जेठा छोरा पृथ्वीनारायण शाह गोरखा राज्यको राजगद्दीमा आसीन हुनुभयो । विसं १७७९ पुस २७ गते सात महिनामा जन्मिएका भनिएका शाह विसं १७९९ मा गोरखा राज्यको राजा हुँदा जम्मा २० वर्षका हुनुहुन्थ्यो । ५२ वर्ष मात्रै बाँचेका राजा शाहले काठमाडौँ उपत्यकासहित गोरखा आसपासका ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माताका रूपमा पहिचान बनाउन सफल हुनुभयो ।
राज्य विस्तारको तीव्र भोक जागेको राजा शाहलाई एकपछि अर्को सफलता हात लागिरहेको थियो । गोरखा आसपास रहेका सेन राज्य, (हालका मकवानपुरगढी, सिन्धुलीगढी), सिम्रौनगढ राज्य विस्तारपछि उहाँले नुवाकोटलाई गोरखा राज्यमा गाभ्न सफल हुनुभयो । कीर्तिपुरमा तेस्रो पटकको आक्रमणपछि गोरखाली सेना विसं १८२२ चैत ३ गते गोरखा राज्यको झन्डा फहराउन सफल भयो । कीर्तिपुरको हार र गोरखाली सेनाको निरन्तर विजयी यात्राले आत्तिएका कान्तिपुर, ललितपुर र भक्तपुरका राजाले गोप्य बैठक गरे । उनीहरूले गोरखाली सेनाविरुद्ध एकजुट भएर प्रतिकार गर्ने वाचाबन्धन गरे । आपसमै लडिरहेका नेपाल उपत्यकाका राजाहरूबिच भएको सहमतिप्रति विश्वस्त हुन नसकेका कान्तिपुरका राजा जयप्रकाश मल्लले भारतमा राज्य विस्तारमा उधुम मच्चाइरहेको इस्ट इन्डिया कम्पनीसँग सैनिक सहयोगका लागि याचना गर्नुभयो ।
नेपाल राज्य (कान्तिपुर, पाटन र भादगाउँ) लाई गोरखाली सेनाको हस्तक्षेपबाट जोगाउन सके नेपालको पूर्वी क्षेत्रमा रहेको चौदण्डी राज्यसँग सल्लाको खोटोको व्यापारका साथै तिब्बत र चीनसँग व्यापार सम्बन्ध विस्तार गरी लाभ लिने सपनासहित इस्ट इन्डिया कम्पनी सहयोग गर्न तयार भयो । कान्तिपुरका राजा जयप्रकाश मल्लको आग्रह स्विकार्दै भारतमा इस्ट इन्डिया कम्पनीको नेतृत्वमा राज्य विस्तारमा चतुर एवं सफल सेना कमान्डर क्याप्टेन जर्ज किनलकको नेतृत्वमा दुई हजार चार सय अङ्ग्रेज सेनाको फौज नेपाल पठाइयो । कलकत्ता, विहार, पटना, दरभङ्गा धनुषा हुँदै नेपाल पसेका अङ्ग्रेज सेनालाई तोपबारुदसहित काठमाडौँ पुग्न सजिलो थिएन । बर्खे भेलसँगै नयाँ भूगोलमा सिन्धुलीमाढी आइपुग्दा अङ्ग्रेज सेनाको मस्ती गलिसकेको थियो । खुँजको दबदबे हिलोमा तोप जँघार तार्दै बाटो पार गर्न हम्मे हम्मे परिरहेको थियो । यता औलो ज्वरोले अङ्ग्रेजहरू धमाधम बिरामी परिरहेका थिए । उता क्याप्टेन किनलन गन्तव्यमा नपुगी फर्किने सुरमा थिएनन् ।
ढुङ्ग्रेबासदेखि नै गोरखाली सेना घरेलु हातहतियारसहित अङ्ग्रेजमाथि आक्रमणमा उत्रिए । चियाबारीबाट सिर्वानीको उकालो हुँदै आउने बैरीमाथि ढुङ्ग्रेभन्ज्याङमा तैनाथ गोरखाली फौजले ढुङ्गा बर्सायो । यता पौवागढीमा रहेको फौजले धनमना खोला हुँदै उकालो लागेको फौजमाथि आक्रमण ग¥यो । पहाडको माथिबाट आएका ठुलठुला ढुङ्गा, सिस्नो र अल्लोको पीडा, अरिङ्गालको टोकाइले कैयौँ अङ्ग्रेज सेनाको हताहती भयो । सोलाभन्ज्याङ (पौवागढीभन्दा पूर्व पाँच सय मिटर तल, हाल सिमेन्टले बनेको सिन्धुलीगढी प्रवेशद्वार) बाट लुकेर अङ्ग्रेज फौज अगाडि नबढून् भनेर सोला (पासो) थापिएको थियो ।
यसरी हायलकायल भएर विसं १८२४ असोज १५ गते आठ सय सेना लिएर क्याप्टेन जर्ज किन लक फिर्ता भए । विसं १८२४ असोज १५ गतेलाई गोरखाली फौजले सिन्धुलीगढी युद्ध विजय गरेको मानिन्छ । विजयोत्सवको औपचारिक कार्यक्रम भने कात्तिक २४ लाई आधार बनाएर मनाउने गरिएको छ । सिन्धुलीगढीमा गोरखाली फौजले अङ्ग्रेज फौजलाई हराएर विसं १८२४ असोज १५ गते युद्ध जितेको इतिहासविद् डा. दिनेशराज पन्तले उल्लेख गर्नुभएको छ । गोरखाली फौजले त्यसको एक वर्षपछि विसं १८२५ असोज १३ गते कान्तिपुरमाथि विजय प्राप्त ग¥यो । सोही वर्ष असोज २५ गते पाटन र विसं १८२६ कात्तिक २९ गते गोरखाली सेनाले भक्तपुरमाथि पनि विजय प्राप्त ग¥यो ।
सिन्धुलीगढीमा गोरखाली सेना र अङ्ग्रेज सेनाबिच भएको लडाइँको इतिहाससँगै यसआसपासका बस्ती चपौली, मजुवा, बाटोनिगाले, कँडुले, विजयछाप, खनियाखर्क, खानीगाउँ, ढुङ्ग्रेभन्ज्याङ, बोहोरे आदिसँग स्थानीय बासिन्दाको जीवन सभ्यता जोडिएको छ । विसं २०१९ सम्म सिन्धुली जिल्लाको प्रशासनिक केन्द्र सिन्धुलीगढी रहेको थियो । जेलघर, अदालत, हाइस्कुल, पानी सङ्कलन स्थल, ढुङ्गेधारोलगायतका भग्नावशेष अझै त्यहाँ देख्न सकिन्छ । गढीको उत्तरपूर्वमा रानीदरबार पुनर्निर्माण गरिएको छ । हाल राजमार्गभन्दा करिब एक सय मिटरमाथि पौवागढीमा राजस्व सङ्कलन स्थल रहेको स्थानीय जानकारहरू बताउँछन् । यहाँ सिन्धुलीगढी आसपासका बासिन्दा आफूले उत्पादन गरेको कृषिजन्य वस्तु बिक्री गरी आफूलाई चाहिने नुन, तेल, मटितेल, लुगाफाटोलगायतका सामग्री किनमेल गर्थे । २०१९ सालपछि भने जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा सरेपछि स्थानीय बासिन्दा बजार भर्न माढीसम्म जानुपर्ने भयो ।
पौवागढीको उत्तरपूर्वमा अधेरी खोलाकिनार हुँदै रामेछाप तथा काठमाडौँ जाने पैदलमार्ग थियो । दक्षिणतर्फ ढुङ्ग्रेभन्ज्याङ हुँदै चियाबारी निस्किने मार्ग रहेको छ । केही समयअघि मात्रै उक्त मार्गलाई ‘किनलक मार्ग’ नामकरण गरिएको छ । उक्त मार्गको नामप्रति स्थानीय बासिन्दाले असहमति जनाउँदै आएका छन् । सिन्धुलीगढीको इतिहासमा स्थानीय बासिन्दाको भूमिका महìवपूर्ण छ । उक्त युद्धमा आसपासका गाउँबाट अन्नपानी, राँगा, बोका तथा गाउँलेले श्रमदान गरी गोरखाली सेनालाई सहयोग गरेका थिए । त्यसैले पनि स्थानीयवासीले उक्त मार्गको नामप्रति असहमति जनाएका हुन् । नेपालीको गौरवपूर्ण इतिहासलाई ध्यानमा राख्दै ‘किनलक मार्ग’ नाम फेरेर इतिहासलाई सम्मान हुने गरी नामकरण गरियो भने सम्पूर्ण नेपालीलाई थप गर्व गर्नलायक विषय पक्कै पनि हुने छ ।
सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा सरेपछि गढीको चहलपहल ठप्प भयो । मजुवा, चपौली, कुडुले, बाटोनिगालेलगायतका गाउँ जान भने सिन्धुलीगढी हुँदै जानु पथ्र्याे । २०५२ सालमा तत्कालीन माओवादीले गरेको चौकी आक्रमणपछि पनि गढीमा प्रहरीचौकी तैनाथ थियो । सङ्कटकालपछि भने गढीको प्रहरीचौकी सिन्धुलीमाढी सारिएको थियो । स्थानीय बुढापाका आफ्नो युवा अवस्थामा हिउँदका दिनमा साथीहरूसँग सिन्धुलीगढीवरपर घाँस काट्ने गरेको बताउँछन् । पौवागढीबाट घाँसको भारी लिएर आउजाउ गर्दा त्यहाँ खटिएका प्रहरीले गाली गर्ने भएकाले सोलाभन्ज्याङबाट घर आउने गरेको र त्यतिखेर सोलाभन्ज्याङमा घाँसी हिँड्ने बाटो रहेको उनीहरू स्मरण गर्छन् ।
सिन्धुलीगढीमा रहेको टुँडिखेलमा हरितालिका तिजमा प्रत्येक वर्ष भव्य नाचगान तथा मेला लाग्ने गथ्र्यो । गढीको पूर्वतर्फ भग्नावशेष र जेलघरबाट दुई सय मिटरअगाडि काभ्राको फेदमा सिद्धथान मन्दिर आज पनि यथावत् छ । उक्त मन्दिरमा तिज व्रतका दिन महिला दिदीबहिनीले पूजा गर्ने प्रचलन छ । सिन्धुलीगढीमा फागुन, चैतमा गुराँस फुलेर वन नै ढकमक्क भएको हुन्छ । त्यस्तै वैशाख, जेठमा टुँडिखेल आसपास काफल पाकेको हुन्छ । सिन्धुलीगढी र यस आसपासमा रहेका गाउँलेको सभ्यता यी स्थानसँग जोडिएको छ ।
अहिले सिन्धुलीगढी संरक्षणका नाममा गढी क्षेत्रमा तारबार गरेर युद्ध सङ्ग्रहालय सञ्चालन गरिएको छ । इतिहासलाई संरक्षण तथा जगेर्ना गर्नु राम्रो हो । यसले नेपालीको गौरवपूर्ण इतिहासलाई पुस्तान्तरण गर्छ । आन्तरिक तथा बाह्य पर्यटनको विकास गर्छ । सिन्धुलीगढी क्षेत्र प्रवेश गर्न शुल्क व्यवस्था गरिनु असान्दर्भिक हुन्छ । युद्ध सङ्ग्रहालय प्रवेशमा शुल्क तोक्नु फरक विषय हो । सिन्धुलीगढी देशको इतिहास हो । करोडौँ नेपालीको साझा सम्पत्ति भएका कारण कुनै पनि सर्त राखेर नागरिकलाई अवलोकन गर्नबाट वञ्चित गरिनु हँदैन । इतिहास संरक्षण गर्ने नाममा सिन्धुलीगढी क्षेत्रलाई नै नियन्त्रणमा लिएर अनावश्यक भौतिक संरचना निर्माण गर्नु पक्कै पनि राम्रो हैन । यसले स्थानीयवासीको अधिकार कुण्ठित गर्छ । ऐतिहासिक गढी किल्लाहरूलाई कुरूपतातिर धकेल्छ ।
सिन्धुलीगढी क्षेत्र पुनर्निर्माणपछि बनेका महत्वपूर्ण संरचनालाई स्थानीयवासीकै सहभागितामा सञ्चालन गर्नु पर्छ । रानीदरबार पुनर्निर्माण भएको कैयौँ महिना भयो तर व्यवस्थापन कसले गर्ने भन्ने अन्योल हुँदा दिनप्रतिदिन भौतिक सम्पत्तिको क्षति हुने सम्भावना उत्तिकै छ । यता पुनर्निर्माण भइसकेको दरबार हेरचाहको जिम्मा कसैले नपाउँदा दरबार पुनः पुरानै अवस्थामा पुग्ने त हैन भन्ने आशङ्का पनि व्याप्त छ । सिन्धुलीगढीको गौरवशाली इतिहास, यहाँको पर्यावरणीय महìव (महाभारत शृङ्खला) र स्थानीयवासीको सभ्यतालाई समेत ध्यान दिँदै गढीको विकास तथा योजनामा स्थानीयवासीको भावना र सहभागितालाई पनि ख्याल गर्दै अगाडि बढ्नु पर्छ ।