• ३ असार २०८१, सोमबार

वामपन्थ र साम्यवादबीचको पृथकता

blog

वामपन्थ र साम्यवाद भिन्न भिन्न दुई सिद्धान्त हुन् । कतिपय सन्दर्भमा यी दुवैलाई समान अर्थमा लिने गरेको पाइन्छ । कम्युनिस्टलाई वामपन्थी र लोकतान्त्रिकलाई दक्षिणपन्थीका रूपमा लिइन्छ । आखिर के हो त वामपन्थी राजनीति ? यसको प्रयोग फ्रान्सको राज्य क्रान्तिको समयमा अर्थात् सन् १७८९ देखि १७९९ सम्मको अवधिमा भएको थियो । त्यस समयमा राजावादी र यथास्थितिवादी सोच राख्ने एक पक्ष, क्रान्तिकारी अथवा आमूल परिवर्तनको सोचका साथ अघि बढ्ने, अर्को पक्षसमेत गरी दुईवटा राजनीतिक शक्ति विद्यमान थिए । यसै विषयमा छलफल गर्न इस्टर्न जनरल (फ्रेन्च संसद्) बैठक बोलाइएको थियो ।

त्यस सदनमा यथास्थितिवादी दायाँतर्फको स्थानमा र राजतन्त्रको विरोध गर्ने, क्रान्तिकारी, गणतन्त्रवादी र धर्म निरपेक्षताका पक्षमा बहस गर्नेहरू सबैलाई बायाँतर्फको स्थानमा राखिएको थियो । त्यही आधारमा दायाँतर्फ र बायाँतर्फ रहनेहरू क्रमशः दक्षिणपन्थी र वामपन्थीका नामले सम्बोधित हुन थाले । विश्व राजनीतिमा प्रायः दक्षिणपन्थी राजनीतिकै बाहुल्य थियो, अहिले पनि त्यही अवस्था छ । 

दक्षिणपन्थी राजनीतिले सञ्चालन गरेका प्रणालीबाट उपेक्षित भएका, नसमेटिएका, असन्तुष्ट रहेका, पछि परेका/पारिएकाको पक्षमा वकालत गर्दै यस्ता असन्तुष्ट समूहलाई समेटी  वामपन्थवाद अघि बढ्छ । वामपन्थी धार्मिक र राजनीतिक हिसाबले यथास्थितिवादी सोचबाट अघि बढ्दै सुधारका पक्षमा लाग्छन् । अन्यायमा परेका कमजोर वर्गको सहानुभूति र सहयोगबाट अस्तित्वमा रहन्छन् । राजनीतिक र आर्थिक प्रणालीको मुख्य पक्षमाथि राज्यको नियन्त्रण रहन्छ । मजदुरी गरी जीविकोपार्जन गर्ने श्रमजीवीका पक्षमा प्रतिबद्ध रहन्छन् । 

केन्द्रीय वामपन्थी धार यसको सबैभन्दा प्रारम्भिक रूप हो । यसमा लोकतन्त्रको विशेषता पाइन्छ । यसको अर्को तह भनेको उदारवादी धार हो । उदारवादको विकास हुँदै जाँदा समाजवादमा पुगिन्छ । समाजवाद हुँदै साम्यवाद र साम्यवादको विकसित रूपमा तानाशाहीतन्त्र वामपन्थवादको अन्तिम बिन्दुमा पुगिन्छ । वामपन्थी धारको प्रारम्भिक यात्रा केन्द्रीकृत वामपन्थवाद हो भने विषम बिन्दुका रूपमा कम्युनिस्ट हुँदै तानाशाहीतन्त्र, सर्वसत्तावाद, एकदलीयतन्त्र सबै विशेषता समेटी अघि बढ्छ । समाजमा पूर्ण समानता कायम गर्छ । प्रत्येक धर्मलाई स्वतन्त्रता प्रदान गरी समान व्यवहार गरिन्छ । संरक्षणवादले महŒव पाउँछ । स्वदेशी उत्पादनले प्रोत्साहन पाउने हुँदा स्वतन्त्र व्यापार, भूमण्डलीकरण र आर्थिक उदारीकरणका विपक्षमा प्रस्तुत हुने रणनीति अवलम्बन गर्छ ।

आर्थिक प्रणालीमा सरकारी हस्तक्षेप अत्यधिक हुन्छ । केन्द्रबाटै आपूर्तिमुखी योजना तयार पारी कार्यान्वयनमा लगिन्छ । आप्रवासीप्रति नकारात्मक सोच राखी उनीहरूको आगमनलाई निषेध गर्छ । यस प्रकार सुधार प्रक्रियामा तल्लीन रहने राजनीतिक धार नै वामपन्थ हो । शीघ्र प्रगतिको मार्गमा छलाङ मार्ने सोचाइबाट निर्देशित हुन्छन् ।

त्यसैले राजनीतिक दलले तैनाथ गरेका नीति, योजना तथा कार्यक्रमबाट दक्षिणपन्थी विस्तारै वामपन्थी बन्दै गएको अवस्था छ । त्यसैले त वामपन्थीलाई सुधारवादी दलका हिसाबले परिभाषित गरिन्छ । उदाहरणका लागि बृहत् लोकतान्त्रिक अभ्यास गरिआएका देशमध्ये भारतमा भारतीय राष्ट्रिय काँग्रेसलाई केन्द्रीकृत वामपन्थी, आम आदमी पार्टी मध्यमस्तरको वामपन्थी, कम्युनिस्ट पार्टी अफ इण्डिया र कम्युनिस्ट पार्टी अफ इण्डिया मार्किस्टलाई वामपन्थी राजनीतिको विषम बिन्दुको रूपमा यी दलहरूका नीति, कार्यक्रम र घोषणापत्रका हिसाबले ग्रहण गर्नुपर्ने हुन्छ । 

विभिन्न कालखण्डमा सुधारका योजनासहित प्रस्तुत भएकी हिलारी क्लिन्टन जो अमेरिकाको प्रजातान्त्रिक दलमा रहेकी छन्, संयुक्त अधिराज्य बेलायतका प्रतिपक्ष दलका नेता रहेका जेरामी कर्विन जसले लेबर पार्टीबाट प्रतिनिधित्व गर्छन् र संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीसम्बन्धी नीति तय गरेका हिसाबले यी सबैलाई वामपन्थउन्मुख राजनीतिको कोटीमा राख्न सकिन्छ । तसर्थ वामपन्थी सुधारवादी एजेन्डाका साथ अघि बढ्ने राजनीतिक प्रणाली हो, साम्यवाद होइन ।

साम्यवाद भिन्न राजनीतिक प्रणाली हो, यसमा लोकतन्त्रको गुञ्जायस निरपेक्ष रूपमा रहँदैन । साम्यवादका बारेमा विश्लेषण गर्दा माक्र्स, लेनिन, स्टालिन र माओत्सेतुङ्लाई स्मरण गर्नुपर्ने हुन्छ । श्रमिक र पुँजीवादी दुई वर्गबीचको सङ्घर्षको उपजको रूपमा लिइन्छ साम्यवादलाई छ । पुँजीपतिले विशाल संरचना र सञ्जाल तयार पारी श्रमिकको शोषण गर्छन् ।

माक्र्सले साम्यवादलाई वैज्ञानिक समाजवाद भनेका छन् । अतिरिक्त मूल्यको सिद्धान्तको प्रयोग पुँजीपतिबाट हुने, जसमा श्रमिकको शोषण गरी मार्जिन रकम सबै पुँजीपतिले लिन्छन् । पुँजी, प्रविधि र जमिनमाथि पुँजीपतिकै आधिपत्य हुन्छ । यसैका आधारमा श्रमिकमाथि शोषण हुन्छ । त्यसैले अतिरिक्त मूल्यको सिद्धान्तलाई माक्र्सले लुट भनेका छन् । व्यक्तिगत पुँजीको स्थान जब सामुदायिक वा सामूहिक पुँजीले लिन्छ, त्यसलाई समाजवाद भनिन्छ । वर्तमान अवस्थासम्म आइपुग्दा देखिएको समाजको इतिहास भनेकै वर्ग सङ्घर्षको हो । श्रमजीवीको पुँजीपतिविरुद्धको सङ्घर्ष भूमिगत रूपमा वा प्रकट रूपमा निरन्तर चली नै रहन्छ । जसको परिणाम श्रमजीवी 

वर्गको सर्वनाश वा क्रान्तिकारी परिवर्तन सम्भव हुन्छ । विकसित प्रविधिको प्रयोगबाट श्रमिक शोषण अन्त्य गर्न नयाँ प्रकृतिको सङ्घर्ष पुनः सुरु हुन्छ । अन्त्यमा मजदुर वर्गको विजय हुन्छ । मजदुरकै शासन चल्छ । यस्तो शासनमा केन्द्रीय सरकार वा एक व्यक्तिको पूर्ण अधिकार स्थापित हुन्छ, सरकारी नियन्त्रण कायम हुन्छ । आयको समान वितरण गरिन्छ, धनी र गरिब हुँदैनन्, सबैले काम गर्नुपर्छ । सबैले समान परिश्रमको मूल्य समान पाउँछन् । 

विश्वभर प्रयोगमा रहेको साम्यवादी शासन यही आधारमा अघि बढेको छ । माओत्सेतुङ्गको साम्यवाद पृथक् खालको छ । उनले पेसाका आधारमा विभेद नगरी सबै कमजोर र उपेक्षितको शासनलाई साम्यवाद भनेका थिए । माओले किसानलाई समेटेका थिए र माक्र्सवाद र लेनिनवादलाई मिति पुगेको औषधि भनेका थिए । सबै प्रकारको साम्यवादमा एकदलीय शासन हुन्छ । सर्वसत्तावाद हावी हुन्छ । लोकतन्त्र र साम्यवादविपरीत सिद्धान्त हुन् । त्यसैले व्यक्तिगत स्वतन्त्रताको कल्पना साम्यवादमा गरिँदैन ।

साम्यवाद भनेको लोकतन्त्र, समाजवाद, वामपन्थ केही होइन, फगत सर्वसत्तावाद र तानाशाहीतन्त्र हो । साम्यवादमा लोकतन्त्रको कल्पना गर्नुसम्म पनि हास्यास्पद हुन्छ । माक्र्स र लेनिनले तयार पारेको सिद्धान्तकै आधारमा स्टालिनले देशमा रहेका पत्रकार, बुद्धिजीवी, पुँजीपतिको ठूलो सङ्ख्यामा हत्या गरी बर्बरतापूर्ण शासन चलाएकै हुन् । कम्युनिस्टको नाममा माओले चीनमा जनगणतन्त्र ल्याउने क्रममा गरेको आन्दोलनमा एउटा प्रान्तमा मात्र १० लाख मानिसको हत्या गरेका थिए । हत्या, हिंसा र आतङ्क नै कम्युनिस्टको मौलिक गुण हो । जसको सामान्य उपस्थितिमा पनि लोकतन्त्रको विकास हुनै सक्दैन । समाजवाद परिस्कृत लोकतन्त्र हो, जसबाट सामाजिक न्यायप्रधान शोषणरहित समाज निर्माणको दिशामा अग्रसर होइन्छ । 

साम्यवाद समाजवादको विकृतिपूर्ण अवस्थाको पराकाष्ठा हो । जहाँसम्म वामपन्थी र साम्यवादी सिद्धान्तको कुरा छ, यी दुवैको व्याख्या भइसकेको छ । वामपन्थीको सीधा उद्देश्य समाजमा सुधार गर्नु हो, शासकीय कमीकमजोरी सच्याउनु हो । त्यसैले वामपन्थी राजनीतिको अभ्यास लोकतन्त्रमा राम्ररी गर्न सकिन्छ । लोकतन्त्रमा समाजवाद र वामपन्थी विचारधाराले प्रोत्साहन पाउँछ, तर साम्यवादमा लोकतन्त्र, वामपन्थ र समाजवाद स्वीकार्य हुनै सक्दैन । आधुनिक विश्वमा निरपेक्ष साम्यवाद उत्तर कोरियामा देख्न सकिन्छ । 

अब नेपालको सन्दर्भमा विश्लेषण गरौँ । हालसम्म नेपालमा थुप्रै साम्यवादी दल अस्तित्वमा आई फुट्दै गएका छन् । पुष्पलालले स्थापना गरेको कम्युनिस्ट पार्टी, मोहनचन्द्र अधिकारीले नेतृत्व गरेको झापा आन्दोलनबाट सिर्जित माले र यिनै दलहरूबाट विभिन्न समयमा टुक्रिँदै साना साना कम्युनिस्ट पार्टीमध्येको संयुक्त जनमोर्चाले दस वर्षसम्म माओवादका नाममा भूमिगत गुरिल्ला युद्ध गर्दै १७ हजार नेपालीको हत्या हुने परिस्थिति निर्माण गरी शान्तिपूर्ण राजनीतिको मूल प्रवाहमा आएको नेकपा माओवादीलगायत यी सबै नेपालका कम्युनिस्ट पार्टी हुन् । यी सबै दलमा केही समानता पाइएका छन् । यी सबैको उजागर प्रायः हत्याहिंसाबाटै भएको छ । सबैले स्वार्थलोलुप झुण्डका रूपमा परिचय बनाएका छन् । फुटपरस्त राजनीति नै यिनीहरूको पहिचान बनेको छ । २०४६ सालसम्म आइपुग्दा माले प्रमुख कम्युनिस्ट राजनीतिक पार्टी थियो भने २०६३ सालमा आइपुग्दा माओवादीले राष्ट्रव्यापी सङ्गठन खडा गरी राष्ट्रिय पार्टीका रूपमा अग्रस्थानमा उभ्याउन सफल भयो ।

मालेबाट एमालेमा रूपान्तरित कम्युनिस्ट र माओवादीका बीच अस्वस्थ प्रतिस्पर्धा गर्दै गएका दल जुन सिद्धान्तका हिसाबले पृथक् थिए, एक्कासि २०७४ सालको निर्वाचनमा गठबन्धन गरी निर्वाचनमा सहभागी भई उल्लेख्य स्थानमा विजय हासिल गरेका थिए । यो गठबन्धन नेकपा दलमा एकता कायम गरेर सत्तामा थियो । यो गठबन्धन टुक्रिएको छ र करिब दुईतिहाइको आरामदायी बहुमतका तत्कालीन प्रधानमन्त्री ओली अल्पमतको कमजोर प्रधानमन्त्रीका रूपमा स्थापित भए । उनकै आडम्बर र गठबन्धनका नेतामा देखिएको चरम सत्ता लिप्साका कारण साम्यवादी दल भनेका अवसरवादी र फुटपरस्त हुन भन्ने सन्देश प्रवाह गरिराखेका छन् । आफूलाई साम्यवादी, वामपन्थी, समाजवादी, लोकतन्त्रवादी, राष्ट्रवादी सबै भएको दाबी गरिराखेका छन् । यी कम्युनिस्ट दल पूर्णरूपमा साम्यवादी शासन लागू गर्ने अभीष्टका साथ आन्दोलित भई समाजलाई आतङ्कित बनाई सत्तामा पुगेका हुन् । यसको प्रमाण भनेको नेपालको राजनीतिक इतिहास हो । 

नेपालका वामघटक विशेषगरी एमाले अध्यक्ष केपी ओलीले एमालेभित्र साम्यवाद, समाजवाद, वामपन्थ र लोकतन्त्र सुदृढ गरिने प्रतिबद्धता पटक पटक जनाएका छन् । यसबाट बुझ्नुपर्ने हो, साम्यवाद, समाजवाद, लोकतन्त्र र वामपन्थ जनतामा भ्रम सिर्जना गर्ने नारा मात्र हुन्, यसको आकर्षण र ब्रान्ड भनेको साम्यवाद नै हो । यसैगरी वामपन्थवादमा समाजवाद र लोकतन्त्रको गुञ्जायस रहन्छ, त्यसैले ओलीलगायत नेपालका  कम्युनिस्टको लोकतन्त्रप्रति थोरै लगाव हो भने वामपन्थी राजनीति मात्र गर्नुपर्छ । अन्यथा यी तीनवटै वादको रटान परित्याग गरी साम्यवाद, निरङ्कुशवाद, सर्वसत्तावाद र तानाशाहीतन्त्रको राजनीतिमा उन्मुख भएको उद्घोष गरी जनसमक्ष पारदर्शी बन्नुपर्छ । जनतालाई भ्रममा राखी गरिएको राजनीतिले स्थायित्व प्राप्त गर्न सक्दैन । 





Author

श्यामप्रसाद मैनाली