काठमाडौँ, साउन १८ गते । नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण व्यवसायलाई पूर्ण उद्योगको मान्यता दिन सरकारसँग माग गरेको छ ।
बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेट गर्दै महासङ्घले निर्माण व्यवसायलाई पूर्र्ण उद्योगको मान्यता दिन माग गरेको छ ।
महासङ्घ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री भण्डारीसमक्ष नदीजन्य तथा खानीजन्य सामग्रीको उत्खननमा देखिएको समस्या समाधान गर्नुपर्ने, निर्माण सामग्रीमा कार्टेलिङ गरी हुने मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, वास्तविक जिल्ला दररेट तोकिनुपर्नेलगायतका विषयमा पनि ध्यानाकर्षण गराएको छ ।
जवाफमा मन्त्री भण्डारीले समयसापेक्ष ऐन नियम नहुँदा निर्माण उद्योगमा समस्या देखिएको बताउनुभयो । निर्माण व्यवसायीको रकम भुक्तान नभएको विषयलाई गम्भीर रूपमा लिई सरकार समस्या समाधानको बाटोमा लागेको बताउँदै मन्त्री भण्डारीले मौद्रिक नीति पनि निर्माण व्यवसायीमैत्री रूपमा आएको बताउनुभयो । निर्माण व्यवसायीसँग निरन्तर संवादमा रही यस क्षेत्रमा देखिएको समस्या समाधान गरिने प्रतिबद्धता मन्त्री भण्डारीले व्यक्त गर्नुभयो ।
समृद्धिको महत्वपूर्ण पाटो मानिने निर्माण व्यवसायको विकास विस्तारमा सरकार संवेदनशील रहेको भन्दै मन्त्री भण्डारीले नेपालका निर्माण व्यवसायीहरूले विदेशमा समेत गर्व गर्नलायक काम गरेको बताउनुभयो । वर्तमान सरकारको गठनसँग आममानिसमा रहेको निराशा अन्त्य हुँदै गएको दाबी मन्त्री भण्डारीले गर्नुभयो । महासङ्घ प्रतिनिधिमण्डलले मन्त्री भण्डारीको सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गरेको छ ।