• १२ असोज २०८१, शनिबार

रहेनन् सुरसाधक गुरुदेव

blog

काठमाडौँ, साउन १८ गते  । सुरसाधक गुरुदेव कामतको मिर्गौला रोगका कारण बिहीबार बिहान निधन भएको छ । ६९ वर्षीय सुरसाधक कामतले “काठमाडौँमा बसेर इलाज गराउन सक्दिनँ । उतै लहानमा डायलासिस गराउँछु,” भन्दै सामाजिक सञ्जालमा असार २८ गते ‘स्टाटस’ राखेर सिराहा फर्कनुभएको थियो ।

स्थानीय अस्पतालमा मिर्गौला डायलासिस गराउँदै आउनुभएका कामतको बिहान ७:३० बजे निधन भएको हो । स्वर्गीय कामतको बिहीबारै अन्त्येष्टि गरिएको छ । कामतका कान्छा छोरा समीर कामतका अनुसार नियमित डायलासिसका लागि अस्पताल लैजाने तयारीकै क्रममा गुरुदेवको निधन घरमै भएको हो । दुई दिन बिराएर स्थानीय अस्पतालमा कामतको डायलासिस हुँदै आएको थियो । 

नेपाली सङ्गीत क्षेत्रका धेरै जसो साधकले गुरुदेवसँग सङ्गीत सिकेकै हुन्थे । सुर र सङ्गीतलाई ज्यादै प्रेम गर्ने गुरुदेवले आर्थिक अभाव, शारीरिक तथा मानसिक दबाब झेल्दै केही समय बिताउनुभयो । काठमाडौँमा डेराको बसाइ र उपचार महँगो भएपछि गाउँ फर्कने बेलामा गुरुदेवले आफ्नो चेलाचेलीप्रति समर्पित भएर सामाजिक सञ्जालमा लेख्नुभएको थियो, “नमस्ते प्रियजनहरू भोलि गाउँ जाँदै छु । यहाँ अब शारीरिक, मानसिक र आर्थिक एकदमै कमजोर भएर भोलि जाँदै छु । अब किड्नी प्रत्यारोपणका बेला आउँछु । भेट्न चाहने शिष्यलाई ४ बजे बोलाउँछु ।”

लक्ष्मीपुरपतारी गाउँपालिका–२, पोखरभिन्डामा २०१२ साल भदौ १५ गते जन्मिएका कामतले बाल्यकालदेखि नै सङ्गीत सिक्नुभएको थियो । उहाँले काठमाडौँमा गुरुकुल सङ्गीत पाठशाला सञ्चालन गरी हजारौँलाई शास्त्रीय सङ्गीतको ज्ञान बाँड्नुभयो । उहाँले नेपाली, मैथिली, भोजपुरी भाषामा भजन गायन, सङ्गीतसमेत गर्नुभएको छ । उहाँका उठु और मैथिल भेलै भोर, धर्ती मैया हुर्केर हरल छौ, हमर सिन्दुरक धुल उडाक, वित वित पर लक्ष्मण रेखा, कहाँ गैले सुरमा सलहेशलगायत चर्चित गीत छन् । प्रबल जनसेवाश्रीलगायत पदक, सम्मान प्राप्त गर्नुभएका कामतलाई मिथिला रत्न, मधेश रत्नको उपाधिसमेत जनस्तरबाट दिइएको थियो । स्वर्गीय कामतकी श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ ।